नुवाकोटमा ५८ हजारले लगाए कोरोना विरुद्धको खोप
नुवाकोट : महामारीको रुपमा रहेको कोभिड–१९ को नियन्त्रणका लागि नुवाकोटमा हजारौंले कोरोना विरद्धको खोप लगाएका छन्। कोरोना भाइरस विरुद्वको खोप जिल्लामा विभिन्न स्वास्थ्य केन्द्रहरुमार्फत सर्वसाधारणलाई लगाउने काम भइरहेको छ।
कोरोनाको जोखिम उच्च हुँदै गइरहेको बेलामा सरकारले तोकेको उमेर समूहभन्दा बाहेकका नागरिकहरुको समेत खोप लगाउने पाइने आशमा खोप केन्द्रहरुमा भीड लागिरहेको छ। पहिलो मात्रा लगाएर खोपको दोश्रो मात्रा लगाउनेहरु निकै रहेका छन्।
गत वर्षको माघ १४ गतेबाट १२ स्थानीय तह रहेको नुवाकोटमा खोप अभियान सुरु भएको थियो। पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाईकर्मी, एम्बुलेन्स चालक लगायत कोरोना विरुद्धको अभियानमा अग्रपंक्तिमा काम गर्नेहरुलाई कोभिसिल्ड खोप दिइएको थियो।
हालसम्म नुवाकोटका ५८ हजार सातसय ४८ जनाले विभिन्न खोपको पहिलो मात्रा खोप लगाउन पाएका छन्। हालसम्म नुवाकोटमा भेरोसिल खोपको पहिलो मात्रा २५ हजार एकसय ९५ जनाले लगाएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ।
नुवाकोटमा कोभिसिल्डको पहिलो मात्रा २२ हजार ५५ जनाले लगाएको स्वास्थ्य कार्यालय नुवाकोटका खोपअधिकृत राजाराम कार्कीले जानकारी दिए। उनका अनुसार कोभिसिल्डको दोस्रो डोज चार हजार दुई सय ४३ जनाले लगाएका छन्।
भेरोसिलको दोस्रो मात्रा ८ हजार ६ सय १० जनाले लगाएका छन्। नुवाकोटमा कोभिसिल्डको पहिलो मात्रा लगाएका १७ हजार आठसय १२ जना र भेरोशिलको पहिलो मात्रा लगाएका १८ हजार तीनसय ८५ जनाले दोश्रो मात्रा लगाउनै बाँकी रहेको छ।
कोभिसिल्ड र भेरोशेल दुबै गरी ३६ हजार एकसय ९७ जनाले लगाउन बाँकी रहेको खोप अधिकृत राजाराम कार्कीको भनाइ छ। उनका अनुसार हालसम्म एउटामात्र मात्रा लगाए हुने जोन्सन एण्ड जोन्सनको खोप ११ हजार चारसय ९८ जनाले लगाएका छन्।
भेरोसिल खोपको दोस्रो डोज पनि पहिलो लगाउने सबैले लगाउन पाउने सुनिश्चित जस्तै भए पनि कोभिसिल्ड लगाएकाहरुले दोस्रो डोज खोप लगाउन पाएका छैनन्। सरकारले खोप आपूर्ति गर्न नसक्दा कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएर दोस्रो मात्रा कुरिरहेका १७ हजार ८ सय १२ जनाले कहिले खोप पाउँछन् अझै सुनिश्चित भएको छैन।
यद्यपि भदौको पहिलो सातामा खोप लगाउने तयारी भएको खोप अधिकृत कार्कीको भनाइ छ। कोभिसिल्डको पहिलो मात्र कोरोना विरुद्धको अभियानमा अग्रपंक्तिमा काम गर्ने र ज्येष्ठ नागरिकहरुलाई लगाइएको थियो। कोभिसिल्डको दोस्रो मात्रा खोप लगाउने अवधि घर्किसक्दा पनि सरकारले खोपको व्यवस्था गर्न सकेको छैन।
एकमात्रा मात्र लगाए हुने जोन्सन एण्ड जोन्सन कम्पनीको अमेरिकी खोप नुवाकोटमा पनि लगाइएको छ। पछिल्लो समय कोरोना जोखिम बढ्दै गएको र खोपप्रतिको जनमासनसमा विस्वसनियता बढ्दै गएको कारण खोप लगाउन आउनेको भीड बढेको स्वास्थ्यकर्मीहरु बताउँछन्। सरकारले ज्येष्ठ नागरिकहरुबाट खोप लगाउन सुरु गरेको थियो।
सोही अनुसार उमेर घटाउँदै खोप अभियान विस्तार गर्दै आएअनुसार हाल ५०–५४ वर्ष उमेर समूहसम्म खोप लगाइएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ। कोरोनाको पहिलो चरणमा भन्दा दोश्रो चरणमा कोरोना विरुद्धको खोप लगाउनेहरु धेरै रहेको स्वास्थ्य कार्यालयका प्रमुख सागरप्रसाद घिमिरेले बताए।
यसैबीच नुवाकोटमा कोरोनाको सक्रिय संक्रमितको संख्या फेरि ६ सय नाघेको छ। स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा ४२ महिलासहित ८९ जना कोरोना संक्रमित थपिएसँगै सक्रिय कोरोना संक्रमितको संख्या बढ्न गएको हो।
कार्यालयका सूचना अधिकारी उत्तमराज खनालका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा एकसय ५१ जनाको आरटिपिसिआर र २६ जनाको एन्टिजेन परीक्षण गर्दा ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सबैभन्दा बढी विदुर नगरपालिकामा संक्रमित थपिएका हुन्।
