देशले युवाहरू फर्किउन भन्ने चाहेको छ
गोल्डस्टार जुत्ता कुनै बेला निम्न र मध्यम वर्गको पहिचान थियो। सशस्त्र द्वन्द्वका बेला त ‘माओवादीको जुत्ता’ बन्यो। बीचमा झन्डै धराशायी बन्यो। अनेक आरोह–अवरोह झेल्दै गोल्डस्टार आज सम्पन्न वर्ग र ‘फेसनेबल र हाइइण्ड ब्रान्ड’ बनेको छ। स्वदेशमा मात्र होइन, विदेश पनि पुगिसकेको छ, गोल्डस्टार। झन्डै–झन्डै लोप हुन लागेको गोल्डस्टारलाई ‘स्टार’ बनाउने श्रेय जान्छ, विदुषी राणालाई।
नुरप्रताप राणाले स्थापना गरेको गोल्डस्टारलाई चम्काउन बुहारी विदुषीले त्यस्तो के जादु गरिन् त ? अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा युवा उद्यमी विदुषीसँग अन्नपूर्णकर्मी सुनिता कार्की र ममता थापाले गरेको कुराकानी।
बिजनेसमा कसरी आउनुभयो ?
अनि, बिजनेसमा प्रवेशको चरण ?
मैले बिहे गरेको घर ‘बिजनेसियल फेमेली’ थियो। गोल्डस्टार सुजका संस्थापक स्वर्गीय नुरप्रताप सिंह राणा मेरो ससुरा हुनुहुन्छ। कुमारी बैंकको पनि उहाँ संस्थापक हुनुहुन्थ्यो। बिहेपछि स्नातकसम्मको पढाइ पूरा गरेँ। केही समय कुमारी बैंकमा नै मार्केटिङ एण्ड ब्रान्डिङ डिपार्टमेन्टमा काम गरे। त्यसपछि बच्चा हुर्काउन १० वर्ष घरमै बसे। बच्चा हुर्किएपछि आफ्नै व्यापार सुरु गर्ने सोच बनाएँ। ससुराको निधनपछि गोल्डस्टारलाई अघि बढाएँ।
बिजनेसमा हात हाल्दा परिवारको सहयोग कस्तो रहयो ?
पहिलाको समाज छोरीका लागि केही कडा नै थियो। मैले पनि केही बन्देजमा त बस्नै पर्यो। बिहेपछि बुहारी भएकै कारण अन्य थिचोमिचो त भएन। तर, किन बाहिर निस्कन पर्याे ? केटा मानिसहरूले कमाएर ल्याई हाल्छन नि, भन्ने सोच त थियो नै। मेरो पढाइ अघि बढाउन, बिजनेसमा आउन मेरो श्रीमान्को ठूलो साथ र सहयोग छ। आफैंले इन्टरनेटबाट धेरै टे«निङहरू लिए। मलाइ धेरै नै सिक्नु थियो। मेरो श्रीमान्लाई म घरमा नै बसिरहन सक्दिन भन्ने थाहा थियो। उहाँको सहयोगमा मैले अघि बढ्ने मौका पाएँ।
गोल्डस्टार युवाको स्टार कसरी बन्यो ?
माओवादी द्वन्द्वका बेला गोल्डस्टार भारतमा निर्यात हुन्थ्यो। त्यो बेला नेपाली बजारतिर ध्यान दिइएन। पछि भारततिर पठाउने काम पनि घट्यो। अनि, मैले गोल्डस्टारको मार्केटिङ र ब्राडिङमा जोड दिए। गोल्डस्टार युवाको रोजाइमा पार्न नयाँ–नयाँ सिरिजका जुत्ता बनाउनेतिर जोड दिए। जसका कारण आज स्वदेश र विदेशमा गोल्डस्टार चम्किँदै गएको छ।
गोल्डस्टारलाई ब्राण्डिङ गर्न के कस्ता प्रयास गर्नुभयो ?
