मनोरोगीलाई श्रीकृष्णवाक्य

मनोरोगीलाई श्रीकृष्णवाक्य

आत्मा नै आत्माको मित्र हो अनि आत्मा नै आत्माको शत्रु हो


गत महिना एकै प्रकारका दुई समाचारले मनमा हलचल पैदा गर्‍यो। ‘एउटा मनोचिकित्सककै ‘मन’ खल्बलाउने खबर निश्चय नै अति विशेष नै हुनुपर्छ’ भन्ने ठान्नुहोला। मनोचिकित्सा पेशामा भनौं या मनोरोगहरूमा ‘आपत्कालीन’ अवस्था मानिएको विषय करिब करिब एउटै नै छ: आत्महत्या। हामीले जुनसुकै मनोरोगको पनि यथाशक्य शीघ्र उपचार गर्नुपर्ने त्यही आपत्कालीन अवस्थामा बिरामी नपुगुन् भनेर नै हो। फेरि त्यो अवस्थामा पुगिसकेपछि त ती बिरामी फर्केर नै नआउन सक्छ।

हो, बितेको महिना अर्थात् असार (२०७८) मा सामाजिक सञ्जालमा छाएका दुई तस्वीरले अझै पनि मन अस्थिर बनाइदिएको छ। विस्तारित नातासम्बन्धीमा पर्ने १५–१६ वर्षकी एक किशोरी अनि आफ्नै पेशा व्यवसायसँग सम्बन्धित एक होनहार युवक दुवैले अप्रत्याशित रूपमा आफैंलाई मार्ने कठोर निर्णय कसरी लिन सके होलान् ? अनि, किन लिन पुगे होलान् ? प्रश्न अनुत्तरित नै छ, अझै पनि। हुन त, दुवै व्यक्तिगत रूपमा मसँग एकदमै चिनिएका या हेलमेल नै भएका पात्रहरू पनि होइनन् तर पनि तिनको ‘आत्महत्या’को खबर एकदमै पीडादायी, असोचनीय अनि अकल्पनीय रूपमा अकस्मात आइपुगेको थियो। कता कता, ‘त्यो दु:खदायी मृत्युलाई रोक्न या टार्न पो सकिने थियो कि ?’ भन्ने पनि मनमा लागिरहन्छ अझै। तर अध्यात्ममा अलि अलि रस लिने मजस्तो व्यक्ति ‘मृत्युलाई पनि टार्न सकिन्छ र ?’ भनी आएको मनको त्यो तर्कनालाई तुरुन्त नै निस्तेज नै गरी पनि हाल्छु : ‘आयो टप्प टिप्यो लग्यो, मिति पुग्यो टारेर टर्दैन त्यो...।’

अत्यन्तै बिडम्वनामय कुरा, त्यसरी आत्महत्या गर्ने भाइ पेशाले मनोचिकित्सक नै थियो। त्यो खबर थाहा पाएपछि परिवारका सदस्य अनि मित्रगणले भनी पनि हाले, ‘ओहो ! अरूलाई आत्महत्याबाट बचाउनुपर्ने, सम्झाइबुझाइ गर्नुपर्ने मान्छे, आफैंले नै पो त्यस्तो गरेछ...।’ म हतप्रभ भएँ त्यस्तो प्रतिक्रियाले। भन्न त भनें, ‘आफू कलेजो विशेषज्ञ भएको चिकित्सकलाई जण्डीस हुँदैन र ? हाडजोर्नी विशेषज्ञको दुर्घटनामा परेर हड्डी भाँच्चियो भने तिनको शल्यक्रिया गर्नुपर्दैन होला त ? पेटरोग विशेषज्ञलाई अल्सर हुँदैन र ? क्यान्सर विशेषज्ञलाई क्यान्सर नै नहुने हुन्छ त ? त्यसरी नै मनोचिकित्सकहरूमा पनि मनोरोगको लक्षण नदेखिने भनौं या तिनीहरू आपत्कालीन अवस्थामा नपुग्ने भन्ने हुन्छ र ?’ तर पनि मनमा नमीठो रित्तोपनको भाव भने आइरहन्छ।

