खेलकुदको स्तरमै धक्का
काठमाडौं : कोरोना भाइरसको महामारीले सिंगो मुलुक आक्रान्त छ। कोरोना भाइरसको चपेटामा अन्य क्षेत्रसँगै खेलकुद क्षेत्र पनि नराम्रोसँग प्रभावित बनेको छ। कोरोना भाइरसको महामारी र निषेधाज्ञाले खेलकुदका गतिविधि प्रभावित मात्र भएको छैन, कतिपय खेलाडी र खेलकर्मी निर्दयी कोरोनाको सिकार पनि बन्न पुगेका छन्। कोरोना भाइरसको दोस्रो लहरपछि डेढ दर्जनभन्दा बढी खेलाडी र खेलकर्मीले ज्यान गुमाइसकेका छन्।
कोरोनाको दोस्रो लहर सुरु भएपछि क्योकुसिन कराते प्रशिक्षक रामजीबहादुर वज्राचार्य, बैजनाथ बाबा यादव, फुटबल प्रशिक्षक बिलबहादुर तामाङ, ए डिभिजन क्लब संकटाका कोषाध्यक्ष जुजुकाजी डंगोल, पूर्व भलिबल खेलाडी विनोदकुमार मण्डल, पारा साइक्लिट प्रैमराज लिम्बू, बुद्धिचाल संघका पूर्व कोषाध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, बुद्धिचालकै फिडे मास्टर विजयकुमार थापा मगर, भारोत्तोलन प्रशिक्षक सकिब अहमद हलवाई, बक्सिङका रेफ्रीजर्ज हरिबहादुर थापा, बुद्धिचाल संघका पूर्व अध्यक्ष राजेशहरि जोशी, तेक्वान्दो खेलाडी रामबरुण हलवाई र नेप्लिज तेक्वान्दो एकेडेमीका उपाध्यक्ष दिनेश दाहालले ज्यान गुमाएका छन्। उनीहरू सबैको कोरोनाका कारण निधन भएको हो।
कोरोना कहरमै ओलम्पिक सहभागिता
घरेलु प्रतियोगिता प्रभावित
कोरोना संक्रमणका कारण देशभित्र तय भएका थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरू प्रभावित बने। कोरोनाकै कारण गत वर्ष नै तय भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता प्रभावित भयो। गत फागुनमै आयोजना हुनुपर्ने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अनिश्चित बनेको छ। यस बाहेक जिल्ला, प्रदेश, राष्ट्रियसँगै नेपालमा तय भएका विभिन्न प्रतियोगिताहरू पनि आयोजना हुन सकेनन्।
अन्तर्राष्ट्रिय सहभागितामा कमी
कोरोनाकै कारण टोकियो ओलम्पिक छनोटका खेलमा नेपालले सहभागिता जनाउन सकेन्। तेक्वान्दो, जुडो, आर्चरीलगायतका खेलको छनोटमा नेपाली खेलाडीले सहभागिता जनाउन पाएनन्। छनोट चरणमा सहभागी हुन नसकेपछि तीन खेलाडीले अनिवार्य कोटा र दुई खेलाडीले वाइल्ड कार्डमार्फत टोकियो ओलम्पिकमा सहभागिता जनाएका थिए। तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठ कोरोनाका कारण ओलम्पिक छनोट नै खेल्न नपाउँदा खेलाडीहरू निरास भएको बताउँछन्। ‘ओलम्पिक छनोटका लागि हाम्रो खेलाडीले निकै राम्रो तयारी गरेका थिए। तर, कोरोना महामारीका कारण छनोटमा सहभागी हुन सकेनन्’, उनी भन्छन्, ‘यसले खेलाडीमा निरासा छाएको छ।’