मैले शंकरदेवबाट मार्केटिङ र ब्रान्डिङमा स्नातक गरेकी हुँ। गोल्डस्टार आफैं नै ब्राण्ड भएकाले यसलाई ब्रान्डिङ गर्नुपर्छ भन्ने जरुरी नै थिएन भन्ने सोच मेरो श्रीमान्को पनि रहेको थियो। तर, मेरो सोच उहाँहरूको भन्दा फरक थियो। कुनै पनि उत्पादन बजारमा ल्याएर मात्र हुँदैन। आफ्नो उत्पादन बजार सुहाउँदो छ कि छैन भन्ने पनि हेर्नुपर्छ र ब्रान्डिङ गर्नुपर्छ भन्ने मान्यता थियो। आन्तरिक र बाह्य प्रतिस्पर्धी बजारमा गोल्डस्टारलाई पुर्याउन आवश्यक रहेको मेरो बुझाइ थियो। गोल्डस्टारलाई जुत्ता भनेर सबैले चिनेको छ तर सबैले लगाउन खोजिरहेका छैनन् भने त्यो किन भइरहेको छ भन्ने नै मेरो मुख्य प्रश्न थियो। पहिला ब्रान्डिङका र मार्केटिङका लागि भनेर लगानी नै गरिएको थिएन। बल्ल म आएपछि यसमा लगानी गर्नुपर्छ भनेर ब्रान्डिङका र मार्केटिङका लागि बजेट नै छुट्ट्यायौं।
अनि, बजारमा कस्तो प्रतिक्रिया पाउनुभएको थियो ?
मैले बजार अनुसन्धान गरे। त्यसपछि थाहा भयो, किन मान्छेहरूले लगाइरहेका छन्, किन लगाइरहेका छैनन्, किन युवावर्गको रोजाइमा परेको छैन भने महिला दिदीबहिनीहरूले किन लगाइरहेको छैन भन्ने सबै अनुसन्धान गर्न एक वर्ष लाग्यो। त्यसको निष्कर्षको आधारमा नै युवाहरूका लागि, बच्चाहरूका लागि र सबै वर्गका लागि तथा सबै समयका लागि उपयुक्त हुने खालको जुत्ता बनाउनुपर्ने रहेछ भन्ने थाहा भयो। त्यहीअनुसार नै डिजाइन र ब्रान्डिङ गर्ने काम अघि बढायौं। युथहरूले नै यो बुवा वा हजुरबुवाले लगाउने जुत्ता हो भन्ने सोच राखेको पाए।
जुन हाम्रो कम्पनीका लागि नेगेटिभ कुरा थियो। नेपालको स्ट्रेन्थ भनेको नै युवा हो। अनि युवाहरूले नै नलगाएपछि हामीलाई घाटा हुने नै भयो। त्यही भएर युवाका लागि फेसनबल, फ्यान्सी, खालका जुत्ता भनेर जी १० सुरु गर्यौ। युथ सेन्ट्रिक बनायौं। अहिले हामीले सोचेको भन्दा धेरै नै राम्रो बजार जी १० ले लिएको छ।
फेमिली बिजनेसमै हात हाल्नुको कारण ?
म गोल्डस्टारमा आएको करिब ६ वर्ष भयो। गोल्डस्टारको मार्केटिङ र ब्रान्डिङ हेडका रूपमा काम गर्दै आइरहेको छु। ससुराको मृत्यु भएपछि बिजनेसमा श्रीमान् एक्लै हुनुभयो। श्रीमान् एक्लै भएपछि केही गर्न सक्छु कि भनेर आफ्नै फेमेली बिजनेसमा प्रवेश गरेको हुँ।
के–कस्ता चुनौतीको सामना गर्नुभएको छ ?
