वुहानदेखि वासिंटनसम्म

वुहानदेखि वासिंटनसम्म

चिनिया सहर वुहानबाट सन् २०१९ डिसेम्बरमा सुरु भएको कोरोना भाइरस विश्वका लगभग सबै देशमा फैलिसकेको छ। भाइरसले विश्वभर २० करोड १७ लाख ७७ हजार ५१९ संक्रमित भइसकेका छन् भने ४२ लाख ८१ हजार ८७६ ले ज्यान गुमाइसकेका छन्। 

हाल पनि अमेरिका ३ करोड ६३ लाख एक हजार ७४४ जना संक्रमित र ६ लाख ३१ हजार ८७९ कुल मृत्यु सहित कोभिड प्रभावित मुलुकको पहिलो स्थानमा रहेको छ भने भारत र ब्राजिल क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। 

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्वब्यापी महामारीको संज्ञा दिएको भाइरसका कारण चीनमा जनवरी ११, २०२० मा संक्रमितको पहिलो पटक मृत्यु भयो। ६१ वर्षीय ती व्यक्ति वुहान बजारको नियमित ग्राहक थिए। डब्लुएचओको रिपोर्टअनुसार चीनबाहिरका मुलुकहरूमा जापान, दक्षिण कोरिया र थाइल्याण्डमा सुरुमा कोरोना संक्रमण देखिएको थियो। यसको लगत्तै अमेरिकाको वासिङ्टन राज्यमा एक ब्यक्तिमा भाइरसको संक्रमण देखियो। वुहानको भ्रमणबाट फर्किएका ३० वर्षीय ती युवामा लक्षणसहितको संक्रमण देखिएको थियो। 

चीनमा विस्तारै हजारौंको संख्यामा कोरोना संक्रमित थपिएपछि डब्लुएचओले विश्वभर स्वास्थ्य संकटकाल घोषणा गर्‍यो। त्यसैगरी अमेरिकी विभागले पनि चीनको यात्रामा प्रतिवन्ध लगायो। चीन बाहिरको मुलुकमा फेब्रुअरी २, २०२० मा फिलिपिन्सका ४४ वर्षीय एक ब्यक्तिको मृत्यु भयो। त्यतिबेलासम्म ३६० जनाको कोरोनाका कारण मृत्यु भइसकेको थियो। 

फेब्रुअरीमै डब्लुएचओले यस भाइरसलाई कोभिड–१९ नामाकरण गर्‍यो।  फेब्रुअरी १४ तारिखमा फ्रान्समा कोरोना भाइरसका कारण पहिलो मृत्यु भयो।  पेरिसको एक अस्पतालमा ८० वर्षीया ती चिनिया पर्यटकको मृत्यु भएको थियो। चीन बाहिरको देशहरूमा यो चौथो मृत्यु थियो। त्यतिबेलासम्म विश्वमा १५ सयको मृत्यु भइसकेको थियो। जसमध्ये अधिकांश हुवेइ प्रान्तका थिए। 

फैलियो प्रकोप
फेब्रुअरीको अन्तिम साता इटालीमा पहिलोपटक पाँच जनाभन्दा कम संख्यामा देखिएका संक्रमित एक्कासी बढेर १५० पुगेका थिए। मिलनको दक्षिण पुर्वी सहर कोडोग्नोमा संक्रमितको संख्या ह्वात्तै बढेपछि त्यहाँका अधिकारीहरूले १० वटा सहरमा लकडाउन गरेका थिए। इरानमा पनि फेब्रुअरीमै दुई जनामा पहिलो पटक संक्रमण देखियो। यसको एक साता पनि नपुग्दै ६१ जनामा संक्रमण फैलियो  र १२ जनाको मृत्यु भयो। त्यतिबेला चीनभन्दा बाहिर यति धेरै संख्यामा मृत्यु हुने इरानमै पहिलो पटक थियो। 

अमेरिकामा पहिलो मृत्यु, युरोपमा प्रतिबन्ध
फेब्रुअरी २९ तारिखमा अमेरिकी सहर सियाटल नजिकै पहिलो पटक कोरोनाका कारण एक बिरामीको मृत्यु भयो। मार्च १५मा आएर रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)ले अमेरिकामा ५० जनाभन्दा बढीको भेलामा प्रतिवन्ध लगायो।  युरोपेली संघका नेताहरूले विश्वका कुनै पनि देशबाट संघभित्रका २६ वटा राष्ट्रमा कम्तीमा ३० दिनका लागि यात्रामा रोक लगायो। युरोपेली संघमार्फत महामारी विरुद्धको लडाईंमा यो पहिलो सामूहिक प्रयास रहेको थियो। 

