खण्डकाव्यको ध्वनि

खण्डकाव्यको ध्वनि

गाली गर्दैन सारङ्गी, झूटो बोल्दैन बाँसुरी 

छ संगीत तिमीभित्र मीठो बोल सधैंभरि ! 
तारा राति निदाउन्नन्, झरीमा रुन्न इन्द्रिनी
छ साहस तिमीभित्र–चम्क आपत्तिमै पनि !
कुहिन्न फूलको रङ्ग, सुक्दैन महको रस 
छ जीवन तिमीभित्र बन जीवन्त मानिस !

प्रकृतिसापेक्ष जीवनदर्शनको अत्यन्तमोहक दृष्टान्तसहितको प्रेरणादायी सन्देश प्रस्तुत गर्ने माथिको कवितांशको भावगत र शिल्पगत सौन्दर्यले राष्ट्रकवि माधव घिमिरेको काव्यगत उच्च सौन्दर्य प्राप्तिलाई सुन्दर र घनीभूत रूपमा प्रस्तुत गरेको बोध हुन्छ। अत्यन्त गहन र सुन्दर कवित्व सरल र सरस भाषामा निर्माण गर्न सक्ने घिमिरेको कलाले महाकवि कालीदासको स्मरण हुने गर्छ। जटिल शब्दशैलीको विन्यासबाट गहनता प्रस्तुत गर्नुभन्दा सरल र संक्षिप्त प्रस्तुतिबाट गम्भीर जीवनदर्शन प्रदर्शित गर्न सक्नु नै उच्च सिद्धि मानिन्छ। राष्ट्रकवि घिमिरेले त्यो सिद्धि प्राप्त गरेका छन्। उनका गीत, कविता, खण्डकाव्य र गीतिनाटकको अध्ययन मननबाट सो कुराको पुष्टि हुन्छ।

भाषामा कवित्वगत आकर्षक कला निर्माण गर्नु कवि/स्रष्टाको दक्षता हो। प्रतिभागत क्षमताले त्यो कलालाई सहज रूपमा प्राप्त गर्ने सफलता हासिल गर्दछ। घिमिरेले लोक र शास्त्रीय धारको सुन्दर समीकरण गर्ने उच्च सफलता प्राप्त गरे। कवि तीर्थराज (उपदेश मञ्जरी), आदिकवि भानुभक्त (रामायण), कविशिरोमणि लेखनाथ, महाकवि देवकोटाजस्ता नेपाली काव्य शिखर व्यक्तित्व तथा महाकवि कालीदास (संस्कृत) र भारतीय कवि रवीन्द्रनाथ (बंगाली) को विश्व कवित्वको महनीय आकर्षण र उचाइलाई आत्मसात् गर्ने विशिष्ट सौभाग्य पनि प्राप्त गरे। कवित्व चेतनालाई सौन्दर्यपूर्ण ढंगमा आत्मसात् गरी नवनिर्माणका क्रममा लोक र शास्त्रीय कवित्व सत्ताको सहज अनुकरण गरेर मौलिक, रोचक, प्राकृत, सन्देशमूलक, सरस कवित्व नेपाली काव्य जगत्मा सुम्पिने विशिष्ट सफलताप्राप्त गरेकै कारण घिमिरेको कवित्वकला सदा सर्वदा नवीन र आकर्षक बनिरह्यो। वैराग्यभाव (नवमञ्जरी) बाट प्रारम्भ भएको उनको कवित्व सृजना मानवीय अमर प्रेमभाव, राष्ट्रभक्ति र न्यायपूर्ण विश्व मानवतावादतर्फको आकर्षणमा केन्द्रित रहेर आदर्श र सुखी मानव जीवनको परिकल्पनामा निरन्तर सुसाइरह्यो। उनी आदर्श जीवनवादी कवि हुन्। 

नेपाली प्रकृति, संस्कृति र सभ्यताको गौरवगान गरिरहनु माधव घिमिरेको कविताकाव्य सृजनको महत्वपूर्ण विशेषता हो। उनको कवित्व मूलत: करुण, वीर र शृंगार रसकै त्रिवेणीमा प्रवाहित रहेको पाइन्छ। गौरी खण्डकाव्यमा मानव नियतिको सुन्दर व्याख्या साथ शोक भाव वा करुण रसको व्यापकता प्राप्त हुन्छ। पत्नीवियोगको उपजका रूपमा रहेको गौरी पढ्ने प्रत्येकजसो पाठकको मनोदशा विचलित हुने गर्दछ। ‘राजेश्वरी’ खण्डकाव्यमा रानी राजेश्वरीलाई जबर्जस्ती चिता चढाएको ऐतिहासिक घटनाक्रमलाई काव्यात्मकता प्रदान गर्दै मानवताको अझ खासगरी मानिसको बाँच्न पाउने अधिकारको सुनिश्चितताको कामना गरिएको छ। यो पनि करुण रसकै खण्डकाव्य हो अनि काव्यगत सौन्दर्यका दृष्टिले ‘राजेश्वरी’ सर्वोपरि छ।

