नवदुर्गा मन्दिरमा बाँधियो यस वर्षको ‘खःमेय्’
भक्तपुर: भक्तपुर नगरपालिका ९ स्थित नवदुर्गा मन्दिरमा बिहीबार खःमेय् (राँगो) बाँधिएको छ । नवदुर्गा देवगणको जात्रा विधिविधान अनुसार गाथामोग पर्वपछिको नागपञ्चमीभित्र नवदुर्गा मन्दिरमा खःमेय् भित्र्याउनुपर्छ ।
गाथामोगको दिन नवदुर्गा मन्दिरभित्र महादेवको उत्पत्ति हुने विश्वास गरिन्छ । सोही दिन खःमेय् भित्र्याउन मन्दिरभित्र रहेको किलोमा दाम्लो बाँध्नुपर्ने जात्राको विधिविधान रहेको छ ।
सोही विधिविधानअनुसार बिहीबार खःमेय् भित्र्याएर मन्दिरमा बाँधिएको हो । यस वर्ष भक्तपुर नपा ३ निवासी लक्ष्मण छुँजूले नवदुर्गालाई खःमेय् चढाएका छन् । उनले ५ वर्षअघि नै यस वर्ष खःमेय् चढाउने पालो पाएका हुन् । आफ्नो पालोअनुसार लक्ष्मणले १८ दिनअघि काठमाडौंको गोकर्णबाट एकलाख ५ हजार रुपैयाँ तिरेर राँगो ल्याएका छन् ।
भक्तपुरको जगातीमा १८ दिन पालेर उक्त राँगो बिहीबार लक्ष्मणले नवदुर्गा भवानीलाई चढाएका छन् । १८ दिन थप पाल्दा र नवदुर्गा मन्दिरमा चढाउने क्रममा गर्नुपर्ने पूजाआजा तथा भोजको आयोजना गरी करिब एक लाख २५ हजार रुपैयाँ खर्च हुने दाता लक्ष्मणले सुनाए ।
उनले करिब १५ वर्षअघि नै नवदुर्गा मन्दिरमा खःमेय् चढाउने इच्छा व्यक्त गरेको जानकारी दिए । तर त्यसबेला पालो नै नपाएको उनले बताए ।
‘१५–१६ वर्षअघि नै नवदुर्गा मन्दिरमा खःमेय् चढाउने इच्छा व्यक्त गरेको थिएँ’, लक्ष्मणले भने, ‘तर त्यसबेला पालो पाइएन । पछि फेरि पाँच वर्षपछि बुझ्न आउँदा यस वर्षको लागिमात्रै पालो पाएँ ।’
पहिले नवदुर्गा देवगणले नै खःमेय्को खोजी गर्नुपर्ने बाध्यता थियो तर अहिले २०८२ सालसम्मको लागि दाताहरु सूचीकृत भएको नवदुर्गा देवगणका नाइके ब्रिजेश बनमालाले जानकारी दिए ।
‘पहिले खःमेय् बाँध्ने किलामा दाम्लो बाँधिसकेपछि देवगणले नै खःमेय्को लागि उपयुक्त राँगोको खोजी गर्नुपर्थ्यो’, नाइके बनमालाले भने, ‘तर अहिले भक्तजनहरुले नै मन्दिरको लागि खःमेय् चढाउने क्रम बढेको छ । जसले गर्दा २०८२ सालसम्मको लागि दाताहरु निश्चित भइसकेका छन् ।’
उनका अनुसार २०७९ सालको लागि पद्मलाल श्रेष्ठ, २०८० को लागि रत्नलाल दुमरु, २०८१ को लागि विश्वराम सुवाल र २०८२ को लागि अरुण राईले नवदुर्गा मन्दिरमा खःमेय् चढाउने गरी पालो पाइसकेका छन् ।
नकीं इन्दिराले स्याहार्नेछिन् खःमेय्
बिहीबार नवदुर्गा मन्दिरकी नकीं इन्दिरा बनमालाले लसकुस (स्वागत) गर्दै खःमेय् भित्र्याएकी छन् । उनले नै अब दसैंको नवमीसम्म उक्त खःमेय् स्याहार्नेछिन् ।
उनले खःमेय्लाई नकींले तोरीको तेल डलिदिने छिन् । मीठोमीठो खानेकुरा खुवाउने छिन् । खःमेय्लाई जाँडरक्सीसमेत खुवाइने नाइके बनमाला बतागँछन् ।
‘यस खःमेय् मोटोघाटो हुनुका साथै उग्र स्वभाव बन्छ’, उनले भने, ‘जसले गर्दा मःमेय् जात्रा थप रोमाञ्चक बन्छ ।’ यसरी पालिएको खःमेय्को विजया दशमीअन्तर्गत महानवमीको दिन जात्रा गरिन्छ । नवदुर्गा मन्दिरबाट खःमेय् दौडाएर सुरु हुने उक्त जात्रा साकोलान, दत्तात्रय, सूर्यमढी, च्याम्हासिंह हुँदै ब्रह्मायणी पीठमा समापन गरिन्छ ।
नेपालभाषामा खःमेय् भनेको निख्खर कालो राँगो हो । सोही निख्खर कालो राँगोलाई दौडाएर गरिने जात्रालाई स्थानीय नेपालभाषामा खःमेय् ब्वाकेगु जात्रा भनिन्छ ।
खःमेय्ः महिषासुर राक्षसको प्रतीक
नवदुर्गा मन्दिरमा भित्र्याइएको खःमेय्लाई महिषासुर राक्षसको प्रतीकको रुपमा लिन्छ । जसअनुसार दसैंमा नवदुर्गा भवानीले महिषासूर राक्षसको वध गरेको प्रतीकको रुपमा खःमेय् जात्रा चल्दै छ ।
मल्लकालमा यस जात्राले बढी महत्व पाएको संस्कृतिकर्मी ओमप्रसाद धौभडेल बताउँछन् । उनका अनुसार जात्राको खःमेय् निख्खर कालो, मोटोघाटो र जीउमा कुनै घाउ तथा चोटपटक नलागेको हुनुपर्छ ।