चीनमा अत्याधीक वर्षासँगै आएको बाढीका कारण २१ को मृत्यु, हजारौँ विस्थापित
बेइजिङ: चीनको हुवेइ प्रान्तमा भारी वर्षाका कारण कम्तिमा २१ जनाको मृत्यु भएको छ । छिमेकी प्रान्तमा सयौँको मृत्यु हुने गरी बाढी आएको एक सातापछि शुक्रबार अर्को प्राकृतिक विपद आएको हो ।
चीनमा पछिल्ला महिनाहरुमा अत्याधीक वर्षाले गर्दा ठूला बाढी पहिरो जाने गरेका छन् । मौसमविदहरुले जलवायु परिवर्तनको असरका कारण यस्तो भएको प्रतिक्रिया दिएका छन् ।
हुबेइका विभिन्न स्थानमा अत्याधीक वर्षाका कारण बाढी पहिरो जाँदा सयौँ घर भत्किएका छन् । ६ हजार जति स्थानीयहरुलाई सुरक्षित स्थानतर्फ सारिएको छ । प्रान्तको विपद् व्यवस्थापन विभागका अनुसार यसको असर अझै बढ्न सक्ने आंकलन गरिएको छ ।
पछिल्लो घटनामा चार जना अझै वेपत्ता छन् । स्थानीय मिडियका अनुसार सुइझाओ सहर अत्याधिक प्रभावित सहरमध्ये एक हो । यहाँका स्थानीयहरुले पछिल्लो ३० वर्षदेखि नै यति ठूलो पानी परेको आफूहरुलाई थाहा नभएको बताएका छन् ।
अहिले बाढी प्रभावित क्षेत्रमा सयौँको सख्यामा प्रहरी, सैनिक लगायत सुरक्षाकर्मीहरु खटाइएको छ । गत महिना चीनको हेनान प्रान्तमा तीन दिनसम्म अत्याधीक वर्षा हुँदा उत्पन्न बाढी पहिरोले गर्दा ३ सय जनाको मृत्यु भएको थियो । साथै १ लाख जति मानिस दक्षिणपश्चिम प्रान्त सिचुवानमा विस्थापित भएका थिए।