संस्कारमा पश्चिमा प्रभाव

संस्कारमा पश्चिमा प्रभाव

घटना १ : चितवनकी सुजिता भण्डारी केही दिनअगाडि मृत अवस्थामा फेला परिन्। हत्या वा आत्महत्या के हो भन्ने विषयमा अनुसन्धान गर्दै जाँदा प्रहरीले काकाका छोरासँग प्रेम सम्बन्धमा रहेको पत्ता लगायो। हाडनातामा चलेको प्रेमप्रसंगले एकोहोरिएकी उनी दाइले विवाह गर्न इन्कार गरेका कारण आत्महत्या गर्न पुगेको प्रारम्भिक तथ्य प्रहरीले सार्वजनिक गरेको छ। केही समय काठमाडौंमा प्रेमी दाइसँगै बसेकी सुजितालाई हाडनातामा वैवाहिक सम्बन्ध गाँस्न नहुने नैतिक मान्यताले सुसूचित गर्न नसकेकैले घटना हुन पुगेको देखिन्छ।

घटना २ : केही समयअगाडि काठमाडौंको सिभिल अस्पतालमा काम गर्ने चिकित्सकले बाबुआमालाई बेवारिसे बनाएर उनीहरूको श्रीसम्पत्ति कब्जा गरेको समाचार सार्वजनिक भयो। डाक्टर छोराले बाबुलाई हातपातसमेत गरेको कुरा पत्रकार सम्मेलन गरेरै सार्वजनिक गरिएको थियो। आमाबाबुको पीडा र चित्कारले त्यतिखेर सबैलाई झसंग पारेको थियो। शिक्षाले आत्मनिर्भर बनाए पनि मानवीय भावना र आमाबाबुप्रतिको दायित्वबोध गराउन नसकेको यथार्थ उक्त घटनाबाट छर्लं भयो।

घटना ३ : जनकपुरमा छोरीलाई बलात्कार गर्ने बाबुलाई पक्राउ गरी केही दिनअघि प्रहरीले सार्वजनिक गरेको थियो। सौतेलो बुबाले छोरीलाई बलात्कारपछि कुटपिट गरी घाइते पारेका थिए। अहिले उनी सोही कसुरमा बन्दी जीवन व्यतित गरिरेका छन्।

माथि उल्लेख गरेका प्रतिनिधि घटनाले हाम्रो सामाजिक मूल्य र मान्यताको स्खलनलाई प्रतिनिधित्व मात्र गरेका छैनन्, आगामी दिनमा सामाजिक रीतिस्थिति र मान्यतामा हुने विचलनले अझै गम्भीर किसिमका समस्याहरू सिर्जना हुने कुरासमेत संकेत गरेका छन्। अहिलेको अवस्थामा आधुनिकताका नाममा पश्चिमीकरण तर्फको आकर्षणले पारिवारिक सम्बन्धका सम्पूर्ण तन्तु कमजोर हुँदै गएका छन्। फलतः आर्थिक लाभलाई प्रधानता दिई सामाजिक मूल्य, मान्यता र पारिवारिक प्रतिष्ठालाई तिलाञ्जलि दिने मानिसको संख्या दिनानुदिन बढ्दै गएको देखिन्छ। विश्व पुँजीवादको विस्तारसँगै संयुक्त परिवारबाट एकल परिवारतर्फ रूपान्तरण हुँदै गरेको छ। समाजमा परम्परागत मूल्यमान्यतालाई रुढीवादी प्रचलनका रूपमा चित्रण गर्ने परिपाटीसमेत छ।

आधुनिकताका नाममा पश्चिमाहरूले प्रचलनमा ल्याएका विकृतिलाई समेत आत्मसात् गर्ने स्वभाव नेपाली युवामा छ। यस्तो मानसिकताले वर्तमानमा सामाजिक सन्तुलन बिग्रँदै गएको छ। आगामी दिन अझै भयाभय हुने अभिलक्षण देखिन थालेका छन्। आफ्नो घरपरिवार र अभिभावकप्रतिको दायित्व नबुझेका र नबुझाइएका कारण यसरी विदेसिएका विद्यार्थी स्वदेश फर्कनभन्दा उतै पलायन हुँदै जाने गरेका छन्। वृद्धवृद्धा घर तथा समाजको इज्जत प्रतिष्ठाका रूपमा रहने गरेको नेपाली समाजमा अहिले उनीहरू अनावश्यक बोझका रूपमा देखिन थालेका छन्। बालबालिकाको शिक्षामा जोड दिने आजको पुस्ता बालबालिकालाई संस्कार सिकाउने विषयमा सधैं चुक्दै गएको छ। यसैले कससँग कस्तो सम्बन्ध हुनुपर्छ भन्ने विषयमा बालबालिका अन्योलमा छन्। पूर्वीय परम्परामा बालबालिकालाई पाँच वर्षसम्म निःसर्त स्याहारसुसार गर्ने, १५ वर्षसम्म अनुशासन र नियममा बस्न सिकाउने र १६ वर्ष पुगेपछि साथीको जस्तै व्यवहार गर्ने कुरालाई प्रस्ट्याइएको छ।

