नभत्किउन् ऐतिहासिक धरोहर
पहिलो एसियाली नोबेल पुरस्कार विजेता, कवि एवं कलाकार रवीन्द्रनाथ टेगोरको पुख्र्यौली घर कोलकातामा संरक्षित छ। विश्वचर्चित नाटककार विलियम सेक्सपियर, प्रभावशाली लेखक चाल्र्स डिकेन्सलगायत प्रख्यात साहित्यकार जन्मिएका घरको अझै अवलोकन र अध्ययन गर्न सकिन्छ, सबै सुरक्षित छन्। उनीहरूको बाल्यकालदेखि जीवन अन्त्यसम्मको हरेक अवस्थालाई ती घरमा संग्रहित गरिएकाले अनुसन्धान र अवलोकन गर्ने ती स्थान महत्वपूर्ण छन्। १७औं शताब्दीमा निर्माण गरिएको बेलायती लेखक जेन अस्टिनको घर संग्रहालयको रूपमा संरक्षण हुँदा यो अनुसन्धान केन्द्रसँगै राष्ट्रको महत्वपूर्ण सम्पत्ति बनेको छ। यस्ता विश्वचर्चित व्यक्तिहरूको घर संरक्षणले विश्वका लाखौं करोडौं मानिसको ध्यान आकर्षण गर्छ भने ती व्यक्तिले पुर्याएको योगदानको पनि सम्मान हुन्छ।
तर, बिडम्वना नेपालमा भने विश्वचर्चित साहित्यकार महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर अर्थात् कविकुञ्जमा डोजर चलाइएको छ। नेपाल प्रज्ञा–प्रतिष्ठानले संग्रहालय बनाउने नाममा देवकोटाको ऐतिहासिक घर भत्काएको हो। अब मैतीदेवी मन्दिरनजिकै शास्त्रीमार्ग टोलमा रहेको महाकविको ‘सग्लो’ इतिहास नामेट भएको छ। महाकविले कलम चलाएका कोठा, स्पर्श गरेका भित्ता, बसेका कुर्सी उनकै माया पाएका दलिन र बार्दलीहरू टुक्रिएका छन्। अब यी सबै डोजरको बलले इतिहासमा सीमित बनाएको छ। देवकोटालाई नजिकबाट अनुभूत गराउने एउटा ‘जीवित’ इतिहासलाई ढालिएको छ। साहित्यकारका ‘तीर्थस्थल’मा डोजर चलाएर धुलो उडाइएको छ। जुन काम साहित्यकार र अन्य नागरिकलाई मात्रै होइन, देवकोटाका परिवारलाई पनि मन परेको छैन।
देवकोटाको निधन भएको ६२ वर्ष भयो। यो समयसम्म ठडिएको कविकुञ्जले अहिले प्रतिष्ठानलाई अल्झायो। इतिहास बोकेको संरचनाकै परिवर्तन गर्ने मानसिकता बनायो। प्रतिष्ठानको उद्देश्यमध्ये एक हो, भाषा र साहित्यका विद्वान् एवं प्रतिभाहरूको सम्मान गर्ने। तर, यो निर्णयले देवकोटाको सम्मान पटक्कै गर्दैन। प्रतिष्ठानले आफ्नै उद्देश्य पनि कुल्चिएको छ। इतिहास बोकेको घर भत्काएर संग्रहालय बनाउने निर्णय ‘ओछ्यान खनेर रछ्यान पुर्नु’सरह भएको संरक्षणविद्, साहित्यकार, संस्कृतिविद् र वास्तुविद्ले प्रतिक्रिया दिइरहेका छन्। प्रतिष्ठानले घर जलाएर खरानी संरक्षण गर्न लागेको आरोप कम छैन।
प्रज्ञाको नियत सही होला तर प्रक्रिया गलत नै हो। यो घरलाई संरक्षण गर्दै संग्रहालय बनाउने विकल्प धेरै थिए। निकै पुराना र जीर्ण संरचना रेट्रोफिटका माध्यमबाट पुनर्निर्माण भएका छन्। पाटन दरबार, सिंहदरबार, गोरखा दरबार पनि यही प्रक्रियाले पुनर्निर्माण भएका हुन्। देवकोटाको घर कच्चा थिएन। २०७२ सालको भूकम्पमा पनि जोगिएको थियो। करोडौं खर्चिएर बनेका सिमेन्टेड संरचना गर्लम्म ढल्दा कविकुञ्ज जिउँदो उभिएको थियो। नरदेवीनजिकै कवि चित्तधर हृदयको घर कविकुञ्जभन्दा कमजोर र जीर्ण अवस्थामा थियो। त्यसलाई पनि रेट्रोफिट गरेर जस्ताको तस्तै निर्माण गरिएको छ। यस्ता धेरै उदाहरण हुँदाहुँदै पनि कविकुञ्जमा डोजर चल्नु सकारात्मक र सही निर्णय होइन। आममानिसको बुझाइ पनि यही छ।
केही वर्षअघि यो घर सरकारको स्वामित्वमा आएको हो। कविकुञ्जलाई जस्ताको तस्तै संरक्षण गर्ने सरकारले बताएको पनि हो। तर, बोलीभन्दा काम फरक भयो। यसरी बोली र काम फरक हुँदै गए यस्ता ऐतिहासिक सम्पदामा आगामी दिनमा पनि डोजर नचल्ला भन्न सकिँदैन। यस विषयमा सरोकारवाला निकाय समयमा सचेत बन्नुपर्छ। कविकुञ्जमा जे नहुनु त्यो भयो। अब यस्तो गल्ती प्रज्ञाप्रतिष्ठानले नदोहोर्योओस्। प्रतिष्ठानमा संसार बुझेका प्राज्ञ छन्। उनीहरूले आफ्नो कौशलता सही ठाउँमा सही रूपमा प्रयोग गर्नुपर्छ। इतिहास बोकेका धरोहरका विषयमा निर्णय गर्दा सयौं पटक सोच्ने र छलफल गरेर निष्कर्ष निकाल्ने बानीको विकास प्रज्ञाप्रतिष्ठानमा होस्।