विदुर नपामा १८ महिलासहित ३५ जना, लिखु गापामा १० महिलासहित २४ जना, किस्पाङमा ६ महिलासहित ११ जना, बेलकोटगढीमा पाँच महिलासहित ९ जना, शिवपुरीमा दुई महिलासहित ६ जना, सूर्यगढीमा दुई जना, म्यागङ र तारकेश्वरमा एक-एक जना नयाँ संक्रमित थपिएका छन्। यससँगै नुवाकोटमा कोरोना संक्रमितको कुल संख्या ७ हजार १ सय ९८ जना पुगेको छ।
यस्तै जिल्लामा रहेका सक्रिय कोरोना संक्रमित ६ सय १७ जना मध्ये ५ सय ६२ जना होम आइसोलेसनमा, १९ जना आइसोलेसन सेन्टरमा र ३६ जना अस्पतालमा उपचाररत रहेका छन्। नुवाकोटमा त्रिशूली अस्पतालमा ९०, खरानीटार अस्पतालमा ३० र विभिन्न आइसोलेसन सेन्टरमा दुई सय ६८ थान वेड संख्या रहेको छ।
यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा ३३ जना कोरोना संक्रमित कोरोनामुक्त भएका छन्। यससँगै जिल्लामा कोरोनामुक्त हुनेको संख्या ६ हजार ५ सय ३९ जना पुगेको छ। नुवाकोटमा हालसम्म कोरोना संक्रमणबाट मृत्य हुनेको संख्या ४२ जना पुगेको छ। जसमध्ये ४१ जनाको मात्रा कोरोनाको दोश्रो लहरबाट ज्यान गएको हो।
नुवाकोटमा सोमबारसम्म सक्रिय संक्रमितमध्ये दुई सय ९१ जना महिला रहेका छन्। हालसम्म जिल्लामा २४ हजार ३ सय ९८ जनाको आरटिपिसिआर परीक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जानकारी दिएको छ।
रसुवामा १५ हजारले लगाए खोप
नुवाकोटको छिमेकी रसुवामा कोरोना भाइरसको जोखिम पुन बढ्न थालेको बेलामा खोप कार्यक्रमलाई पनि तीव्रता दिइएको छ। रसुवामा १५ हजार जनाभन्दा बढीले पहिलोमात्रा खोप लगाइसकेका छन्।
पाँच गाउँपालिका रहेको हिमाली रसुवामा कोरोना भाइरस विरुद्वको खोप लगाउन योग्य उमेर समुदायमध्ये ६८ प्रतिशतभन्दा धेरैले खोप लगाएको स्वास्थ्य कार्यालय रसुवाले जनाएको छ। रसुवाामा १४ हजार जनाले भेरोशेल खोप लगाइएको छ।
अमेरिकी खोप (जोन्सन एण्ड जोन्सन) १ हजार १९ जना लगाएका छन्। रसुवाको जनसंख्या ४४ हजार ९ सय ६६ रहेको छ। जसमा १८ वर्षमाथिको २९ हजार १ सय ६ जनालाई खोप लगाउनु पर्नेमा १९ हजार ९ सय ४ जनाले खोप प्राप्त गरेको स्वास्थ्य कार्यालयका खोप कार्यक्रमका फोकल पर्सन पदमराज कैनीले जनाए। उनका अनुसार रसुवामा ३ हजार २ सय ८० जनाले कोभिसिल्डको पहिलो खोप लगाएका छन्।
उनीहरुले दोस्रो नपाएको लामो समय पछि अब एक हप्तामा खोप पाउने भएका छन्। रसुवाको खोप लगाएको जिल्लाको जनसंख्याको आधारमा बागमती प्रदेशमै पहिलो भएको स्वास्थ्य कार्यालयको भनाइ छ।
स्वास्थ्य कार्यालय रसुवाका अनुसार गत फागुनमा कोरोना भाइरस विरुद्धको खोप कोभिसिल्ड पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकहरूले अझै दोस्रो डोज खोप पाउन पाएका छैनन्। ६५ वर्षमाथिका २ हजार १ सय ज्येष्ठ नागरिक कोभिसिल्डको दोस्रो खोप पाउन ढिला भएको हो।
आठ हप्तादेखि १२ हप्तासम्ममा सो खोप लगाइसक्नुपर्ने भनिएको थियो। तर, कोभिसिल्ड खोप लगाएको २३ हप्ता पूरा भए पनि खोप नपाएका जेष्ठ नागरिकहरुको गुनासो रहेको छ।
रसुवाको गोसाइकुण्डमा ६ हजार ७०७ जना, आमाछोदिङमा ३ हजार ४ सय जनाले खोप लगाएका छन्। कालिका गाउँपालिकामा भने ३ हजार ५९८ जना, नौकुण्डमा ७ हजार बढीले खोप लगाउनुपर्नेमा धेरैले खोप लगाएका छैनन्।
पहिले केहीलाई खोपका कारण ज्वरो आएकोले खोप लगाउन नआउने र त्यहाँबाट खोप फिर्ताभएपछि अन्यत्र पठाएर लगाइएको छ। नौकुण्डमा हालसम्म २ हजार जनाले मात्र पहिलो मात्रा खोप लगाएका छन्।
उत्तरगया गाउँपालिकामा २ हजार ९ सय ४९ जनाले खोप लगाएका छन्। नौकुण्ड, कालिका र उत्तरगया गाउँपालिकामा खोप पाउन बाँकी रहेको छ।
चिनसँग सिमाना जोडिएको गोसाइकुण्ड र आमाछोदिङमो गाउँपालिकामा भने १८ वर्ष माथिका सबैले खोप प्राप्त गरेका छन्। स्वास्थ्य कार्यालय रसुवाका प्रमुख वसन्त चालिसेले विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारी, नेपाल सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी सबै व्यक्तिहरू र खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकलाई दिइने योजना रहेको बताए।