युवाको काँध

युवाको काँध

नेपाली युवा अवसर र कामको खोजीमा ४० देखि ५० लाखको संख्यामा विदेसिएका छन् 


युवा राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक परिवर्तन र रूपान्तरणका अग्रदूत हुन्। परिवर्तनका संवाहक अनि वर्तमानका साझेदार शक्ति पनि। नेपालको कुल जनसंख्याको ठूलो हिस्सा ओगटेका युवामा सिक्ने क्षमता, साहस, श्रृजनशिलता एवं आत्मविश्वास प्रचुर मात्रामा रहेको कुरा नकार्न सकिँदैन। तर युवालाई परिचालन गर्ने राज्यको स्पष्ट कार्यनीति र कार्यक्रमको अभावमा युवा वैदेशिक रोजगारीका लागि खाडी लगायतका तेस्रो मुलुक जान विवश छन्। देशको हरेक महत्वपूर्ण परिवर्तनमा आधारशीलाको भूमिका निर्वाह गरेका युवाको सर्वांगीण विकासमा राज्य जिम्मेवार हुन सकेको छैन।

राष्ट्रिय जनगणना २०६८ अनुसार, १६–४० वर्षसम्मका कुल युवा जनसंख्या एक करोड ६ लाख ८९ हजार आठ सय ४२ अर्थात् ४०.३ प्रतिशत छ। नेपालको कुल युवा जनसंख्याको ५४.५ प्रतिशत महिला र ४५.८ प्रतिशत पुरुष छन्। युवाको सवाल सम्बोधन गर्न राष्ट्रिय युवा नीति ११ फागुन २०६६ मा नेपाल सरकारद्वारा जारी गरी २०७२ मा पहिलो संशोधनसमेत भएको छ। युवा नीतिको कार्यान्वयनको सन्दर्भमा मन्त्रालयले युथ भिजन २०२५ सहित १० वर्षे रणनीतिक योजनासमेत निर्माण गरेको छ। सर्सर्ती हेर्दा हामी माझ युवा नीति, योजना र कार्यक्रम सबै छ। केन्द्रीय स्तरमा युवा तथा खेलकुद मन्त्रालय तथा राष्ट्रिय युवा परिषद्् समेत छ। प्रदेशस्तरमा पनि युवा परिषद्् गठनको तयारी हँुदैछ। जिल्ला युवा परिषद् पनि गठन भएको छ। सरकारको बजेट तथा कार्यक्रममा युवाका विषय समेटिएको छ। तर युवालाई उत्पादनशील क्षेत्रमा परिचालन गर्न नसक्दा अवसरको अभावमा लाखौं युवा भौतारिइरहेका छन्।

नेपाली युवा अवसर र कामको खोजीमा ४० देखि ५० लाख विदेशिएका छन्। जसमध्ये १६ देखि ३५ वर्ष उमेर समूहका युवा शक्ति छन्। आईएलओको तथ्यांकअनुसार नेपालमा युवा बेरोजगारी दर १९.२ प्रतिशत छ। करिब २७ प्रतिशत युवा एक वर्षभन्दा पनि लामो समय जागीरको खोजीमा छन्। नेपाली युवा जनशक्ति अहिले विभिन्न मुलुकमा कठोर श्रम गर्न विवश छन्। रेमिट्यान्सले मुलुकको अर्थतन्त्र धानेको छ। राजनीतिक परिवर्तनको अग्रमोर्चामा खटेको युवा त्यसबाट प्राप्त उपलब्धीको लाभबाट भने जहिले वञ्चित छन्। एकथरी युवा दैनिक गुजाराका लागि कठोर श्रम गर्न बाध्य छ भने अर्कोथरी सहरीया युवा जसले अमेरिका, क्यानडा, अष्ट्रेलिया वम युरोपमा भविष्य देख्छ र त्यहीँ बसाईं सर्छ। आज देशमा हस्तक्षेपकारी युवा जमात नभएकाले नै राजनीतिक अस्थीरता बढ्दै गएको हो।

