युवा आऊ देश बनाऊ

युवा आऊ देश बनाऊ

जुन देशमा युवा जनशक्तिको संख्या बढी हुन्छ, त्यस देशको अर्थतन्त्रले फड्को मार्छ। विश्वका विभिन्न देशमा गरिएको एक अध्ययनले यसलाई पुष्टि गरेको छ। यो अध्ययन नेपालका लागि पनि लागू हुने हो भने नेपालले लिएको समृद्धिको लक्ष्य प्राप्ति गर्न कठिन छैन। युवाले देशको विकास र अर्थतन्त्रलाई दौडाउन सक्छन्। समृद्धिका लागि सम्भावनाका क्षेत्रको पहिचान गरेर त्यसको बुद्धिमत्तापूर्ण उपयोग गर्न सके विकासको ग्राफ बढ्न समय लाग्दैन। विकासका लागि जनसंख्या साधन र साध्य दुवै हो। अनि त्यसभित्रको युवा पुस्ता विकासलाई दौडाउने चालक हुन्। नेपालको जनसंख्याको ४०.३५ प्रतिशत अर्थात् एक करोड सात लाख युवा छन्। यो जनशक्ति देश विकासका लागि पर्याप्त हो।

मानव जीवनमा सबैभन्दा सिर्जनशील, गतिशील, सिक्न चाहने र गर्न सक्ने समय युवा अवस्थामा नै हुन्छ । मुलुक अहिले जनसांख्यिक लाभको अवस्थामा रहेको हुँदा युवा जनशक्तिलाई क्षमतावान् बनाउँदै राष्ट्र निर्माणको अभियानमा परिचालन गर्नुपर्ने आवश्यकता छ । तर, जिम्मेवारी दिने बेलामा पार्टी, सरकार वा अन्य क्षेत्रमा युवालाई महत्व दिइँदैन । उनीहरूको योग्यता, क्षमता र अनुभवलाई अवमूल्यन गरिन्छ । जसका कारण स्वदेशमा रोजगारीको अवसर नपाएको भन्दै सयौं युवा घरखेत बन्धकी राखेर वैदेशिक रोजगारीमा गइरहेका छन्। अध्ययनका लागि गएका उतै पलायन हुन्छन्। देशमा रहेकाहरू पनि धेरै बेरोजगार छन्। जतिले आफैं अवसर सिर्जना गरेका छन् त्यो नगण्य छ। राजनीतिमा लागेका युवाको भूमिका पनि हस्तक्षेपकारी छैन।

विश्वका धेरै देशमा युवाको नेतृत्व विकास गरी राष्ट्र निर्माणमा प्रभावकारी रूपमा परिचालन गरिएको हुन्छ । तर, नेपालमा युवाको नेतृत्व सहज रूपमा स्विकार्न सकेको देखिँदैन । विगतमा शिक्षा, स्वास्थ्य, राजनीतिक, आर्थिक, सामाजिक अधिकार सुनिश्चित नहुँदा युवाको धेरै क्षेत्रमा पहुँच थिएन। सो समय उनीहरूका समस्या समाधानमा उचित पहल पनि भएन। अहिले देशमा राजनीतिक परिवर्तन भए पनि युवाको समस्या जस्ताको त्यस्तै छ। देशमा विकास र समृद्धि हासिल गर्ने काममा युवालाई परिचालन गर्न अहिले युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय युवा परिषद्ले काम गरिरहेका छन्। तर, मन्त्रालय र परिषद चालु अवस्थामा भए पनि युवा बेरोजगार बनेर विदेशिने क्रमलाई रोक्न सकेको छैन।

युवाका विषयमा विभिन्न देशले आआफ्नै व्याख्या गरेका छन्। बंगलादेशमा १५–३० वर्ष उमेर समूहकालाई युवा भनिन्छ भने भारतमा १६–२९ वर्ष समूह र चीनमा १८ देखि ३५ वर्ष बीचलाई युवा मानिन्छ। नेपालको राष्ट्रिय युवा नीति, राष्ट्रिय युवा परिषद् ऐन २०७२ को परिभाषामा १६ देखि ४० वर्षको वर्गलाई युवा भनेर उल्लेख गरिएको छ। यो समूहले देशको करिब आधा जनसंख्याको क्षेत्र ओगटे पनि यसलाई सरकारले सदुपयोग गर्न सकेको छैन। नेपालका २२–२८ उमेर समूहका ७० प्रतिशत युवा दैनिक वैदेशिक रोजगारमा जाने गरेका छन्। तर, अन्य देशले युवालाई उचित स्थान दिएर बेरोजगारी दर घटाएको पाइन्छ। यो क्रमले ती देशको विकासमा सकारात्मक प्रभाव परेको छ। 

विकासमा युवाको परिचालन र सहभागिताका विषयहरू राष्ट्रिय युवा नीतिमा उल्लेख गरिएका छन्। उल्लेखित उद्देश्य पूरा गर्न सरकारले विभिन्न नीतिहरू पनि अख्तियार गरेको छ। नीतिमा युवालाई परिवर्तनका संवाहक र दिगो विकासका उत्प्रेरक शक्तिका रूपमा विकास गर्न राष्ट्र, राष्ट्रियता र मानवाधिकारका आधारभूत सिद्धान्त एवं मूल्यमान्यता बोध गराउने कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ। सरकारले जारी गरेका नीतिहरूलाई मात्र हेरेर निष्कर्ष निकाल्ने हो। हाम्रो मुलुकमा युवाको अवस्था विकसित भनिएकाहरूको भन्दा कमजोर छैन। तर बिडम्बना उल्लेख गरिएका र बनाइएका नीतिनियम अझै कागजमै सीमित छन्। युवाले पनि आफ्ना अधिकार खोज्न सक्नुपर्छ। युवा भविष्य मात्र होइनन्, वर्तमानका साझेदार पनि हुन्। त्यसैले समृद्ध नेपालको अभियानलाई सार्थक बनाउन राज्यका सबै संयन्त्रमा युवा परिचालन गर्नेतर्फ केन्द्रित गर्नुपर्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.