भत्किए सिनेमा घर
काठमाडौं : चलचित्र हेर्न आउनेको हल वरपर भीडभाड होस्। कोही कफीको चुस्की लिँदै गफिँदै गरेका हुन्। कोही छेउकै रेष्टुराँमा बसेर खाजा खाँदै चलचित्रबारे ‘समीक्षा’ गर्दै गरेका भेटिऊन। चलचित्र ‘हिट’ होस्। दर्शकको ताँती लागोस् प्रत्येक हल सञ्चालक, निर्माता, निर्देशक र कलाकारको चाहना यही हो। तर, विश्वब्याधी कोभिडले चलचित्रकर्मी र उद्योगीको यो चाहना अब कहिले पूरा होला ? यसै भन्न कठिन छ। भएका हलहरू धमाधम बन्द हुँदैछन्। चलचित्रको सुटिङ ठप्प छ। रंगीन दुनियाँलाई कोरोनाको बादलले ढाकेको छ।
चलचित्र प्रदर्शन हुने मन्दिरहरू १८ महिनादेखि बन्द छन्। ‘मर्निङ सो’देखि ‘नाइट सो’सम्म दर्शकको हल्लीखल्ली हुने हलहरूमा यतिखेर मुसाको राज चलेको छ। फिल्म हल बन्द भएसँगै यस क्षेत्रमा काम गर्ने हजारौं ब्यक्तिहरू बेरोजगार बनेका छन्। हरेक दिन चहलपहल हुने कयौं फिल्म हलहरू बन्द भइसकेका छन्। विश्वभर फैलिएको कोरोना महामारीले सिनेमा क्षेत्रलाई नराम्रोसँग गाँजेको छ। डिजिटल प्लेटफर्ममा धमाधम विदेशी फिल्म ‘हिट’ भइरहँदा नेपाली सिनेमा उद्योग सुनसान छ। कोभिड–१९ को महामारीसँगै दर्शकले नयाँ नेपाली फिल्म हेर्न पाएका छैनन्। अझ भनौं करौडौं रुपैयाँ कमाउन सकिने डिजिटल प्लेटफर्ममा नेपाली फिल्म पुग्न सकेका छैनन्। म्युजिक भिडियो र केही टेली चलचित्र भने बनिरहेका छन्।
‘क्यूएफएक्स’ चेनअन्तर्गतको जय नेपाल सिनेमा हल पहिलो लकडाउनमै सँधैका लागि बन्द भयो। सिनेमाका गतिविधि ठप्प प्रायः हुँदा हल व्यवस्थापनले आर्थिक रुपमा धान्ने अवस्था देखेन। कर्मचारीलाई तलब खुवाउन पनि नसक्ने अवस्था आएपछि यो हल बन्द भएको हो। यस्तै, ३७ वर्षे सिनेमा इतिहास बोकेको कुमारी हल पनि सँधैका लागि बन्द भएको छ। गोपीकृष्ण हल पनि बन्द नै छ। बौद्धस्थित सिद्धार्थ हल पनि भत्काइँदै छ। हल सञ्चालक गोपाल कायस्थका अनुसार हल बन्द गरेर व्यापारिक शैलीको नयाँ भवन बनाउन थालिएको छ। यससँगै कोटेश्वरमा रहेको पुष्पाञ्जलि हल पनि भत्काइँदैछ। गंगा हल पनि सँधैका लागि बन्द भइसकेको छ। चलचित्र विकास बोर्डले चार वटा हल सँधैका लागि बन्द भएको आधिकारिक जानकारी आएको बताएको छ।
कोभिड अघि देशभर दुई सय नौ वटा हल थिए। जसमध्ये एक सय ९८ हलमा हरेक दिन फिल्म प्रदर्शन हुन्थे। चलचित्र संघका अनुसार झापा, मोरङ, जनकपुर, चितवन, तनहुँ, पाल्पा, बागलुङ, दाङ, रुपन्देही, पर्वत, धनकुटा, धनुषा, काठमाडौंलगायत विभिन्न जिल्लाका डेढ दर्जन बढी फिल्म हल बन्द हुने अवस्थामा छन्।
चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालका अनुसार एक सय ९८ वटा हलमा काम गर्ने हजारौं कर्मचारीहरू कोभिडका कारण बेरोजगार भएका छन्। कलाकारहरूले काम पाउन सकेका छैनन्, निर्माता निर्देशकहरू ऋणमा डुबेका छन्। ६० भन्दा बढी फिल्म प्रदर्शनको पर्खाइमा छन्।
कोभिडको त्रास अझै सकिएको छैन। चलचित्र निर्माण तथा छायांकनको काम पनि ठप्प छ। निर्धक्क सुटिङमा फर्कने माहोल अझै बनिसकेको छैन। अहिले बन्द अवस्थामा रहेका हलहरू कति जीवित रहने हुन् भन्न सक्ने अवस्था छैन। कोभिडका कारण सबैभन्दा घाटामा गएको चलचित्र क्षेत्र लकडाउन सुरु हुनुभन्दा पहिले नै बन्द भएको थियो। केही महिना सरकारले हल खोल्न अनुमति दिए पनि दर्शकहरू फिल्म हलसम्म जान मानेनन्। अहिले चलचित्रको काम पूर्णरुपमा बन्द छ। यो क्षेत्रको काम धेरै मानिस जम्मा भएर गरिने भएकाले कोभिडले चलचित्र क्षेत्रलाई धेरै नै हानी पुर्याएको हो। दर्शकहरूमा पनि मनोवैज्ञानिक असर छ। हल खुलिहाले पनि दर्शकहरू हलसम्म पुग्छन भन्ने ग्यारेन्टी गर्न सकिने अवस्था छैन।