आलोचनात्मक चेत भएका एवं सृजनशील युवा पुस्ता राजनीतिमा नहुनुले नेपालको राजनीतिको बागडोर बुढाहरूले लिए। प्रचण्ड, देउवा, माधव, ओली, उपेन्द्र र बावुरामलाई गाली गरेर मात्र देश विकास हुने होइन। युवाले स्पष्ट दृष्टिकोणका साथ नेतृत्व स्थापित गर्न डटेर लाग्नु पर्छ। युवालाई आशा जगाउने भनेको युवा नेताले नै हो। राजनीतिमा नेतृत्व संकट भएको वर्तमान सन्दर्भमा युवा स्पष्ट कार्ययोजनाका साथ वैकल्पिक राजनीतिक शक्तिको रूपमा अघि बढनु जरुरी छ। नेपाल अहिले जनसंख्याको लाभांशको अवस्थामा पुगेको छ। बोनस युवा शक्तिलाई रचनात्मक रूपमा राष्ट्र निर्माण एवं देश विकासमा लगाउन सकियो भने देशले विकास र समृद्धिमा ठूलो फड्को मार्ने निश्चित छ।

युवालाई सबल बनाई देश विकासमा लगाउन सके मात्र देशको मुहार फेरिन सक्छ। युवालाई उठाउन सके मात्र समाज उठ्छ अनि समाज परिवर्तन र देश समृद्ध हुन्छ।

नेपाली युवाका साझा सवाल गुणस्तरीय, समयसापेक्ष र रोजगारमूलक शिक्षाको अभाव, व्यावसायिक सीप र प्रविधिको पहुँचबाट टाढा हुनु हो। बेरोजगारी, अर्ध बेरोगारी, अति गरिबी र स्वरोजगार बन्न व्यवसाय ऋणको कठिनाइ आदि छन्। युवाको कमजोर स्वास्थ्य, पोषण र कमजोर मनोबल अनि युवा लगानीमैत्री तथा उद्यमशील वातावरणको अभाव र युवा पलायन आजको वास्तविकता हो। लैगिक, क्षेत्रिय, जातिगत विभेदीकरण र बहिष्करणका साथै विश्वव्यापीकरण तथा उदारीकरणको प्रभावले ल्याएका चुनौती प्रमुख हुन्। युवा नीति कार्यान्वयनका लागि युवा तथा खेलकुद मन्त्रालय तथा राष्ट्रिय युवा परिषद्को आर्थिक स्रोत, भौतिक पूर्वाधार र सक्षम नेतृत्व पनि उत्तिकै महत्वपूर्ण पक्ष हो।

हालसम्मको परिवेशलाई हेर्दा मन्त्रालय र परिषद् उल्लेखित तीनवटै पक्षमा सबल भएको देखिँदैन। यसका लागि सिर्जनशील नेतृत्व तथा यसको भौतिक पूर्वाधार र सांगठनिक संरचना निर्माण गरिनु आवश्यक छ। जसले गर्दा युवा नीति तथा कार्यक्रम केन्द्रका मात्र होइन, जिल्ला र गाउँसम्मका युवाको पहुँचमा पुग्न सक्छ। पन्ध्रौं योजना र युवा नीतिको मर्मअनुरूप नेपाल सरकारका स्थानीय निकायले पनि युवा नीति र युथ भिजन २०२५ ले परिकल्पना गरे अनुरूपका कार्यक्रमलाई बजेट विनियोजन गर्नुपर्छ। र राष्ट्रिय तथा स्थानीय तहमा कार्यरत युवा संघसंस्थालाई परिचालन गर्नुपर्छ। साथै युवाको क्षेत्रमा काम गर्ने सरकारी निकायको केन्द्रमा अन्तरमन्त्रालय समिति र जिल्लामा युवा सम्पर्क केन्द्रको रूपमा विकास गर्न जरुरी छ। जसले गर्दा युवासम्बन्धी कार्यक्रमको दोहोरोपनाको अन्त हुनुका साथै युवा लक्षित कार्यक्रमले मूर्तरूप हासिल गर्न टेवा पुग्छ।

युवा नीति तथा युथ भिजन २०२५ ले मार्गनिर्देश गरेका युवाका मुद्दाहरूमा सामूहिक आवाज बुलन्द गर्नु र राज्यलाई रचनात्मक दवाब सृजना गर्नु अहिलेको आवश्यकता हो। युवा परिषद्लाई समावेशी बनाउँदै युवालक्षित कार्यक्रम स्थानीय तहसम्म पु¥याउन सामूहिक प्रतिवद्धताको खाँचो छ। दिगो विकास लक्ष्य प्राप्तिका लागि युवा संघसंस्था एकीकृत हुन जरुरी छ। सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल गर्न पनि युवाको सामूहिक प्रतिवद्धता, एकता, सहकार्य र योगदानबाट मात्र सम्भव छ। सरकारलाई युवा रोजगारी सृजना गर्न दबाब दिँदै युवालाई स्वरोजगार तथा उद्यमशिलतातर्फ अभिप्ररित गर्न जरुरी छ। वैदेशिक रोजगारीलाई व्यवस्थित गर्दै युवा स्वरोजगार बैंकको स्थापना गर्नु अहिलेको आवश्यकता हो। राज्यलाई बलियो बनाउँदै लैजान र देशको समृद्धिको नेतृत्व गर्न अब युवा एकजुट हुनैपर्छ।