गोल्डस्टार सुरु भएदेखि नै बाहिरी चुनौतीहरू कम्पनीले भोग्दै आइरहेको छ। द्वन्द्वकालमा माओवादीहरूले सस्तो र टिकाउ भएर यसको प्रयोग बढी गरँे। त्यही भएर गोल्ड स्टार जुत्तालाई सुरक्षा निकायले यो माओवादीको जुत्ता हो भनेर काठमाडौं बाहिर निकासी नै गर्न दिएन। अझ उत्पादन नै बन्द गर्नुपर्छ भन्ने पनि कुरा आयो। यो सबैको जुत्ता हो, नेपाली हाम्रो उत्पादन हो भनेर सुरक्षा निकायलाई ‘कन्भिन्स’ गराउन हामीलाई निकै समय लागेको थियो। पछि सबैले बुझे। सुरक्षा निकायदेखि सबैले लगाउन थाले।
त्यस्तै, भूकम्पले ६÷७ महिना कारखाना बन्द भयो। कामदार पनि थिएनन् र उनीहरूलाई कामबाट निकाल्न सक्ने अवस्था पनि थिएन। अनि त्यसपछि लगत्तैको भारतले लगाएको नाकाबन्दीले पनि कच्चापदार्थ आयातदेखि उत्पादन तथा निर्यातमा ठूलै प्रभाव पारेको थियो।
कोभिडले के–कस्तो अप्ठ्यारो आइलागेको छ ?
अहिले हामीसँग ३ हजारभन्दा बढी कामदार कार्यरत छन्। तर, कोभिडका कारण फुलफेजमा कम्पनी नचल्दा करिब आधा मात्र सक्रिय रूपमा कार्यरत छन्। २४ सै घण्टा कम्पनी चलाएर एकैदिनमा ७५ हजार जोर उत्पादन गर्न सक्ने क्षमता भए पनि अहिले १२ घण्टा मात्रै कम्पनी चलेको छ। बजारमा जुत्ताको माग पनि ह्वात्तै घटेको छ। तर, हामीले कामदार निकालेका पनि छैनौं र तलब नदिएका पनि छैनौं। काममा आउनेलाई पूरा तलब र घरमा बसेकाका लागि सरकारले तोकेको न्यूनतम तलब उपलब्ध गराइरहेका छौं।
मार्केटिङ र ब्रान्डिङतिर लाग्न कसको प्रेरणा थियो ?
यसको देन मेरो बुबालाई जान्छ। बुबा सिनेमेटोग्राफर हुनुहुन्थ्यो। उहाँले मुम्बईमा पढेर नेपालमा आएर मनीषा कोइरालाको रोलमा वाईवाई चाउचाउलगायतका विभिन्न विज्ञापन बनाउनुभयो। यसकारण पनि मार्केटिङ तथा ब्रान्डिङमा रुचि जागेको हो।
बिहे अगाडि गोल्डस्टारको प्रयोग कत्तिको गर्नुहुन्थ्यो ?
बिहे अघि यसबारे सुनेको थिइन्। तर, हात्ती बलियो कि हात्तीछाप चप्पल बलियो ? भन्ने विज्ञापन रेडियोमा धेरै सुन्थे। त्यही हात्तीछाप चप्पलको उत्पादन गर्नेले नै गोल्डस्टार जुत्ता पनि बनाउँछ भन्ने धेरैलाई थाहा नहुन सक्छ।
निर्यातको बाटो कसरी खुलेको थियो ?
द्वन्द्वकालमा माओवादीका कारण आन्तरिक प्रयोग घटेपछि भारत निर्यातको यात्रा सुरु गरिएको हो। भारतको पनि नेपाली सीमा क्षेत्र यूपी, बिहारका जनताले निकै नै रुचाएको पाइयो। १७० रुपैयाँ भारतीय रुपैयाँमा टिकाउ नेपाली जुत्ता गोल्डस्टार पाउने भएकाले त्यहाँ एकदम पपुलर भयो। तर, भारतीय नाकाबन्दीमा जुत्ता भारत निर्यात गर्न पाएनौं। यसले गर्दा भारत जस्तो बजारको महासागरमा अरूले खेल्ने मौका पाए। गोल्डस्टार कै नाममा थुप्रै नक्कली जुत्ताहरू पनि बन्न थाले, घर–घरमा नै। अहिले पनि दिल्ली उच्च अदालतमा यो सम्बन्धमा हाम्रा मुद्दाहरू चलिरहेका छन्। त्यो बेलामा कति त्यस्ता नक्कली उद्योगहरू बन्द पनि गराइयो तर, अझै पनि खुली नै छन्।
नेपाली वस्तु उत्पादनमा लाग्नुभएको छ, आफूचाहिँ नेपाली उत्पादन कत्तिको प्रयोग गर्नुहुन्छ ?