अध्यक्ष दाहालका अनुसार अप्ठयारोमा परेका चलचित्रकर्मी र हल सञ्चालकहरूलाई चलचित्र विकास बोर्डको आन्तरिक सो्रतले सहयोग गर्दैछ। विदेशी चलचित्र प्रदर्शन गरेबापत चलचित्र विकास बोर्डमा प्राप्त हुने चलचित्र शुल्क रकम नै चलचित्र विकास बोर्डको आन्तरिक स्रोत हो। जुन अहिले निकै खुम्चिएको छ। चलचित्र क्षेत्रलाई सहयोग गर्न र धरासयी हुन नदिनका लागि सरकारले मौद्रिक नीतिमा केही परिवर्तन गरेको छ। पुनः कर्जा र ब्याज छुटका लागि पहल गरिरहेको छ। निर्माता संघ, कलाकार संघ, चलचित्र संघलगायत विभिन्न संघसंस्था र संगठनको पहलमा चलचित्र क्षेत्रलाई धरासायी हुनबाट बचाउन सरकारसँग सहयोग मागिरहेका छन्। यो क्षेत्रलाई जोगाउन आर्थिक सहयोग आवश्यक भएकाले चलचित्र विकास बोर्डले पहल गरिरहेको बताउँदै दाहालले सहुलियत ऋणका लागि पनि राष्ट्र बैकसँग सहकार्य गरिरहेको जानकारी दिए।
उनका अनुसार नेपाली चलचित्र प्रदर्शन बापत लाग्ने कर छुटका लागि पहल भइरहेको छ। मनोवैज्ञानिक त्रास हटाउन सबैलाई अनिवार्य खोपको उपलब्धता गराउने बिषयमा पनि सरकारसँग छलफल भइरहेको उनले जानकारी दिए। चलचित्र क्षेत्रलाई माथि उठाउनका लागि दीर्घकालिन रुपमा पनि काम गरिनुपर्ने उनको तर्क छ। केही वर्षका लागि चलचित्र प्रदर्शनमा लाग्ने कर छुट गरिनुपर्ने, भन्सार छुट, विद्युत महसुलमा सहुलियतजस्ता केही विकल्पहरूमा काम गर्न लागिएको दाहालले जानकारी दिए।
धेरै चलचित्रकर्मीहरू कोरोना भाइरस संक्रमितसमेत भए। प्रेमध्वज प्रधान, चेतन कार्कीलगायतका वरिष्ठ कलाकारलाई कोरोना कालमै गुमाउनु पर्यो। यसलाई पहिलेकै अवस्थामा फर्काउन केही वर्ष लाग्ने निश्चित छ।
चलचित्र निर्माता, लेखक तथा समीक्षक मनोज पण्डितका अनुसार कोभिड–१९ ले चलचित्र क्षेत्रमा मात्रै होइन, सबै क्षेत्रलाई धराशयी बनाएको छ। कोभिडको समयमा यो क्षेत्रले १२ देखि १४ अर्ब आम्दानी गुमाएको अनुमान गरिएको छ। चलचित्र क्षेत्रको समस्या समाधान गर्नका लागि सामूहिक ऐक्यबद्धता, प्रयत्न र सहयोगको आवश्यकता छ।
जुन अहिलेसम्म देखिएको छैन। कठिन परिस्थितिमा मिलेर सामना गर्नुपर्नेमा समस्यासँग भाग्ने चरित्र भएका कारण पनि यो क्षेत्रलाई बढी असर गरेको उनको बुझाइ छ। ‘योभन्दा बढी भयावह स्थिति आउने सम्भावना छ’, पण्डित भन्छन्, ‘अहिलेसम्म कलाकार तथा चलचित्रकर्मीहरू सम्हालिका छन्। लामो समय काम नपाउँदा कलाकारहरूमा आर्थिकसँगै मानवीय र मानसिक असर पर्ने पनि देखिन्छ। धेरैलाई असर गरेकाले विस्तारै प्रभाव भयावह पनि देखिन सक्छ।’
पण्डितका अनुसार हल बन्द हुनु मात्रै ठूलो विषय होइन, हामीले त्यसको विकल्प नखोज्नु ठूलो विषय हो। ‘फिल्म हेर्न हलसम्म जान्छन भन्ने पनि छैन। सिनेमालाई हलसँग मात्र जोडिनु गलत हो। दर्शकको रोजाई अनुसार डिजिटल प्लेटफर्ममा पनि फिल्म बेच्न सक्छौैं। तर, हाम्रो ध्यान हल बन्द भएतिर मात्रै गएको छ। हातमा भएको फल कसरी बिक्छ, त्यो माध्यम खोज्नुपर्नेमा त्यसमा हामी चुकेका छौं’, उनी भन्छन्। कोभिडले हामीलाई चुनौती सामना गर्दै डिजिटल प्लेटफममा फिल्म बेच्न सक्ने गजबको अवसर दिएको छ। तर, हामीले यसलाई प्रयोग गर्न सकिरहेका छैनौं।
रोइकराई गर्नतर्फ मात्रै लाग्यौं। हामीमा सिनेमा भनेको हलमै गएर हेर्नुपर्छ भन्ने गलत मान्यता छ। चलचित्र ब्यवसायीहरूले नै यी प्रक्रियाको र माध्यमका बारेमा सोच्नु पथ्र्यो। एक अर्काको मुख ताकेर बस्ने काम भइरहेको छ। जसले गर्दा नेपाली फिल्मले डिजिटल ब्यापार गर्न सकेको छैन। सिनेमा क्षेत्रमा पेशागत दक्षता भएका ब्यावसायिक क्षमता भएका मानिसको कमी देखिएको छ।