अत्यन्तै बिडम्वनामय कुरा, त्यसरी आत्महत्या गर्ने भाइ पेशाले मनोचिकित्सक नै थियो। ‘ओहो ! अरूलाई आत्महत्याबाट बचाउनुपर्ने, सम्झाइबुझाइ गर्नुपर्ने मान्छे आफैंले त्यस्तो गरेछ।’ हतप्रभ भएँ प्रतिक्रियाले।

हुन त, अन्तर्राष्ट्रिय अध्ययनहरूको तथ्यांकगत विश्लेषण गर्दा पेशागत रूपमा ‘आत्महत्या’को अनुपात चिकित्सकगणमा, तिनमा पनि एनेस्थेसियोलोजिष्ट अनि मनोचिकित्सकहरूमा नै ज्यादा भएको देखिन्छ। तर पनि जीवनको कठोर वास्तविकतालाई तथ्यांक–गणितसित यो मनले सजिलै कसरी दाँजोस् र ? ‘आत्महत्या’ अर्थात् ‘आफैंले आफंैलाई मार्ने’ विषय नै यस्तै नै छ। केही समयअघि श्रीमती र छोरीको हत्या गरी आत्महत्या गर्ने प्रयास गरेका एक व्यक्तिलाई प्रहरीले मनोचिकित्साका लागि लिएर आए। ओहो ! हामीले ठान्ने ‘मानसिक रोगी’ प्रहरीको भनौं या कानुनको नजरमा त ‘अपराधी’ पो मानिने ! मन सकुशल भएको भए त्यस्तो जघन्य अपराध, श्रीमती र छोरीको हत्या गर्ने दानवीय कृत्य ती व्यक्तिले किन पो गर्थे होला र ? अहिले त पीडा र पश्चात्तापको अग्निमा झन् डढिरहेको होला उनको मन। त्यही पश्चात्तापले उनको उदासीनता अझै बढाउँदो छ। कुनै दिन फेरि उनले आफैंलाई मार्ने चेष्टा पुन: नगर्लान् भन्न सकिन्न। हाम्रो मनोविमर्श अनि हाम्रा ओखतीमूलोले कहिलेसम्म अनि कहाँसम्म थेग्ला ? भन्न सक्दिनँ।

केही वर्षअघिको अर्को एक बिरामीलाई कहिल्यै बिर्सन्नँ। ‘आत्महत्याको प्रयास’ गरेका कारण ल्याइएका ती वयस्क व्यक्तिलाई करिब १५–२० दिन भर्ना गरेर राखेका थियौं। रोगको निदान गरेर आवश्यक औषधोपचार अनि मनोविमर्श पश्चात् परिवारजनको सल्लाहमै घर पठाएका थियौं। आत्महत्याको प्रयास एक पटक गर्नेले फेरि दोहोर्‍याउने सम्भावना ५० प्रतिशतभन्दा बढी हुन्छ। तिनलाई एक्लै नछोड्ने सल्लाह पनि दिएका थियौं तिनका छोरालाई। सबै कुरा ठीकठाक नै चलिरहेको थियो रे। केही दिनपछि पानी खान भनी बुइँगलको भान्सामा एक्लै पुगेका तिनले पासो लगाएर मृत्युवरण गर्न पुगेछन्। यस्तोमा हाम्रो उपचारपद्धतिलाई सफल मान्ने कि असफल ? आफैं असमञ्जस्यपूर्ण अवस्थामा पुग्छु।

‘मलाई त आफू यो संसारमा बोझ भइयो कि जस्तो लाग्छ।’

‘म असहाय प्राणीलाई कसले पो सहायता गर्ला र ?’

