अर्घाखाँची अस्पतालमा अक्सिजन उत्पादन सुरु

अर्घाखाँची अस्पतालमा अक्सिजन उत्पादन सुरु

सन्धिखर्क : अर्घाखाँची अस्पतालमा निर्माण भएको ‘अक्सिजन प्लान्ट’ मा अक्सिजन उत्पादन सुरु भएको छ। सन्धिखर्क नगरपालिका–१ मा रहेको अर्घाखाँची अस्पताल परिसरमै निर्माण भएको ‘अक्सिजन प्लान्ट’ मा अक्सिजन उत्पादन सुरु भएको  हो । यससँगै कोराना संक्रमितको उपचारमा  सहज भएको छ । यसअघि रुपन्देहीको बुटबलमा सिलिण्डर पुराएर भरेर ल्याउनु बाध्यता रहेको थियो । अब त्यो बाध्यता र अक्सिजन अभावले बिरामीले मृत्यु वरण गर्नु पर्ने बाध्यता टरेको छ । 

प्लान्टले २४ घन्टामा ७० वटा ठूला सिलिण्डर भर्ने छ । प्लान्ट निर्माणका लागि संघीय सरकारले अर्घाखाँची अस्पताललाई एक करोड ५० लाख रकम विनियोजन गरेको थियो । प्रविधि इन्टरनेशनलले प्रतिस्पर्धामार्फत ९४ लाखमा प्लान्ट निर्माणको जिम्मा लिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कपिल गौतमले गौतमले बताए  ।

अर्घाखाँची जिल्लामा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ३७ सय ४८ पुगेको छ । २९ सय १५ जनाले कोरोनालाई जितेका छन । अहिले  जिल्लाभरमा ७ सय ५४ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।  कोरोना संक्रमणका कारण हालसम्म ७९ जनाको ज्यान गएको छ ।

गत बैसाख–जेठमा कोरोनाको दोश्रो लहर चलिरहँदा अक्सिजनको चरम अभाव हुँदा उपचारमा निकै समस्या आएको थियो । तेश्रो लहरमा भने जिल्लामा अब अक्सिनको अभाव नहुने अस्पताल विकास समितिका अध्यक्ष श्रीकृष्ण भुसालले बताए । अब विरामीलाई उपचारका लागि बुटबल र काठमाण्डौ  रिफर गर्नुपर्ने बाध्यतामा  पनि कमी आउने छ । 

विद्युत् नियमित नहुँदा अस्पतालले जेनेरेटरको सहायताले अक्सिजन उत्पादन गरिरहेको छ । विद्युत् हुँदा त्यसैबाट उत्पादन गरे पनि विद्युत् नहुँदा भने जेनेरेटरको सहायताले अक्सिजन उत्पादन भइरहेको छ । अक्सिजन उत्पादनका लागि नियमित विद्युत् आपूर्तिको पहल भइरहेको अस्पतालले जनाएको छ ।

श्रावण १६ गते देखि भएको निषेधाज्ञाको प्रभावले अर्घाखाँची जिल्ला सुनसान जस्तै भएको छ । जिल्लामा कोरोना भाइरसका संक्रमितको संख्यामा वृद्धि हुँदै गएपछि  सर्वपक्षिय सहितको कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले निषेधाज्ञा लागू गर्ने निर्णय गरेको थियो । 

‘अक्सिजन प्लान्ट’ औपचारिक शुभारम्भ कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनाल, प्रहरी निरीक्षक गणेश खनाल, शसस्त्र प्रहरी निरीक्षक मणी पल्ली मगर, पत्रकार महासंघका प्रदेश सदस्य प्रेमनारायण आचार्यलगायतको उपस्थिति रहेको थियो ।

दैनिक उपभोग्य वस्तु खाद्यान्न, तरकारी तथा फलफूल, दूध डेरी, मासु पसल, कृषिजन्य पसल बिहान ६ बजेदेखि बिहान ९ बजेसम्म मात्र खोल्न दिइएको छ । औषधि पसल, क्लिनिक, डेन्टल क्लिनिक २४ सै घण्टा खुल्नेछन् । 

निषेधाज्ञा अवधिभर बैंक तथा वित्तिय संस्था बिहान ९ बजेसम्म खुल्ला रहने भएका छन् । सभा–सम्मेलन, गोष्ठी, भोजभतेर गर्न पाइने छैन भने लोकसेवा आयोग, त्रिभुवन विश्वविद्यालय, राष्ट्रिय परीक्षा बोर्ड, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्लगायत निकायका पूर्वनिर्धारित परीक्षा भने सञ्चालन हुनेछन् । मानिस अतिआवश्यक काम परे मात्र घर बाहिर निस्केका छन् । 

श्रावण ३० गते राति १२ बजेसम्म लागु गरिएको निषेधाज्ञाको समयमा कोहि कसैले पनि अटेरी गरे कडाभन्दा कडा कारबाही गर्ने जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले बताए । निषेधाज्ञाको पुर्णरुपमा पालना गर्न र जिल्ला कोरोनाको अती उच्च जोखिममा रहेकाले नियमको पुर्ण पालना गर्दै स्वास्थ्य मापदण्ड अपनाउन कार्यालयले आग्रह गरेको छ ।

अर्घाखाँचीमा १८ वर्षभन्दा माथिका नागरिकहरु १ लाख १४ हजार ७ सय ५ जना रहेका छन् । ती मध्ये अहिलेसम्म ३६ हजार ७ सय १७ जनाले कोरोना विरुद्धको भ्याक्सिन लगाएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका खोप प्रमुख राधाराम आचार्यले बताए ।  ती मध्ये कोभिशिल्ड पहिलो मात्रा १२ हजार ९ सय ३४ जनाले लगाए भने ३ हजार ८ सय ९ जनाले दोस्रो मात्रा लगाई सकेका छन् । 

यस्तै भेरोसेल १४ हजार ६ सय ३३ जनाले पहिलो मात्रा खोप लगाईसकेका छन् भने ३ हजार १ सय ३२ जनाले दोस्रो खोप पनि लगाएका छन् । ११ हजार ५ सय १ जनाले दोस्रो मात्राको खोप लगाउन बाँकी रहेको छ । 

उनीहरुले २८ र २९ गते खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी विजय बरालले बताए । यस्तै जोन्सन एण्ड जोन्सनको पहिलो मात्रा खोप ९ हजार ५ सय ५० जनाले लगाएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.