पेरिसमा भेट्ने बाचा

पेरिसमा भेट्ने बाचा

टोकियो : विश्व खेलकुदको महाकुम्भ ३२औं गृष्मकालिन टोकियो ओलम्पिक आइतबार सम्पन्न भएको छ। जापानको राजधानी टोकियोमा विगत दुई सातादेखि जारी प्रतियोगिता एक विशेष समारोहकाबीच समापन गरिएको हो। 

टोकियो ओलम्पिकमा दुई सय पाँच राष्ट्रका ११ हजारभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गरेका थिए। टोकियो ओलम्पिक धेरैका लागि ऐतिहासिक सावित भयो भने केही खेलाडीलाई भने नमिठो पीडा पनि दियो। कोरोना कहरकाबीच सुरु भएको टोकियो ओलम्पिकमा आयरल्यान्ड, बरमुडा, फिजी, पोर्टो रिको, कतार, कोसोभो, फिलिपिन्स, अलास्कालगायतका राष्ट्रले ऐतिहासिक स्वर्ण पदक भित्र्याउन सफल भए भने सिमोन्स बाइल्स, नाओमी ओसाका, अस्लेइघ बार्टी, जाड जोन्सलगायतका लागि टोकियो ओलम्पिक बिर्सन लायक बन्यो। यही ओलम्पिकमा जापानकी १३ वर्षीया मोमिजी निसियाले स्वर्ण पदक जित्दै इतिहास बनाउन सफल भइन्।  

विभिन्न साँस्कृतिक कार्यक्रम आयोजना गरेको समापन समारोहमा ओलम्पिकको झण्डा फ्रान्सलाई हस्तान्तरण गरिएको थियो। सन् २०२४ को ओलम्पिक फ्रान्सको पेरिसमा आयोजना हुँदैछ। समापन समारोहमा हवाई प्रदर्शनीमार्फत आकाशमा फ्रान्सको राष्ट्रिय झण्डा फहराइएको थियो। 

जापानले कोरोना महामारीको समयमा पनि स्वास्थ्य सुरक्षाको सबै मापदण्ड अपनाएर विश्व खेलकुद मेलालाई अविश्मरणीय बनाउन कुनै कसर बाँकी राखेन। एक वर्ष पहिले नै तय भएको टोकियो ओलम्पिक कोरोनाकै कारण एक वर्ष पर धकेलिएको थियो। अब अगष्ट २५ बाट टोकियोमै पारा ओलम्पिक आयोजना गरिने छ।

कोरोना कहरकैबीचमा ओलम्पिक आयोजना गरेका कारण जापान सरकारले आफ्नै नागरिकहरूबाट चर्को आलोचना बेहोर्नु पर्‍यो। समापन अघि भएको विरोध प्रदर्शनमा ३० प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको थियो। कोरोना संक्रमणको त्रास र स्थानीयको विरोधका कारण ओलम्पिकका ३३ खेलहरू बन्द रंगशालामा सञ्चालन गरिएको थियो। खेलाडी र अफिसियललाई ओलम्पिक भिलेजबाट बाहिर जान बन्देज गरिएको थियो। 

तीन सय ३९ स्वर्ण पदकका लागि भएको प्रतिस्पर्धामा अमेरिकाले ३९ स्वर्ण जित्दै शीर्ष स्थान कब्जा गर्न सफल भयो। पहिलो दिनदेखि नै अग्रता बनाएको चीन भने अन्तिम दिन मात्रै पछाडि परेको हो। ३८ स्वर्ण जित्दै चीन दोस्रो स्थानमा रह्यो। अमेरिकाले ३९ स्वर्ण, ४१ रजत र ३३ कांस्यसहित कुल ११३ पदक जित्न सफल भयो।  चीनले ३८ स्वर्ण, ३२ रजत र १८ कांस्य गरी कुल ८८ पदक जित्यो। तेस्रो स्थानमा रहेको आयोजक जापानले २७ स्वर्ण, १४ रजत र १७ कांस्यसहित कुल ५८ पदक घरमै राख्न सफल भयो। 

यस्तै बेलायत २२ स्वर्ण, २१ रजत र २२ कांस्यसहित ६५ पदक जितेर चौथो स्थानमा रहँदा रसियन ओलम्पिक कमिटी २० स्वर्ण, २८ रजत र २३ कांस्यसहित कुल ७१ पदक जितेर पाँचौं स्थानमा रह्यो। यस पटकको ओलम्पिकमा ६३ राष्ट्रले स्वर्ण पदक जिते भने पदक जित्ने राष्ट्रको संख्या भने ८६ रह्यो। अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार टोकियो ओलम्पिकमा सहभागी दुई सय पाँच राष्ट्रमध्ये समापन समारोहको मार्चपासमा ६२ राष्ट्र अनुपस्थित भएका थिए। टोकियो ओलम्पिकमा नेपालबाट चार खेलका पाँच खेलाडीले प्रतिस्पर्धा गरेका थिए। यस पटक पनि नेपालको चुनौती सहभागितामै सीमित भएको थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.