भारतमा लकडाउन
कोरोना भाइरसको संक्रमण तीब्र रूपमा फैलिएपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदिले पनि मार्च २४, २०२० मा २१ दिने लकडाउनको घोषणा गरे। यसको अघिल्लो दिन नै भारतमा आन्तरिक उडानमा रोक लगाइसकिएको थियो। देशमा संक्रमितको संख्या ५ सय भएपछि प्रधानमन्त्री मोदीले मेडिकल सामाग्री, आइसोलेसन कक्ष निर्माण, भेन्टिलेटर र मेडिकल जनशक्ति प्रशिक्षणका लागि करिव दुई बिलियन डलर खर्च गर्ने घोषणा गरेका थिए। 

यसको केही समयपछि भारत विश्वमै अत्याधिक संक्रमितको सूचीमा पर्न गयो। दैनिक एक लाखभन्दा बढीमा संक्रमण पुष्टि र हजारौंको संख्यामा मृत्युको खबर बाहिर आयो। सेप्टेम्बरको पहिलो सातामा भारत ब्राजिललाई उछिनेर विश्वको दोस्रो बढी संक्रमित राष्ट्र बन्न पुग्यो। सेप्टेम्बर ६ तारिखका दिन भारतमा संक्रमितको संख्या ४.२ मिलियन थियो। त्यतिबेला ब्राजिलमा ४.१ मिलियन संक्रमित थिए। 

अमेरिका विश्वमै बढी प्रभावित
मार्चको अन्त्यतिर आइपुग्दा अमेरिका विश्वमै सबैभन्दा बढी प्रभावित राष्ट्रको सूचीमा सूचीकृत भयो। त्यतिबेला कम्तीमा ८१, ३२१ जना संक्रमित थिए भने एक हजारभन्दा बढीको मृत्यु भएको थियो। यो चीन, इटाली र अन्य कुनै पनि मुलुकमा भन्दा बढी संख्या थियो। हालसम्म पनि संक्रमित र मृत्युको सूचीमा अमेरिका पहिलो स्थानमै रहेको छ।

प्रभावशाली नेतामा संक्रमण
विश्वका ठूलठूला नेताहरू पनि संक्रमणबाट अछुतो रहन सकेनन्। कोरोना संक्रमणको दस दिनपछि बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई आईसीयूमा लगिएको थियो। त्यसैगरी ब्राजिलका राष्ट्रपति जैयर बोल्सोनारोमा पनि जुलाई ७ तारिखमा कोरोना पोजिटिभ देखिएको थियो। 

त्यतिबेलासम्म ब्राजिलमा ६५ हजारभन्दा बढी ब्राजिली जनताको मृत्यु भइसकेको थियो। कोरोना र मास्कका विषयमा सँधै विवादित रहेका अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नीलाई पनि कोरोना देखियो। पोल्यान्डका राष्ट्रपति एन्ड्रेज डुडा अक्टोबरको अन्तिम साता कोरोना संक्रमित भए। 

बेलायतद्धारा फाइजरलाई मान्यता
कोरोना नियन्त्रणका लागि विश्वमा थुप्रै खोप विकास भए। जसमध्ये बेलायतले डिसेम्बरको पहिलो साता फाइजर खोपलाई मान्यता दियो। आम जनतालाई खोप लगाउने विषयमा अमेरिकालाई उछिन्दै बेलायत पहिलो राष्ट्र बन्न पुग्यो। 

९० वर्षीया मार्गरेट किनन बेलायतमा खोप लगाउने पहिलो ब्यक्ति बनिन्। उनी पछि ८१ वर्षीय विलियम शेक्सपियरले खोप लगाएका थिए। त्यसपछि डिसेम्बरको दोस्रो सातामा अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए)ले आपतकालिन् प्रयोगका लागि फाइजरलाई मान्यता दियो। त्यतिबेला दुई लाख ९० हजारभन्दा बढीको मृत्यु भइसकेको अमेरिकामा फाइजरले पाएको मान्यता एक ऐतिहासिक कोशेढुंगो सावित भयो। एफडीएले यसपछि मोडर्नाको खोपलाई पनि मान्यता दियो। योसँगै मेक्सिको, क्यानडा, साउदी अरेबियालगायतका देशले पनि फाइजरलाई मान्यता दिए। 

सय दिन मास्क लगाउन आग्रह
अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प मास्क नलगाएको र अरुलाई पनि लगाउनु पर्दैन भन्ने विषयमा बेलाबेलामा विवादित हुँदै आए पनि वर्तमान राष्ट्रपति जो बाइडेनले भने आफू राष्ट्रपति बनेको पहिलो दिन नै अमेरिकी जनतालाई सय दिनको लागि मास्क लगाइदिन आग्रह गरे। सीएनएन च्यानललाई अन्र्तवार्ता दिँदै उनले सय दिन अमेरिकी जनताले मास्क लगाइदिए संक्रमण उल्लेख्य मात्रामा घट्ने बताए। 

हटाइयो मास्क मापदण्ड
महामारी पूर्वको अवस्थामा फर्कने क्रममा गत मेमा  अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले दुवै खोप लगाइसकेका ब्यक्तिहरूले घरभित्र र बाहिरका क्रियाकलापमा मास्क लगाउन र सामाजिक दुरी कायम गर्न नपर्ने स्वास्थ्य निर्देशिका लागु गर्‍यो । 