विश्वका हरेक समृद्ध मुलुक निर्माणको चरणलाई अध्ययन गर्ने हो भने पनि युवाको नेतृत्व र परिचालनबाट मात्र सम्भव भएको तथ्य जगजाहेर नै छ। हरेक परिर्वतनको नेतृत्वदायी भूमिका निर्वाह गर्ने युवा अब देशको राजनीति र समृद्धिको नेतृत्व लिन पनि तयार हुनुपर्छ। युवाबिना देश विकास सम्भव छैन। मुलुक अहिले राजनीतिक स्थायित्वमार्फत दिगो विकासको गतिमा अघि बढ्ने दिशामा छ। जनसाख्यिकी हिसाबले युवा बढी भएको सन्दर्भमा युवालाई उत्पादनशील काम र नवनिर्माणमा संंलग्न गराउन सके छोटो समयमा ठूलो उपलब्धि हासिल गर्न सकिन्छ।  युवा नीति तथा कार्यक्रमलाई अवसरका रूपमा लिँदै सबै युवाले अब नीतिको जगमा रहेर हकअधिकार स्थापित गर्न अग्रसर हुनुपर्छ।

हरेक राजनीतिक दलहरूमा यसको सकारात्मक प्रभावका लागि युवाले सशक्त दबाब दिनु अपरिहार्य छ। नेपालको सन्दर्भमा नीति नियमहरू प्रशस्त बन्ने गरेका छन्। तर कार्यान्वयन पक्ष भने कमजोर छ। युवा नीति कार्यान्वयनका सन्दर्भमा सबै प्रकृतिका युवाबीच साझा बुझाइ विकास हुनु जरुरी छ। नीतिको लक्ष्य हासिल गर्न विभिन्न राजनीतिक आस्था, भिन्न काम गर्ने शैली एक हुनुपर्छ। जो जहाँ भए पनि सबै युवाले युवा नीति तथा युथ भिजनलाई कार्यान्वयनका लागि सशक्त आवाज उठाउनुपर्छ। साथै कार्यान्वयनका लागि साझेदारी विकास गर्न आवश्यक छ। नेपालमा युवाका सवालमा वकालत हुन थालेको लामो इतिहास छैन।

विगत केही वर्षसम्म पनि युवाको हुन भन्ने बुझाइमा सरकार वा सम्बन्धित निकाय अस्पष्ट रहेको देखिन्छ। तथापि पछिल्लो समयमा सरकारका योजनामा पनि युवाका सवालहरू समेटिन थालेका छन्। यी प्रयासले मात्र यो देशका युवाका विकराल समस्याहरू समाधान हुन सम्भव देखिँदैन। स्वयं युवा पनि सिर्जनशील, कर्तव्यनिष्ठ भई युवा अधिकारहरूको उपभोग गरी स्थानीय तहदेखि केन्द्रसम्म प्रतिनिधित्व र पहिचान सँगै पहुँच बढाउन अग्रसर हुनु अपरिहार्य छ।

अतः युवा नीतिले दिएको अधिकारलाई उपभोग गर्दै आफ्ना अधिकारहरू स्थापित गरी आफू र आफ्नो समाजलाई उन्नतिको बाटोतिर लैजान शिक्षा, स्वास्थ्य र रोजगारीमा सबै युवाको पहुँच बढाउनुपर्छ। त्यसका लागि राज्यले आगामी वर्षहरूमा युवामैत्री लगानीको वातावरण र्सिजना गर्नुपर्छ। देशका युवालाई सबै प्रकारले सक्षम बनाउने दिशातर्फ सरकारको ध्यान केन्दित हुन आवश्यक छ। युवामा लागानी गर्ने देशहरूले नै आज विश्वलाई नेतृत्व गरिरहेका छन्। युवालाई सबल बनाई देश विकासमा लगाउन सके मात्र यो देशको मुहार फेरिन सक्छ। युवालाई उठाउन सके मात्र समाज उठ्छ, युवालाई जगाउन सके मात्र समाज परिवर्तन र देश समृद्ध हुन्छ।
लेखक राष्ट्रिय युवा गैरसरकारी संस्था महासंघ नेपालका अध्यक्ष हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.