मनाङ समाजले जिल्लावासीलाई बाँड्यो एक करोडको राहत
बेंसीसहर: बाढीपहिरोबाट पीडित मनाङवासीका लागि मनाङ समाज सेवा समितिले एक करोड रुपैयाँभन्दा बढीको राहात उपलब्ध गराएको छ ।
पीडितहरूका लागि खाद्यान्न, औषधि र पूर्वाधार निर्माणका लागि आवश्यक सामग्री वितरण गरिएको हो । मनाङ समाज सेवा समितिले असारको पहिलो सातादेखि नै खाद्यान्न, अस्थायी बसोबासका लागि टेन्ट, कोभिड–१९ रोकथामका लागि आवश्यक स्वास्थ्य सुरक्षा सामग्री, विपद जोखिम न्यूनीकरणका लागि पूर्वाधार निर्माणमा सहयोग गरिरहेको कार्यालय सचिव विनोद थपलियाले जानकारी दिए ।
मनाङ समाज सेवा समितिले जिल्लाको अति विकट बस्तीहरूमा हेलीकप्टरमार्फत राहात सामग्री पुर्याएको छ । हालसम्म ४५ पटक हेलिकप्टरबाट राहत सामग्री लगिएको समितिले जनाएको छ । समितिले विपद्का कारण प्रभावित २ सयभन्दा बढीको उद्धारसमेत गरेको छ ।
मनाङ समाज सेवा समितिले जिल्लाको ङिस्याङ गाउँपालिका, नार्पाभूमि गाउँपालिका, चामे र नासोङका प्रभावित क्षेत्रहरूमा राहात वितरण गरेको र अझै पनि राहात पुर्याउने क्रम जारी रहेको बताएको छ । बाढी र पहिरोको जोखिमसँगै विस्थापित जिल्लावासीहरुका लागि ६ सयभन्दा बढी टेन्ट उपलब्ध गराएको छ । यसैगरी जिल्लाका महत्वपूर्ण धार्मिक संरचना गुम्वाहरूको संरक्षणका लागि पनि टेन्ट उपलब्ध गराएको समितिले जनाएको छ ।
स्थनीय गाउँपालिकाहरूसँग समन्वय गरी १९ वटा अक्सिजन कन्सन्ट्रेटर, आईशोलेसन निर्माण र सञ्चालनका लागि आवश्यक सामाग्री समेत उपलब्ध गराएको समितिले जनाएको छ । बाढीपहिरोले सडक पहुँच नहुँदा राहात सामाग्री ढुवानीमा समस्या भएको समाजका सह कोषाध्यक्ष छिरिङ दोर्जे गुरुङले बताए । निजी हेलिकप्टरबाट राहात ढुवानी गर्दा प्रभावितले पाउने राहतभन्दा ढुवानी खर्च बढी भएको उनले बताए ।
यसअघि निजी हेलीकप्टर प्रयोग गरेर राहात ढुवानी गरिए पनि पछिल्लो समय नेपाली सेनाको हेलीकप्टरबाट राहात सामाग्री ढुवानी हुँदै आएको छ ।