यद्यपि स्वास्थ्य क्षेत्रमा लागेका ब्यक्ति, व्यापारी र यात्रायातको साधनमा भने मास्क लगाउनु पर्ने व्यवस्था गरियो। त्यसैगरी कोरोनाको पहिलो संक्रमण देखिएको चीनले पनि भाइरसलाई हराइसकेपछि बाहिरी क्रियाकलापमा मास्क लगाउनुपर्ने बाध्यतालाई हटायो। अस्पताल र यातायातमा मास्क जरुरी भएपनि खुला हावायुक्त ठाउँमा  मास्क आवश्यक नहुने जनाइयो।

न्यु जियल्याण्डकी प्रधानमन्त्री ज्याकिन्डा आर्डेनले पनि कोरोना महामारीलाई यति उत्कृष्ट तरिकाले सम्हालिन् कि छोटो समयमै न्यु जियल्याण्ड मास्क मुक्त देश बन्न पुग्यो। जुनको दोस्रो साता राजधानी अकल्याण्डमा एक सांगीतिक कार्यक्रम भएको थियो। उक्त कन्सर्टमा करिव ५० हजार मानिस बिना मास्क र बिना सामाजिक दुरी रमाएका थिए। 

इजरायलद्धारा कोभिडमुक्त घोषणा
इजरायलले अप्रिल, २०२१ मा आफू विश्वको पहिलो कोभिड मुक्त मुलुक भएको घोषणा गर्‍यो। ७० प्रतिसत जनताले खोप लगाइसकेका देशमा सरकारले मास्क लगाउनुपर्ने बाध्यकारी नियमलाई पनि हटायो। अप्रिल २४ तारिख यता देशमा कोभिडको कुनै पनि संक्रमित देखिएका छैनन्। जब कि इजरायलमा जनवरीको मध्यतिर संक्रमितको संख्या अत्यधिक बढेको  थियो। इजरायलमा ८ लाख ३९ हजारलाई कोरोना संक्रमण भयो भने यसबाट ६ हजार तीन सय ९२ जनाको मृत्यु भएको छ।  

लकडाउनबिना नियन्त्रण
चीन र भारतसँग सिमानाका जोडिएको देश भुटानले बिना लकडाउन कोभिड नियन्त्रणमा ल्यायो। करिब दुई साताको अवधिमा भुटानले आफ्नो जनसंख्याको ९० प्रतिसत बयस्क नागरिकलाई खोप लगाइसकेको थियो। भुटानमा कुल संक्रमितको संख्या एक हजार ३०९ रहेको छ भने कोरोनाका कारण एकको मृत्यु भएको छ। 

अष्ट्रेलियालीले लगाएनन् खोप
अष्ट्रेलियामा गत फेब्रुअरीमा खोप कार्यक्रम सुरु भयो। ४० माथिका नागरिकका लागि खोप खुला गरिएको छ। तर पनि जुलाईको अन्तिम सातासम्म त्यहाँका तीन प्रतिसत जनसंख्याले मात्र खोप लगाएका थिए। अष्ट्रेलियाली चिकित्सकले धेरै मानिसले एस्ट्राजेनेका खोपको लागि लिइएको ‘एप्वाइन्टमेन्ट’लाई रद्ध गरेका बताएका छन्। 

खोप लगाएपछि रगत जम्ने समस्या देखिन थालेपछि त्यहाँको सरकारले ६० वर्ष माथिकालाई मात्र खोप लगाउन सल्लाह दिएको थियो। ६० वर्ष मुनिकालाई फाइजर खोप लगाउन सल्लाह दिइयो। तर यो खोप सिमित मात्रामा मात्र उपलब्ध थियो। यसरी खोपप्रतिको संकोच अष्ट्रेलियामा महिनौंसम्म एक मुद्धा बन्यो। 

डेल्टा भेरियन्टको बढ्दो त्रास
कोभिडको तेस्रो लहरको रूपमा फैलिएको डेल्टा भेरियन्टले हाल विश्वलाई तर्साइरहेको छ। विशेषगरी दुक्षिणपूर्वी एशियामा डेल्टाको संक्रमण तीव्र फैलिएको छ। जनसंख्याको आधाभन्दा बढीमा खोप लगाइसकेका बेलायत र सिंगापुर जस्ता धनी देशहरूमा पनि डेल्टाको प्रकोप बढेको छ। बेलायतका वैज्ञानिकले विभिन्न सावधानीका बाबजुत पनि डेल्टा भेरियन्ट देशभित्र र विश्वभर छिटो फैलन सक्ने प्रक्षेपण गरे पनि हाल त्यहाँ कोरोना नियन्त्रणका लागि लगाइएका सबै प्रतिवन्ध फुकाइएका छन्।

- एजेन्सीको सहयोगमा 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.