‘पापिनीआमा’मा एकल महिलाको सन्दर्भमा विवाहको आवश्यकता दर्साइएको छ । ‘राष्ट्रनिर्माता’मा राष्ट्रिय अखण्डताको अपरिहार्यता प्रस्तुत गरिएको छ। वीर रसोन्मुख यस खण्डकाव्यले राष्ट्रप्रेमको भावलाई तीव्रता साथ प्रस्तुत गरेको पाइन्छ। ‘धर्ती माता’मा पृथ्वी  र त्यसका सापेक्षतामा मातृभूमि नेपाल र प्रकृतिको गुणगान वा महत्ता बताइएको छ। ‘नयाँ नेपाल’ गीतिकाव्यमा नेपालको एकीकरण, प्रजातन्त्र प्राप्ति र नवनिर्माणको विषयलाई प्रस्तुत गरिएको छ। ‘इन्द्रकुमारी’ खण्डकाव्यमा पृथ्वीनारायण शाहकी जेठी रानी इन्द्रकुमारीको मनोदशाको चित्रण छ। गौंथली रगजधम्मे’ तथा ‘बोराको परदा’मा सामाजिक विषयलाई प्रस्तुत गरिएको छ। घिमिरेका नौवटा खण्डकाव्य खासगरी पौराणिक–प्राकृत, ऐतिहासिक र सामाजिक विषयवस्तुमा केन्द्रित रहेका छन्। उनका ऐतिहासिक खण्डकाव्य बढी सफल र सशक्त रहेको पाइन्छ। यिनमा रसभाव, अलंकार र जीवनदर्शनको उच्च संयोजन र सहजता भेटिन्छ।

घिमिरेका नौमध्ये तीनवटा खण्डकाव्य लोकलयमा तथा छवटा खण्डकाव्य विविध शास्त्रीय लयछन्दमा संरचित छन्। दुवै प्रकारका लयविधानमा घिमिरेको उच्च कौशल प्रदर्शित छ। उनी सुप्रसिद्ध गीतकार पनि हुन्। ‘किन्नर किन्नरी’ गीत संग्रहमा एक सय पचास गीत संकलित छन्। नेपाली प्रकृति र लोकसंस्कृतिका, जीवनका अनेक अनुभूति र विशेषतालाई अत्यन्त सरल तर आकर्षक भाषाशैलीमा उनले प्रस्तुत गरेको पाइन्छ। ‘चैत–वैशाख’ उनको प्रतिनिधि कविता संग्रह हो। यसमा उनका सबैजसो चर्चित कविताहरू संकलित छन्। लोकलयमा दार्शनिकता र शास्त्रीय लयमा लोक धुकधुकीलाई प्रस्तुत गर्न सक्ने दक्षता नै घिमिरेको कवित्वको उच्च सौन्दर्यगत प्राप्ति हो। परिष्कारवादी शैली र स्वच्छन्दतावादी भावधाराको समीकरणमा घिमिरे सफल बने। उनको कवित्वमा नेपालीपन र प्रकृतिको युगचेतना प्रतिविम्बित भएको पाउन सकिन्छ। सहज रसभाव र अलंकारका माध्यमबाट ध्वनिमय काव्य सृजना गर्नु घिमिरेको उच्च प्राप्ति हो।

सर्वप्रथम राष्ट्रकवि माधव घिमिरेका विषयमा विद्यावारिधि (पिएचडी) सम्पन्न गर्ने सफलता प्राप्त गरें। ‘माधव घिमिरेका खण्डकाव्यको ध्वनि तात्विक अध्ययन’ विषयक अनुसन्धानमा पूर्वोक्त नौवटा खण्डकाव्यको विश्लेषण गरिएको छ। पूर्वीय साहित्य शास्त्रीय (संस्कृत) परम्परामा नवौं शताब्दीमा आचार्य आनन्दवर्धनद्वारा प्रतिपादित ध्वनिसिद्धान्त एउटा महत्वपूर्ण र ओजस्वी काव्य सिद्धान्तका रूपमा प्रतिष्ठापित छ। यो निर्णयात्मक समालोचना सिद्धान्त हो। यसले काव्यकृतिको स्तर निर्धारण गरी त्यसको कोटि वा मूल्य तोक्ने काम गर्दछ। उच्च स्तरको काव्यकृतिलाई ‘ध्वनिकाव्य’ को संज्ञा दिइन्छ। यसअन्तर्गत काव्यकृतिमा प्रस्तुत विषय सन्दर्भ, अलंकार तथा रसभावको विश्लेषण गरी स्तर तोक्ने कार्य गरिन्छ। अध्ययनका क्रममा मैले आश्रयगत, स्वरूपगत र कोटि निर्धारणगत आधार तयार गरी घिमिरेका खण्डकाव्यमा पद, पदावली, वाक्य, प्रकरण (अध्याय/सर्ग) र प्रबन्धमा आश्रित ध्वनिको खोजीतथा स्वरूपगतआधारमा वस्तु (विषय) ध्वनि, अलङ्कार ध्वनिर रसध्वनिको विश्लेषण गरेर काव्यको कोटि (स्तर) तोक्ने कार्य गरें। 

ध्वनि भनेको कविता काव्य वा रचनाको आन्तरिक सौन्दर्य हो। यसअनुसार कलागत मूल्यका आधारमा राजेश्वरी, इन्द्रकुमारी र गौरी क्रमश: प्रथम, द्वितीय र तृतीय वरीयता क्रममा पर्ने र अन्य खण्डकाव्यको क्रम त्यसपछि रहने निष्कर्ष निकालें। काव्यात्मकता, नाटकीयता र आख्यानीकरणको विशिष्ट संयोजन हुँदा काव्यकृतिको स्तर बढ्न जान्छ। माधव घिमिरेको उच्च परिष्कार चेतनाले उच्च काव्यकला निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको हो। परिष्कार चेतना भनेको नै सौन्दर्य चेतना हो। माधव घिमिरे उच्च सौन्दर्य चेतना भएका कवि/काव्यकार हुन्। उनका सबैजसो काव्यकृति (कविता, गीत, खण्डकाव्य र गीतिनाटक) उच्च सौन्दर्य चेतनाकै प्रतिफल हुन्। त्यसो हुनाले माधव घिमिरेको सौन्दर्यपूर्ण काव्यसृजन नेपाली साहित्य जगत्कै उच्च प्राप्ति बन्न पुगेको पुष्टि हुन्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.