कोरोना संकटमै नेपालको राष्ट्रिय फुटबल टोलीले फिफा विश्वकपअन्तर्गत एसियाली छनोट र सन् २०२३ को एसिया कपअन्तर्गत दोस्रो चरणको छनोटमा सहभागिता जनाएको थियो। कोरोनाका कारण नेपालमा हुनुपर्ने खेलहरू कुवेतमा आयोजना गरिएको थियो। त्यसअघि नेपालले इराकसँग मैत्रीपूर्ण खेल खेलेको थियो। चाइनिज ताइपेईलाई पराजित गरेको नेपालले इराकसँगको मैत्रीपूर्ण खेलसँगै जोर्डन र अस्ट्रेलियासँग पराजय बेहोरेको थियो। यसैगरी फिलिपिन्समा आयोजना हुने एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपका लागि लामो समय तयारी गरे पनि नेपालले सहभागिता जनाउन पाएन। एसियन भलिबल कन्फेडेरेसनले कोरोनाको कारण देखाउँदै नेपाललाई अन्तिम समयमा सहभागिता जनाउनबाट रोकेको थियो।
खेलाडीमा फिटनेसको समस्या
खेलकुद प्रतियोगिता र प्रशिक्षण नहुँदा खेलाडीहरू लामो समयसम्म घरभित्रै सीमित भए। जसका कारण उनीहरूको फिटनेससँगै समग्र खेलस्तर नै खस्किने खतरा पनि बढेको छ। विदेशका खेलाडीले घरभित्रै बसेर विभिन्न प्रविधिमार्फत फिटनेसमा आधारित ब्यायामलाई ध्यान दिए पनि हाम्रा खेलाडीले भने यी सबै कुराबाट टाढा छन्। केही खेलाडीले घरमै सामान्य शारीरिक कसरत गरे पनि अधिकांश खेलाडीले भने न फिटनेसमा ध्यान दिन सकेका छन्, न त खेलस्तरका बारेमा नै चिन्तित देखिएका छन्। खेलकुद वैज्ञानिक दिवाकरलाल अमात्य खेलाडीले दुई हप्ता मात्र प्रशिक्षण नगरेमा उनीहरूको ‘इन्डुरेन्स क्यापासिटी’मा २० प्रतिशतले ह्रास आउने भएकाले खेलाडीले सामान्य प्रशिक्षण भने गरिराख्नु पर्ने बताउँछन्। ‘लामो समय नखेल्दा खेलाडीको पर्फमेन्समा नकारात्मक समस्या आउन सक्छ’, उनी भन्छन्, त्यसैले राष्ट्रिय खेलकुद परिषद्ले नयाँ तरिकाले कसरी प्रशिक्षण गर्ने भन्ने कुरा सोच्न आवश्यक भइसकेको छ।’
भलिबल प्रशिक्षक जगदीश भट्ट आफू फिट हुनुपर्छ र प्रशिक्षण गर्नुपर्छ भन्ने भावना खेलाडीमा विस्तारै हराउँदै गएको बताउँछन्। ‘खेलाडीमा आफू फिट हुनुपर्छ भन्ने भावना हराउँदै गएको छ’, उनी भन्छन्, ‘सिभिलका खेलाडीले त बेवास्ता गरेकै छन्। विभागीय टोलीका खेलाडीमा पनि हाकिमको आदेश मात्रै मान्ने प्रवृत्तिका कारण ट्रेनिङ हुन सकेको छैन। यसले खेलाडीलाई मात्र होइन, समग्र खेलकुदलाई नै दीर्घकालिन असर पुर्याउँछ।’
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष एवं कराते प्रशिक्षक दीपक श्रेष्ठ विदेशी खेलाडीले अवलम्वन गरेका ट्रेन्डलाई हामीले पनि जतिसक्दो चाँडो अवलम्वन गर्नुपर्नेमा जोड दिन्छन्। ‘जस्तोसुकै महामारीमा पनि विदेशी खेलाडीको पर्फमेन्स खस्किएको हुँदैन। उनीहरूको खेल स्तर बढेको बढ्यै हुन्छ’, श्रेष्ठ भन्छन्, ‘हाम्रो स्तर चाहिँ खस्किने हुनुहुँदैन। हाम्रा खेलाडीले पनि उनीहरूसँग प्रतिस्पर्धा गर्न सक्ने हुनुपर्छ।
प्रशिक्षण प्रभावित
