सन्धिखर्कका वादी समुदायले पाए पक्की घर
सन्धिखर्क : 'बर्खाको समय राति सुतिरहेको बेला पानी चुहिएर शरीर लुथ्रुक्कै भिज्थ्यो। कति रात त ननिदाइकन उज्यालो हुन्थ्यो, ' सन्धिखर्क २ भद्रीखोलाकी लक्ष्मी वादीले भनिन्, ' कपडा भिजेर अर्को कपडा फेरी रातभर जागराम बस्थ्यौं, अब त ढुक्क भएर रातभर सुत्न पाइने भयो, औधि खुसी लागेको छ लाग्यो।'
दिनभरि मेहनत गरी ल्याएको खाद्यान पानी परेको बेला कहिले सुरक्षित भएन, सायद जीवन यसरी जाने होला भन्ने लागेको थियो घर पाएपछि खुसी हुँदै स्थानीय मधु वादीले भने।
“सरकारले घर बनाइदिएको छ । छाप्रोमा बस्दा पटकपटक कष्ट बिताएको स्मरण गर्दै अहिले सुविधा सम्पन्न घरमा बस्दा साच्किै सरकार भएको महशुस भएको छ,' उनले बताए।
३५ वर्षसम्म जंगलमा त्रिपालको सहारामा दिन काट्दै आएका वादी समुदाय अहिले खुसी छन् । गरिवीका कारण त्रिपालले छाएको छाप्रोमा कष्टकर जीवन विताउँदै आएका सन्धिखर्क २ चुत्राबेसीका वादी समुदायलाई सरकारले नयाँ घर बनाइदिएपछि उनीहरु खुशी भएका हुन् ।
चुत्राबेसीमा बस्दै आएका वादी समुदायका ११ घर परिवार र सोहि ठाउँमै सँगै बस्दै आएका दुई दलित समुदाय गरी १३ घरपरिवारलाई लुम्बिनी प्रदेश सरकार र सन्धिखर्क नगरपालिकाले आवासको लागि घर निर्माण गरिदिएपछि उनीहरु खुशी छन् । उनीहरुले देशमा लोकतन्त्र आएका पनि अनुभुति उनीहरुले गरेका छन् ।
तीन दशकपछि आफूहरुले नयाँ जीवन पाएको उनीहरुको भनाइ छ । नयाँ घरमा २ वटा कोठासहित, आँगन र शौचालयको व्यवस्था छ। निर्माण सम्पन्न घरमा बालबालिका महिला पुरुष गरी ५० जना बसोबास गर्दछन् ।
मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमअन्तर्गत ११ लाखमा जग्गा खरिद र जनता आवास कार्यक्रमअनुसार ४३ लाख ६८ हजार खर्चेर १३ वटा घर निर्माण गरिएको हो।
लामो समयदेखप कष्टकर जीवन विताउन बाध्य वादी समुदायको समस्या हल गर्न पाएकोमा आफूलाई निकै खुशी लागेको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले बताए।
मुख्यमन्त्री ग्रामीण विकाश तथा रोजगार कार्यक्रम र जनता आवास दुवै कार्यक्रममार्फत आवासको व्यवस्थापन गरिएको हो । पक्की घर निर्माण गरेपछि उनीहरुलाई सजिलो भएको छ । १३ घरपरिवारलाई सामूहिक रुपमा लालपुर्जा समेत प्रदान गरिएको नगर प्रमुख भुसालको भनाइ छ ।
स्थानीय वडा समिति र नगपालिकाको कार्यपालिकाको बैठकको निर्णय अनुसार वादी समुदायलाई घर बनाएको सन्धिखर्क नगरपालिका २ का वडा अध्यक्ष मोतीजंग रायमाझिले बताए।
सन्धिखर्कमा रहेका बादी समुदायका मानिस ढुंगा, गिट्टी कुटेर, बालुवा चालेर तथा अन्य दैनिक ज्यालादारीका काम गरेर जीवन यापन गरिरहेका छन् । सामुदायिक वनमा त्रिपाललले छाएको छाप्रोमा बसेका उनीहरु अहिले खुशीले गदगद छन्।