रातिराति पोखराको सेती नदी उत्खनन्

रातिराति पोखराको सेती नदी उत्खनन्

पोखरा : सेती नदीको पुरन्चौरस्थित ढोडेनी घाटमा अवैध रूपमा नदी उत्खनन\ गर्ने ५५ वटा सवारी साधन (टिप्पर र ट्याक्टर) लाई कास्की प्रहरीले नियन्त्रणमा लियो। साउन पहिलो साता त्यतिका सवारी साधन रातिको समयमा नदीबाट बालुवा निकाल्दै र ओसार्दै गर्दा प्रहरीले भेटेको थियो।

टिप्पर २२ वटा, मिनी टिप्पर १७ वटा र ट्याक्टर १६ वटा गरी जम्मा ५५ वटा सवारी साधनलाई नियन्त्रणमा लिई प्रहरीले पोखरा महानगरपालिका पठाएको थियो। नदीनालाका घाटको ठेक्कापट्टा लगाउने र संरक्षण गर्ने जिम्मा पालिकाहरुलाई छ। तर त्यसरी रातिराति उत्खनन् गर्न अनुमति भने पोखरा महानगरपालिकाको वडा नम्बर २५ ले गरेको हो। जब कि महानगर आफैंले बाहेक वडाले घाट ठेक्का लगाउन वा जिम्मा दिन पाउँदैन। तर वडाध्यक्ष शोभामोहन पौडेलले भारती भवन माविका लागि आर्थिक स्रोत जुटाउने प्रयोजनका लागि भन्दै दिएको पत्रका आधारमा ढोडेनी घाट उत्खनन भइरहेको हो। 

विद्यालयका लागि भनेर रातिको समयमा ५५/५५ वटा सवारी साधनले नदीमै पुगेर बालुवा निकाल्ने र ओसार्ने गर्नु नियतमै खोट देखेपछि प्रहरीले त्यसलाई रोकेको थियो। त्यसमाथि बर्खाको बेला कुनै पनि घाट चलाउन पाइन्न। यो बेला सरकारले नै घाटहरुको टेन्डर र ठेक्काहरु निकाल्न रोक लगाएको छ। त्यसरी नै नियम विपरीत बर्खाकै बेला र त्यो पनि रातिराति सेती नदी उत्खनन् गरेको प्रमाण प्रहरीले आइतबार फेरि फेला पारेको छ। सेती नदी हेमजा र लामाचौर बीचको घाटमा बालुवा निकाल्दै गर्दा कास्की प्रहरीले आइतबार दुई वटा सवारी साधन नियन्त्रणमा लियो। त्यहाँ बालुवा निकाल्ने काम रातारात भइरहेको भेटिएको हो। 

कास्की प्रहरीको एउटा टोली उक्त घाटमा रातको १ बजे पुगे थियो। त्यहाँ एउटा ट्रक बालुवा भरेर फर्किरहेको भेटियो। अझ नदीसम्मै पुगेर अर्को ट्रकमा बालुवा हाल्दै गरेको पनि भेटिएको थियो। ५ जना युवाहरु नदीबाट धमाधम बेल्चाले बालुवा ट्रकमा भरिरहेका थिए। नियन्त्रणमा लिइएको ट्रकका चालकले एक ट्रक बालुवा निकाले बापत १५ सय रुपैयाँ बुझाउने गरेको प्रहरीलाई सुनाए। उनले स्थानीय रामचन्द्र थापालाई त्यति रकम बुझाएको बताएपछि र थप अनुसन्धानबाट त्यस्तै देखिएपछि प्रहरीले थापालाई पक्रेको छ। त्यसरी ट्रकमा बालुवा भर्न नदीमा ५ जना युवालाई थापाले खटाएको भेटिएको छ। ती युवाहरुलाई एक रात काम गरेको ५ सय रुपैयाँ दिँदा रहेछन्। 
थापालाई त्यसैबारे सोधपुछ गर्न जाँदा प्रहरीलाई उनले अभद्र व्यवहार गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए। अभद्र व्यवहार सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट अनुमति लिई थापालाई हिरासतमा राखिएको हमालले जनाए। 