कोरोना भाइरसको महामारी र लामो लकडाउनका कारण खेलाडीहरूको प्रशिक्षण निकै प्रभावित भयो। उनीहरूले आफूलाई फिट राख्न घरमा केही समय प्रशिक्षण गरे पनि त्यो पर्याप्त बन्न सकेन। लामो समयसम्म घरभित्रै सीमित हुँदा तत्कालका लागि मात्र नभई खेलाडीको खेल जीवनमा पनि दीर्घकालीन असर पर्ने देखिएको छ। लामो समयसम्म प्रशिक्षणबाट टाढा रहँदा उनीहरूको प्रदर्शन खस्किने मात्र होइन, खेल क्षेत्रबाट पलायन हुने अवस्था पनि आउन सक्ने देखिएको छ।
कराते प्रशिक्षक दीपक श्रेष्ठ अहिलेको अवस्था लम्बिँदै जाने हो भने सबैभन्दा ठूलो असर खेलाडीलाई पर्ने बताउँछन्। ‘खेलाडीहरूले एउटा निश्चित उमेर वा प्रतियोगितासम्म खेल्ने र त्यसपछि सन्न्यास लिने सोचेका हुन्छन्। अहिलेको परिस्थितिले सबैभन्दा बढी मार त्यस्ता खेलाडीलाई परेको छ। आफ्नो बढ्दो उमेरका कारण उनीहरूले विभिन्न प्रतियोगिता खेल्ने अवसर गुमाउँछन्’, श्रेष्ठ भन्छन्, ‘उमेरसमूहका खेलाडी पनि प्रत्यक्ष मारमा पर्छन् भने अरु खेलाडीमा पनि फिटनेससँगै खेलस्तर नै खस्किने खतरा बढ्न सक्छ।’
प्रशिक्षक श्रेष्ठ लामो समयसम्म खेलकुदका गतिविधि ठप्प हुँदा खेलाडी पलायन हुने अवस्था आउने पनि बताउँछन्। ‘लामो समयसम्म खेलकुदका गतिविधि ठप्प हुँदा पुरानै फर्ममा फर्किन सकिँदैन कि भन्ने चिन्ताले खेलाडीलाई सताएको हुन्छ’, प्रशिक्षक श्रेष्ठ भन्छन्, ‘खेलकुद नै नभएपछि किन यसमा लागिरहने भनेर उनीहरू अरु क्षेत्रमा जाने अवस्था आउँछ। वषौंदेखि ठूलो लगानी गरेका खेलाडी खेलकुदलाई छाडेर अन्यत्रै लाग्नु खेलकुदका लागि ठूलो घाटा हो।’
तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठ डोजाङहरूमा प्रशिक्षण भए पनि स्कुल र राष्ट्रिय टोलीको प्रशिक्षण भने प्रभावित बनेको बताउँछन्। ‘डोजाङहरूमा प्रशिक्षण भइरहेको छ। तर, स्कुल र राष्ट्रिय टोलीको प्रशिक्षण अझै सुचारु हुन सकेको छैन’, उनी भन्छन्। राष्ट्रिय खेलकुद परिषद्ले गत असार ९ गते कोरोनाको प्रभाव कम रहेको जिल्ला र स्थानहरूमा नियमित प्रशिक्षण सुरु गर्न परिपत्र गरे पनि धेरै खेलको प्रशिक्षण अझै सुचारु हुन सकेको छैन।
राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्यसचिव एकेन्द्र कुँवरले नेपाली खेलकुदलाई पूर्ववत अवस्थामा फर्काउन अवलम्वन गर्नुपर्ने योजनाहरू बनाइरहेको बताए। उनले खेलाडी र खेलकर्मीलाई खोप लगाउनेदेखि प्रशिक्षण र प्रतियोगिता आयोजनाका लागि तयारी गरिरहेको बताए। ‘हामीले पहिलो प्राथमिकता कोभिड खोपमा दिएका छौं। ४/५ हजार खेलाडी, प्रशिक्षक र खेलकर्मीलाई खोप दिन लागिपरेका छौं’, निमित्त सदस्यसचिव कुँवरले भने, ‘स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर प्रशिक्षणहरू सुरु गर्ने काम पनि भइरहेको छ।’ उनले आगामी कार्यकारी बैठकमा खेलाडीको स्वास्थ्य, प्रशिक्षण, अन्तर्राष्ट्रिय सहभागिता, प्रतियोगितालगायत विभिन्न विषयमा छलफल गरिने जानकारी दिए।