खोई त मास्क ?

खोई त मास्क ?

सरकारले नागरिकलाई आगामी चैत्र मसान्तसम्ममा कोभिड खोप लगाइसक्ने योजना बनाएको छ। खोपले संक्रमण हुनबाट रोक्नेभन्दा पनि मृत्युबाट जोगाउने स्वास्थ्यविज्ञ बताउँछन्। अहिले पनि खोपको दुवै मात्रा लगाएकालाई संक्रमण भइरहेको छ। तर, उनीहरूको स्वास्थ्यमा लक्षणसहितका गम्भीर असर कमै देखिएका छन्। त्यसैले खोप लगाए पनि नलगाएसरह स्वास्थ्य मापदण्ड भने सधैं अपनाउनै पर्ने चिकित्सकको सुझाव छ। दैनिक साबुनपानीले हात धुने, पानी नभएको स्थानमा धेरै समय रहनु परे स्यानीटाइटरको प्रयोग गर्नुपर्ने त नियमित प्रकृया नै हो। अझै घर बाहिर निस्कनु परे नाक, मुख छोप्ने गरी मास्कको प्रयोग पनि अनिवार्य नै भएको छ। तर, अहिले पनि घर बाहिर निस्कँदा मास्कको प्रयोग सबैले गरेको पाइँदैन।

सुन्दा सामान्य लाग्ने कुरा हो, ‘मास्कको प्रयोग’। कोरोना संक्रमण मात्रै नभइ अन्य रोगको संक्रमणबाट पनि मास्कले रोक्छ÷छेक्छ। श्वासप्रश्वासको माध्यमबाट सर्ने र लाग्ने रोग नियन्त्रणमा मास्कको प्रयोग र सामाजिक दूरी कामय गर्नु नै सुरक्षित रहने उत्तम विकल्प हो। कोरोना संक्रमण फैलनुअघि पनि श्वासप्रश्वासका समस्या भएकाले मास्कको प्रयोग गरेकै थिए। यसको प्रयोग अस्पतालमा स्वास्थ्यकर्मीका लागि अनिवार्य जस्तै थियो। अहिले आएर प्रत्येक नागरिकका लागि यो अनिवार्य हो। किनकि अब मानव स्वास्थ्यलाई असर गर्ने रोगको सूचीमा कोरोना थपिएको छ। यो जुनै समय जसलाई पनि लाग्ने भएकाले अब आफैं सुरक्षित हुनुको विकल्प छैन।

सरकारले खोपको व्यवस्थापनसँगै हिजोबाट ‘नेपाल मास्क सप्ताह’ सुरु गरेको छ। यो अभियानमा सबै नागरिकलाई स्वास्थ्य सामग्री उपलब्ध गराउने र मास्क प्रयोगलाई अनिवार्य गराउने सरकारको लक्ष्य हो। कोरोनाको तेस्रो लहर फैलन सक्ने भएकाले समयमै सचेत हुँदै यस्तो अभियान नै सुरु गर्नु सरकारको सकारात्मक प्रयास हो। यो अभियानमा सबै तह र नागरिकको पनि साथ भए तेस्रो लहरबाट संक्रमण र मृत्युदरलाई केही हदसम्म रोक्न सकिन्छ। यसअघि पनि स्वास्थ्य मापदण्ड प्रयोग नगर्दा नै कोरोनाले महामारीको रूप लिएको हो। अब मास्कको अनिवार्य प्रयोग र अन्य स्वास्थ्य मापदण्ड अपनाए पहिले जस्तो मानवीय र आर्थिक क्षति नेपालले भोग्नु पर्दैन। अहिले धेरै नेपाली नागरिकले कोरोनाको खोप लगाएका छन्। धेरै संक्रमित भएर निको पनि भए। खोप लगाएका र एक पटक संक्रमित भएर निको भएकाहरूमा अब संक्रमित भइँदैन भन्ने आशंका पनि छ। कतिले त खोप लगाएपछि स्वास्थ्य मापदण्ड नअपनाएको पनि भेटिन्छ।

खोपले संक्रमण हुनबाट रोक्ने होइन र एक पटक लागेपछि पुन संक्रमित भइन्नँ भन्ने पनि तथ्य होइन। त्यसकारण अब मास्कको प्रयोग र यस अघि अपनाउँदै आएका सबै नियम अब सधैं नियमित अपनाउनै पर्छ। संक्रमण फैलिएर चरम अवस्था पुग्दा, निषेधाज्ञा र लकडाउन गर्दा मात्रै सचेत बन्ने र अन्य समय बेवास्ता गर्दा कोरोना महामारीको चरण चरण आइरहेको छ। मानिसले कुरा गर्दा, गाउँदा, खाँदा वा खोक्दा बन्ने श्वासप्रश्वासका थोप्लामार्फत कोरोना संक्रमण फैलिन्छ। व्यक्तिहरूको शरीरभित्र कुनै पनि लक्षणबिना पनि भाइरस रहेको हुनसक्छ। मास्कले कोरोनाका छिटाहरू फैलिन नदिइ अन्य व्यक्तिमा सर्नबाट रोक्ने काम गर्दछ। त्यसैले मास्क एक भए पनि यसको फाइदा अनेक छन्।

बाहिरी वातावरणमा रहेका सूक्ष्म जैविक कणहरूबाट मास्क लगाउने व्यक्तिलाई सुरक्षा प्रदान गर्छ। हेर्दा सामान्य भए पनि यसको गूण धेरै छन्। अहिले मास्क सबै स्थानमा सर्वसुलभ रूपमा पाइन्छ। यसको गुणस्तर हेरी दुई रुपैयाँदेखि माथि किन्न पाइन्छ। विभिन्न स्थानमा मास्क वितरण अभियान पनि भइरहेका छन्। अब मास्कलाई हामीले लगाउने लुगासरह आफैं अनिवार्य गर्नुपर्छ। सरकारले पनि सप्ताहव्यापी अभियान नै चलाएको छ। प्रहरीले ‘तपाईको मास्क खोई ?’ जस्ता अभियान जारी राखेको छ। यसले सीमित समय प्रचार र चेतना बढाए पनि अब आफ्नो स्वास्थ्यका लागि नागरिक आफै सचेत बनौं।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.