थापाले रातिराति बालुवा उत्खनन् गर्न लगाएको यो पहिलोपटक होइन। दसक अघिदेखि नै उनले घाटमा एकलौटी कब्जा गरेको स्थानीय बताउँछन्। उनको एकलौटीकै कारण घाटै रामचन्द्र घाटका रुपमा परिचित भइरहेको छ। त्यसो त थापाले घाट आफ्नो निजी जमिन भएको दाबी गर्दै आएको स्थानीयको भनाइ छ। तर थापाले निजी जमिनको बालुवा होइन सीधै सेती नदीको पानीमुनिबाटै बालुवा झिक्न लगाउने गरेका छन्। 

बालुवा झिक्नकै लागि थापाले सेती नदीको स्वरुप पनि फेरबदल गरिदिएका छन्। नदीभित्रै बाँध लगाएर बालुवा थुप्रने ठाउँ बनाएका छन्। दर्जनको संख्यामा त्यस्ता बाँध बनाएर बालुवा थुपार्ने र एकलौटी रुपमा निकाल्दै बेच्दै गरेको भनी उनीविरुद्ध नगरपालिकामा पनि अनेकौं उजुरी हुँदै आएका थिए। 
महानगरपालिकाले यसअघिका वर्षमा थापालाई घाट सञ्चालन नगर्न पत्राचार गर्दै आएको थियो। वडा नम्बर २५ ले पनि पत्राचार गर्दा पनि उनले अटेर गर्दै आएका थिए। यसअघि धेरैपटक प्रहरीले उनीमार्फत खटिएका व्यक्तिहरुले अवैध रुपमा उत्खनन् गर्दागर्दा फेला पारेको हुन्थ्यो। तर फेरि उनको धन्दा निरन्तर चल्दै आएको थियो। एकजना स्थानीय भन्छन्, ‘प्रहरीले एक ट्रक बालुवा समात्यो भने बदलामा २ ट्रक सित्तैमा दिन्छु भनेर रातिराति निकालेर लैजान दिने गरेका हुन्।’ 

हालै कास्की प्रहरी प्रमुख भएर आएका एसपी रमेश थापाले भने घाटहरु नखुलेका बेला अवैध उत्खनन् गर्नेविरुद्ध अभियानै चलाएका छन्। अघिल्लो सातामात्रै सेती नदीकै पुरन्चौरको ढोडेनी घाटमा रातिराति बालुवा निकालिरहेका ५५ वटा ट्रक तथा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको थियो। 
टिप्पर २२ वटा, मिनी टिप्पर १७ वटा र ट्याक्टर १६ वटा गरी जम्मा ५५ वटा सवारी साधनहरूलाई नियन्त्रणमा लिई जरिवानाका लागि प्रहरीले महानगरपालिका पठाएको थियो। ती गाडीधनीले नगरपालिकालाई कम्तीमा १० हजार रुपैयाँ जरिवाना तिरेका थिए। 

पुरुन्चौरको ढोडेनी घाट पनि अवैध रुपमा उत्खनन् भइरहेको थियो। भारती भवन माविका लागि स्रोत जुटाउने भनेर पोखरा १९ वडा कार्यालयले दिएको एउटा पत्रका भरमा त्यहाँ उत्खनन् भएको थियो। पोखरा महानगरपालिकाका सूचना अधिकारी भरत पौडेल महानगरपालिका बाहेक कसैले पनि घाटको जिम्मा दिन सक्दैन। त्यो अधिकार वडालाई पनि छैन। तर वडा नम्बर १९ ले भने त्यसरी स्कुललाई भनेर घाटबाट बालुवा निकाल्न दिएको थियो। त्यो पनि रातिराति बालुवा निकालिएको थियो। त्यसमा पनि नदीमै ५ दर्जन सवारी साधन लगिएको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.