श्रद्धाञ्जली
हार्दिक श्रद्धा सुमन हजारौं नेपाली, जसलाई हामीले अकल्पनीय रोगबाट गुमायौं। कोभिड–१९ नामको भाइरस संसारमा नआएको भए सम्भवतः नेपालमा २०७७ जेठ ३ देखि हिजोसम्म १० हजार १९ नागरिक दिवंगत हुनुपर्ने थिएन। विदेशी भूमिमा पुगेका थप ४ सय ८६ नेपालीले बाकसमा फर्किनुपर्ने थिएन। दुर्भाग्य, संसारको नियति र दैवको लिला टारेर टरेन। यस दुःखद वियोगका शोकाकुल तमाम परिवारजनमा हाम्रो अन्तर्मनको समवेदना। सक्रिय संक्रमितहरूको शीघ्र एवं पूर्ण स्वास्थ्यलाभको कामना।
महात्मा गान्धीले भनेका थिए, ‘यसरी बाँच्नोस् कि तपाईंले भोलि नै मर्नुपर्नेछ। यसरी सिक्नोस् कि तपाईं सदाका लागि बाँच्नुपर्नेछ।’ यही बँचाइ र सिकाइको विरोधाभासमा संसार रुमलिएको छ दुई वर्षयता। कोरोनाले कसलाई कति बेला लैजान्छ, ठेगान छैन। यसकारण कि– देश–देशका सरकारहरू यससँग विज्ञतापूर्वक संघर्ष गर्न तयार भइसकेका छैनन्। जित्ने अभ्यासमै संसारभरि करिब ४३ लाख जनसंख्या यो सूक्ष्म निर्जीव–जीवसँग पराजित भइसकेको छ। खोप त बनेको छ, प्रभावकारिता शतप्रतिशत छैन। त्यो पनि सबैका भागमा पुग्न वर्षौं लाग्न सक्छ। हाम्रो नेपालजस्तो न बनाउन सक्ने, न किन्न हिम्मत गर्ने देशका लागि झन् धेरै वर्ष लाग्ने नै छ।
त्यसैले विश्व–शक्ति हल्लाएको कोभिड–१९ खेलाँची गर्ने रोग हुँदै होइन। यही लडाइँमा हाम्रो देशले कष्टपूर्ण दुई चरण पार गरेको छ। यस क्रममा हामीले केही सिक्यौं। केही पूर्वाधार तयार गर्यौं। अरू देशकै हाराहारीमा कुस्ती खेल्यौं। केही भोग्यौं। धेरै त लापरवाही पनि गर्यौं। सबैभन्दा अफसोस्को कुरा– देशको अगुवाइ गर्ने राजनीतिक क्षेत्र यस मामलामा निरपेक्ष रह्यो। देश कोरोनासँग लडिरहँदा राजनीतिक दल र तिनका शीर्ष नेता कुर्सीको लडाइँमा भुलिरहेका थिए। दलका लागि देशमा जे आयो, राजनीतिक कोरोना मात्र आयो। तिनले शासन गर्ने जनता, तिनले भोलि नमस्कार गर्दै पुग्ने मतदाता कोरोनाले बितिरहेको आँखा चिम्लिएर देखेको नदेख्यै गरे।
धन्न संविधानले दुई वर्षसम्म सरकार ढाल्न रोक लगाएको छ। अघिल्लो सरकारको दुई वर्ष पुग्नु र कोरोना आउनु करिब–करिब सँगसँगै भयो। कोरोना आतंक र राजनीतिक बबन्डर एकसाथ/समानान्तर मच्चिए। यसैबीच तेस्रो लहरको मुखमा शासन सत्ता बदलिएको छ। फेरि सरकार ढाल्ने खेल त तत्काल नहोला। तर, गठबन्धनको पदीय जुहारी सुरु भइसकेको छ। तत्काल सरकारलाई पूर्णता दिएर र गठबन्धन दर्बिलो बनाएर ध्यान कोरोनातिर एकोहोर्याउनु वर्तमानका लागि बुद्धिमत्ता हुनेछ। देउवा सरकारको ध्यान पक्कै त्यता जानेछ।
किनकि, कोरोनाको तेस्रो लहरले ढोका ढकढक्याएको छ। संक्रमण ७ लाख ८ हजारभन्दा उकालो लागेको छ। हामीकहाँ पर्याप्त अस्पताल बेड छैनन्। पुग्दो आईसीयू र भेन्टिलेटर छैनन्। अघिल्लो लहर यसरी उर्लिएर आएको थियो, अचानक अक्सिजनको हाहाकार भयो। उपचार सेवाले नधानेर धेरैले मृत्युवरण गर्नुपर्यो। चिकित्सक र स्वास्थ्यकर्मीले भोक निद्रा नभनी खट्दा पनि सेवा दिन हम्मे पर्यो। शव व्यवस्थापन गर्ने नेपाली सेना र कतिपय स्वयंसेवी युवाको जोखिमपूर्ण सत्कार्य जति प्रशंसा गरे पनि नपुग्ने थियो। सीमा र अन्यत्र खटिएका सशस्त्र र नेपाल प्रहरीको योगदान उत्तिकै धन्य रह्यो। पुनः खट्नु/खटाउनुपर्ने अवस्था नआओस् भन्नेमा हामी सबै सजग हुनैपर्छ। धनी र शक्तिशाली देशलाई समेत यसले गाँजेको गाँज्यै छ। त्यसमा हाम्रो गम्भीरता चाहिन्छ नै।