मैले नेपाली सामानको प्रचार गर्ने, तर आफूले प्रयोग नगर्ने त कुरै भएन। म पहिलाभन्दा बढी नेपाली उत्पादनको प्रयोगमा सजग भएको छु। पश्मिनादेखि अन्य कपडा, कस्मेटिक सामानहरू पनि प्रयोग गरिरहन्छु। आफ्नै ब्राण्डका सामान पनि प्रयोगमा ल्याउँछु। नयाँ जुत्ता बनाउनासाथ ट्रायल गर्छु तर स्पोर्ट्स सुजको दैनिक प्रयोग खासै गर्दिन।
गोल्डस्टार विदेशमा कहाँ–कहाँ पुगेको छ ?
अहिले देशभर फ्रेञ्चाइज मोडलमा गोल्डस्टारका आधिकारिक ६० वटा स्वरुम खोलेका छौं। यसबाहेक अन्तर्राष्ट्रिय स्तरमा अस्ट्रेलियाको मेलवर्न र सिड्नीमा पनि स्वरुम खोलेका छौं। तर, कोभिडले प्रभाव परेको छ। बहराइन दुबई र मलेसियामा गोल्डस्टारको राम्रै भएको छ। भर्खरै जापानमा पनि पुर्याएका छौं। यो साताभित्र साउदी अरेबियामा पनि विस्तार गर्दैछौं। अबको ६ महिनामा अमेरिकामा विस्तार गर्ने योजना छ।
अन्तर्राष्ट्रिय ग्राहकका लागि अहिले हाम्रो ब्रान्डले भ्याउँदैन त ?
सुरुमा नेपालीहरूले मात्र यो जुत्ता किन्न आउँथे। अहिले विदेशीहरूले पनि किन्न थालेका छन् तर अझ ब्रान्डिङ हुन समय लाग्छ। विदेशहरूमा ठूलै क्याम्पियन गर्नुपर्छ तर हाम्रो अझै त्यो क्षमता हुँदैन। अब विस्तारै अन्तर्राष्ट्रिय बजारमा छाउने हिसावले तयारी थालेका छौं। लकडाउनमा पनि चुप लागेर बसेनौं। नयाँ मेसिन, प्रविधि भित्र्यायौं। अझै धेरै नयाँ किसिमका गुणस्तरी जुत्ता बजारमा ल्याउने तयारीमा जुटेका छौं।
काम गर्ने युवाको संख्या के कति छ ?
करिब ३ हजार कर्मचारी छन्। अधिकांश युवा छन्। महिलाको संख्या बढी छ। हामीले पुरुष कर्मचारी राखेको ६–८ महिनामा काम छोडेर दुबई, कतार जानेहरू धेरै भेट्यौं। यसैले हामीले महिलाहरूलाई ३ महिना पैसै दिएर तालिम दियौं। उनीहरू दक्ष भएपछि काममा राखेका छौं। महिलाहरू प्रिश्रमी, मिहिनेति, डेडिकेटेड रहेको पायौं।
अधिकांश युवाहरू उद्यमी बन्ने चाहना त राख्छन्, तर लगानी गर्ने क्षमता नभएकाले कसरी उद्यम गर्न सक्छन् ?