‘यो संसारमा अब बाँचेरै पो के प्रयोजन ?’

‘बेला बेलामा ‘मरुँ मरुँ’ जस्तो लागिरहन्छ। कहिलेकाँहीं त पासो लगाउने प्रयास पनि गरेको हो...।’

यसरी सिधा सिधा मृत्युको इच्छा अभिव्यक्त गर्ने रोगीहरू अनि ‘तपाईंलाई ‘मरुँ मरुँ’ जस्तो लाग्छ ?’ भनेर हामीले सोध्ने सिधा प्रश्नको सरल उत्तर दिनेहरूलाई हामी विशेष निगरानीमा राख्दछौं। आवश्यक परे भर्ना नै पनि गर्दछौं। भर्ना अवधि पूरा गरेको या मनस्थितिमा सुधार आएकाहरूलाई घर पठाउने बेलामा फेरि कुनै पनि बेलामा ‘मरुँ मरुँ’ लाग्ने या आत्महत्याको विचार आएमा हामीसँग सम्पर्क गर्न भनेर फोन नं या हटलाइन पनि उपलब्ध गराउँछौं। त्यसरी फोन गर्दा हामीसँग हुने ५–१० मिनेटको कुराकानीमै तिनको ‘मर्ने चाहना’मा कमी ल्याई तिनको जीजीविषामा वृद्धि गराउने हाम्रो कोशिषले धेरैजसो अवस्थामा सार्थकता पनि पाउँछ। तर बिडम्बना ! साँच्चै नै आत्महत्या नै गर्न पुगेकाहरूले त्यसरी फोन गर्न भ्याउँदैनन् पो कि त ? नत्र त, किन यसरी आत्महत्याको तथ्यांकहरूमा दिनानुदिन वृद्धि हुँदै गइरहेको छ ?

पेशाको दौरान अनि आत्महत्या विषयमा विशेषज्ञता हासिल गर्न पढाइ गरेको तीन वर्षको समय जोड्दा करिब डेढ दशकको अवधिमा आत्महत्यालाई धेरै नजिकबाट बुझ्न पाएको छु। ‘आत्महत्याको प्रयास’ गर्नेहरूलाई बाँचेर आएपछि तिनको मनोभावको अध्ययन गरेर उपचार पनि गरेको छु। तर पनि यो विषय जत्तिको अस्पष्ट, निराशाजनक, अपजसी अनि मनमा उद्वेग पैदा गर्ने अरू कुनै विषय नै छैनन् मेरा लागि। ‘आत्महत्या– गरिसकेपछि त सकिगो नि ? फर्काउन सकिने होइन। मनोरोगीहरूलाई त्यस्तो कृत्य गरिहाल्नबाट जोगाउने पो त हाम्रो काम त ! आत्महत्या गरेपछि त गइहाल्यो नि !’ आत्महत्याको खबर मात्रले नै पनि आफू मनोचिकित्सकको जिम्मेवारीबाट नै च्यूत भइयो कि भन्ने पश्चात्तापको पीडा ममा किन आउँछ किन ?

प्रारब्धको खेल या विधिको विधानलाई नै मान्ने हो भने पनि हे सृष्टिकर्ता ! किन यस्तो कृत्यबाट कसैको जीवनलीला समाप्त हुन्छ ? तिनको अरू नै कारण– रोग, भोक, दुर्घटना आदि किन नभएको ? यस्ता थुप्रै प्रश्न अनुत्तरित नै छन्। होइन, हाम्रो जैविक सिद्धान्तले मानेझैं तिनको आनुवंशिकतामै ‘आत्महत्याप्रतिको चाहना’ प्रतिविम्बत नै हुने भए किन त्यस्तो हुने हो ? सेरोटोनिन रसायनको कमीले तिनलाई त्यस्तो कृत्यका लागि दुरुत्साहित गर्ने हो भने पनि किन त्यसलाई उल्टाउन नसकेको हामीले ? सबैलाई ‘सेरोटोनिन टनिक’ को सिफारिस गर्नुपर्ने हो मनोचिकित्सकहरूले ? वा खाद्यवस्तुमा सेरोटोनिन राख्ने सामुदायिक स्वास्थ्यको 