चीनको वुहानमा सुरुमा देखिएको यो भाइरस केही महिनामै विश्वव्यापी भएको थियो। हिजोसम्म संसारभरि यसबाट करिब २० करोड १८ लाख संक्रमित भइसकेका छन्। दुई करोडभन्दा बढी व्यक्ति संक्रमणसँग जुधिरहेका छन्। सबैभन्दा धेरै संक्रमित अमेरिकामा ३ करोड ६३ लाखभन्दा बढी पुगेका छन्। दोस्रोमा हाम्रो छिमेकी मुलुक भारत छ, जहाँ संक्रमित संख्या झन्डै ३ करोड १९ लाख पुगेको छ। यसबाट ज्यान गुमाउनेको संख्या अमेरिकामा ६ लाख ३२ हजार र भारतमा ४ लाख २७ हजारको हाराहारी छ। खुला सिमाना र ठूलो मात्रामा आउजाउ हुने भएकाले भारतको तीव्र संक्रमणको प्रभाव नेपालमा स्वाभाविक रूपमा पर्छ। अतः हामी अब ढिला नगरी चनाखो भइसक्नुपर्छ।
वैज्ञानिक र अनुसन्धानकर्ताहरूका कोरोना–प्रभाव प्रक्षेपण अत्यासलाग्दा छन्। कोभिडले तीव्रता लिने र निधन अझै धेरै माथि पुग्ने त्यस्ता आकलनलाई असत्य सावित गर्ने दायित्व हाम्रै हातमा छ। हाम्रा क्रियाकलापले त्यसलाई तल–माथि बनाउन सक्छ। हाम्रा आनीबानी, व्यवहार, कारोबार, रहनसहन र सजगता नै सुरक्षाका उपाय हुन्। जब कोरोनाको लहर आउँछ, आत्तिन्छौं। जब हल्का हट्छ, स्वच्छन्द चरित्र देखाइहाल्छौं। त्यो बानी अब हटाउनैपर्छ। सम्भवतः अझै केही वर्ष यो महामारी संसारमा लिसोझैं टाँसिइरहनेछ। त्यसबाट भागेर वा त्यसलाई प्रभावशून्य बनाएर आफू सुरक्षित हुने उपाय अवलम्बन गर्नुको विकल्प मानव जातिसँग छैन।
संसारलाई घुँडा टेकाएको कोरोनासँग हामी रेसलिङ खेल्न पक्कै सक्दैनौं। तर, यसको बाटो थुन्ने उपाय निकाल्न सक्छौं। त्यो भनेको खोपको व्यापकता, पूर्ण सजगता र सुरक्षा मापदण्डको परिपालना हो। खोपका लागि अब कुनै देशको मुख ताक्ने होइन, प्रतिस्पर्धी बजारबाट जति पर्छ, सकेसम्म छिटो किनेर सबैसम्म पुर्याउन सरकारले कसर राख्नु हुँदैन। पर्छ भने विकासको सबै बजेट नै किन खन्याउनु नपरोस्, देशको पहिलो र एक मात्र प्राथमिकता खोप खरिद होस्। बरु सरकारले सक्नेलाई किनेर लगाऊ भन्न सक्छ। तर, देशमा उपलब्ध गराउनै पर्छ। नयाँ सरकारको यो प्रमुख अभिभारा बनेको छ। आशा गरौं, त्यो पूरा हुनेछ।
अमेरिकी लेखक जोन डेभिडले भनेका छन्, ‘कुनै पनि देश तबसम्म रहन्छ, जबसम्म ऊसँग नागरिक हुन्छन्।’ अर्थात्, नागरिक नरहे देशै रहँदैन। हाम्रो पनि अहिलेको प्राथमिकता नागरिकको सुरक्षा हो। एक–दुई वर्ष विकासका पूर्वाधार नठडिँदैमा केही फरक पर्दैन। एकाध महिनामै पुग्दो खोप ल्याएर व्यवस्थित ढंगले सबैलाई लगाउन सक्यो भने जनताले सरकारको जयजयकार गर्नेछन्। कोरोना जोडेर थप श्रद्धाञ्जली दिनुपर्ने अवस्थासमेत अन्त्य हुन सक्नेछ।
सारा देशवासी त्यही दिन कुरिरहेका छन्।