जीवनमा केही गर्ने सोच, दृढ संकल्प छ भने अवश्य सफल भइन्छ। हाम्रै कम्पनीमा मेरो श्रीमान्ले १ वर्षसम्म बिजनेस पार्टनरको सेक्रेटरी बनेर काम गर्नुभयो। उहाँलाई बस्ने कुर्सीको समेत सुविधा थिएन। अहिले मेरो छोराछोरी विदेशमा अध्ययन गरिरहेका छन्। अब भोलि फर्केर आएपछि तल्लो तहदेखि नै सिकाउनुपर्छ। यसो नगरे सुधार हुँदैन। अहिले नेपालमा थुप्रै महिला तथा पुरुष उद्यमीहरू हुनुहुन्छ। उहाँहरूको संघर्ष र कतिपयको सफलता कथा सुनिन्छ। विभिन्न कार्यक्रममा सहभागी हँुदा थोरै लगानीबाट धेरै सफल भएका युवा महिलाहरू पनि छन्। अहिले राम्रो व्यावसायिक योजना भएका र दृढ संकल्प भएकालाई बैंकहरूले पनि विभिन्न कर्जा दिएका छन्। पहिला यस्तो सुविधा थिएन र जोकोहीले आँट गर्न गाह्रो थियो। अहिलेका उद्यमीलाई अवसर धेरै छन्। प्रविधिको विकासले सजिलो बनाएको छ।
महिला उद्यमी सफल भएपछि समाजले हेर्ने दृष्टिकोण कस्तो पाउनुभयो ?
अगाडि त सबैले राम्रै दृष्टिले हेरेको देख्छु तर पछाडि कस्तो गर्छन् थाहा भएन। तर, अहिले म परिपक्व भइसकेको छु, त्यस्तो केही फरक पर्दैन। तर, २० वर्षअघि मलाई कसले के भन्छ भन्नेमा धेरै फरक पथ्र्यो होला। यदि आत्मविश्वास छ भने अरूले जेसुकै भनुन मतलब गर्नुहुँदैन। सबैलाई खुसी पार्न सकिँदैन।
उद्यम क्षेत्रमा आउन चाहने युवा पुस्तालाई के सुझाव दिन चाहनु हुन्छ ?
मेरो छोरी पनि अमेरिकामा सस्टेनेबल म्यानुफ्याक्चरिङ विषयमा र छोरा लण्डनमा अध्ययन गर्दैछन्। उनीहरू प्नि नेपालमा आएर कम्पनी चलाउने हो। विदेश पलायन गराउने सोच हाम्रो कदापी छैन। नेपालमा भूकम्प जाँदा, नाकाबन्दी हुँदा कतिपयले विदेशमा व्यवसाय लगे, तर हामीले स्वदेशको मायाले लगेनौं।
त्यस्तै नै युवाहरूले पनि सकेसम्म ज्ञान र सीपका लागि विदेश गएर अध्ययन गर्नुहोस्। तर, अध्ययनपछि स्वदेमै फर्केर काम गर्नुहोस्। नेपाललाई तपाईंहरू जस्तो युवा चाहिएको छ। त्यसैले सिप सिक्न विदेश जानुहोस् तर पछि नेपाल फर्किनुहोस्। नयाँ सोच र उत्साह भयो भने नेपालमा नै अथाह सम्भावना छ।
करियर जस्तै तपाईंको सुन्दर तापनि आकर्षक छ। यसको राज के होला ?
धन्यवाद। त्यति धेरै त होइन तर म आध्यात्मतिर अलि बढी झुकाव राख्छु। म शारीरिक व्यायाम मात्र गर्दिन, योगा मेरो प्राथमिकता हो। लकडाउन भएको २ वर्षदेखि व्यायामका लागि जिम जान पाएकोे छैन। घरमै युट्युब हेरेर, योगा तथा मेडिटेसन र आध्यात्मिक गर्ने गर्छु। अहिले कोभिडका कारण श्वास–प्रश्वास व्यायामलाई पनि गर्दै आइरहेको छुु। विपासना भने जाने सोच छ, तर आँटै आएको छैन।