प्रावधान लागू गर्नुपर्ने हो ?
कुन मनोवैज्ञानिक सूत्र अथवा कुन मनोसामाजिक उपचार पद्धतिले समाजलाई आत्महत्या–उन्मुख नभई जीवनतर्फ लालायित बनाउन सक्ला ? पलायनवादी बन्नुभन्दा जीजीविषा जगाएर कर्मयोगी बन्न प्रेरणा दिने श्रीकृष्णको नै खाँचो भएको त होइन समाजमा ? किशोरकिशोरी, युवा अनि प्रौढको मनस्थिति कसरी उँचो राख्ने ? चिन्तनपछि आशाको झिनो त्यान्द्रो भेटें, श्रीमद्भगवद्गीतामा श्रीकृष्णोपचार पद्धति। मानिसले आफ्नो उद्धार आफैंले नै गर्नुपर्छ किनकि आत्मा नै आत्माको मित्र हो। अनि आत्मा नै आत्माको शत्रु हो। अर्थात्, आफू नै आफ्नो मित्र या शत्रु भएकाले मानवले आफ्नो उद्धार आफैंले गर्नुपर्छ। अध्यात्मको यो गूढ सूत्र हाम्रो उपचारकर्म या मनोविमर्शमा यथोचित संयोजन गरी कसैको उपचार गर्ने प्रयास गरेमा अत्यन्त ठूलो लाभ हुनसक्छ कि ? हाम्रो ओखतीमूलो, सल्लाह आदिसँगै ‘आत्मोद्धार आफैंले गर्नुपर्ने’ यो कृष्णवाक्यलाई मनोरोगीको चेतना, शैक्षिक या प्राज्ञिक स्तरमा उदाहरण दिएर बुझाउन सके जीवन जिउने प्रेरणा मिल्थ्यो कि ?

‘युद्धमैदान छाडेर पलायन हुने या शत्रुको हातबाट मर्ने’ जस्तो विचार बोकेका युद्धनायक अर्जुनको विषाद् त यस्तै कृष्णवाक्यले परिवर्तन गरायो भने ‘आत्महत्या’ जस्तो गम्भीर निर्णय लिन खोज्ने सामान्य मानवमा यसले कसो सकारात्मक प्रभाव नल्याउला त ? त्यसैले आजैबाट वैज्ञानिक आधुनिक उपचारपद्धतिमा अध्यात्मको यो सानो सूत्र (श्रीकृष्णवाक्य) मिश्रण गर्ने प्रयास थालनी गर्नुपर्छ। आशा छ, यसले राम्रो प्रभाव नै पार्नेछ। ‘कालो बादलमा चाँदीको घेरा’सरि श्रीमद्भगवद्गीताको यो सुन्दर उद्धरणले मेरो जलिरहेको मनमा अलिकति भए पनि शान्ति ल्याइदिएको छ।

त्यसैले ‘जीवनबाट पलायन चाहने सबै’लाई कवि भूपिको शब्द सापटी लिएर मेरो डायरीमा कोरिएका यी शब्द पुन:उद्धृत गरी आह्वान गर्न चाहन्छु :

हे ! आत्महत्या गरी जीवन गुमाउन चाहनेहरू हो !
आफैंलाई माया गरी जिएर त हेर,
जीवन कति न्यानो छ ?
जीवन कति प्यारो छ ??
आफ्नो उद्धार आफैंले गर्ने प्रयास गरेर त हेर,
संसार कति उज्यालो छ ?
संसार कति रमाइलो छ ??

(लेखक धुलिखेल अस्पतालका मनोचिकित्सक हुन्।)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.