आधुनिकताका नाममा पश्चिमाले प्रचलनमा ल्याएका विकृतिलाई आत्मसात् गर्ने स्वभाव नेपाली युवामा छ। यस्तो मानसिकताले वर्तमानमा सामाजिक सन्तुलन बिग्रँदै गएको छ।

बाल्यकालबाटै अनुशासन र गर्न हुने नहुने कामका बारेमा राम्ररी सिकाउन नसक्ने हो भने आगामी पुस्तामा पशुवत् वृत्ति हावी भई आहार, निद्रा र मैथुनमा स्वच्छन्द र विकृत बन्नेछन्। हाम्रा नातासम्बन्ध र समाजमा गर्न हुने नहुने कामका बारेमा बालबालिकालाई शैशवकालबाटै उचित रूपमा प्रशिक्षित गर्न नसक्ने हो भने सुजिता भण्डारीका जस्ता घटना हरेक घर, टोलमा बढ्दै जानेछन्। बालबालिकालाई उपयुक्त किसिमले सुसंस्कृत बनाउन सक्ने हो भने हत्या, बलात्कार र हाडनातामा हुने अनैतिक सम्बन्धहरूमा नियन्त्रण आउँछ। कलिला बालबालिकालाई संस्कारका बारेमा राम्रो किसिमले सुसूचित गर्ने हो। सुजिता भण्डारीका जस्ता घटना आगामी दिनमा घट्ने छैनन्। दुव्र्यसनमा लागेर आफ्नै छोरीबहिनीलाई बलात्कार गर्नेजस्ता जघन्य घटना घट्ने सम्भावना कम हुन्छ।

व्यक्तिगत स्वतन्त्रतालाई महत्व दिएको अमेरिकामा विवाह र सम्बन्ध–विच्छेदलाई सामान्य घटना मानिन्छ। तर स्वतन्त्रताभित्रको सामाजिक विकृति र स्वच्छन्दता भने निकै कहालीलाग्दो छ। आमाबाबुले दोस्रो विवाह गरिसकेपछि छोराछोरीमाथि यौनजन्य दुव्र्यवहारका घटनाहरू अमेरिकामा निकै बढी छन्। अमेरिकी स्वास्थ्य र मानव सेवा विभागका अनुसार त्यहाँ हरेक नौ किशोरीमध्ये एक जना र ५३ किशोरमध्ये एक जना यौनजन्य दुव्र्यवहारमा परेका हुन्छन्। बलात्कार र जबर्जस्ती करणीका घटनामध्ये ३४ प्रतिशत आफन्त र घरभित्रबाटै हुने गरेको तथ्यांक अमेरिकी स्वास्थ्य तथा मानव संसाधन विकास विभागले प्रकाशन गरेको छ। त्यसो त नेपालमा बालविवाहको भयावह अवस्थाको चित्रण गरेर अनेकौं प्रोफाइलहरू बनाउने एनजीओ आईएनजीओहरूको संख्या निकै बढी छ। जनकपुरका बाबुले छोरीमाथि गरेको कुकृत्यको कारक तत्व पनि अमेरिकाको जस्तै पारिवारिक विखण्डनले निम्त्याएको विकृति हो।

नातेदारका बिचमा सम्बन्ध राख्न नहुने भन्ने बारेमा प्रष्ट सीमांकन छ। परपुरुष र परस्त्री गमनलाई निरुत्साहित गर्ने नेपाली मौलिक संस्कृतिमा स्खलनमा पर्न थालेको छ। जसले दिनानुदिन पारिवारिक विखण्डन र सामाजिक, नैतिक मर्यादा उल्लंघनका घटनाहरू बढ्दै गएका देखिन्छन्। वर्तमान पुस्ता आधुनिक बन्ने नाममा पश्चिमा संस्कृति र पश्चिमा परम्पराको अनुसरण गरिरहेछ। सन्तानलाई नेपाली मौलिक संस्कृति र परम्पराका बारेमा सुसूचित गर्न नसक्ने हो भने आगामी दिनमा सामाजिक सम्बन्धको जालो च्यातिन सक्छ। बालबालिकालाई परम्परा र नाता–सम्बन्धका बारेमा सुसूचित गरी असल संस्कारहरू हस्तान्तरण गर्ने दिशामा अभिभावक जिम्मेवार हुनुपर्छ। संस्कार हस्तान्तरणको परम्परालाई महत्व नदिने हो भने आगामी दिनमा नेपाली समाज र सांस्कृतिक सम्बन्धका हरेक क्षेत्रमा विकृतिले प्रश्रय पाउनेछन्। योगी नरहरिनाथले भनेजस्तै शिक्षा र संस्कारलाई सुधार गर्ने र संरक्षण गर्ने काममा सरकार, अभिभावक र सचेत नागरिक जागरुक हुनैपर्ने अवस्था आएको छ। अझै पनि हामीमा सचेतना नआउने हो भने माथि उल्लेख गरेका प्रतिनिधि घटना भोलिका दिनमा दालभातजस्तै सस्ता र सामान्य हुनेछन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.