सिर्जनात्मक व्यक्तित्वमा अनेक आयाम
माधव घिमिरे (१९७६–२०७७) भन्नेबित्तिकै एक विशिष्ट प्रतिभाको चित्र आँखा अगाडि आउँछ। नेपाली साहित्य परम्परामा राष्ट्रकविका रूपमा सुपरिचित अनुहार अब स्मृतिमा मात्र छ। उनको परिचय कवि, बालसाहित्यकार, नाटककार, निबन्धकार, आख्यानका (कथाकार), प्राज्ञ, शिक्षासेवी, सञ्चारकर्मी आदि बहुमुखी किसिमको छ।
बालसाहित्यकार घिमिरे
टालाटुली बटुली
सानी पनि छैन रे
ठूली पनि छैन रे (बालालहरी)
राष्ट्रकविकोे बालसाहित्यकार व्यक्तित्व प्रसिद्ध छ। उनले बालबालिकाका रुचि, बालमनोविज्ञान, स्तरअनुकूलका विषयवस्तुमा प्रशस्त मात्रामा बालगीत र बालकविताहरूको रचना गरेका छन्। उनका बालकविता पढ्दा पढ्दै बालबालिकाले कण्ठै पारिसक्छन्। उनका अहिलेसम्म प्रकाशित बालगीत/बालकविता संग्रह घामपानी (२०१०), बालालहरी (२०२६), राहुल यशोधरा (२०३५) र सुनपंखी चरी (२०५३) का साथै विभिन्न पत्रपत्रिकामा पनि प्रकाशित छन्। गुणात्मकताका आधारमा उत्कृष्ट उनको घामपानीमा तेइस, बालालहरीमा २४ वटा र सुनपंखी चरीमा तीस र बिजुले र बिजुला (२०६३) मा र अन्य फुटकरसमेत गरी जम्मा १०६ वटा कविता बालकविता र गीतका रूपमा छन्। राहुल यशोधरा उनको बालकाव्य हो। यसमा बुद्धकी पत्नी यशोधरा र पुत्र राहुलको संवादमा ध्रुवका कोणबाट बालसुलभ अभिव्यक्त जीवन्त बनेको छ। उनका प्रौढ कवितामा पनि उत्तरवाल्यवस्थाका बालपाठकका लागि उपयोगी गुण भेटिन्छन्। उनका बालकविता नेपाली लोकलय र शास्त्रीय लयमा रचिएका छन्। बालगीत तथा कविता बालसुलभ विषयवस्तु र लयकै कारण प्रभावकारी पनि छन्।
घिमिरेले नदी, हिमाल, खोला आदि प्रकृतिका साथै बालरचनामा पशुपक्षी, घामपानी, पुतलीखेल, जूनतारा, देशप्रेम, संस्कृति आदि विविध विषयवस्तुलाई बालसुलभ, रोचक र सम्प्रेषणीय बनाउन सरल तथा सहज नेपाली शब्दको कुशल प्रयोग गरेका छन्। बालालहरी कविता संग्रहका सम्बन्धमा घिमिरे (२०६६, भूमिका) ले यो बालकको लोरी हो, बालकको आफ्नै गीत हो। यो बालकका निम्ति बूढापाकाले दिने अर्ती–उपदेश होइन र शिशुका निष्पाप र कोमल प्रवृत्तिलाई स्वस्थ सुन्दरतिर ढल्काउनु मात्र यसको उद्देश्य हो भन्ने उल्लेख गरेका छन्। बिरालाको चरित्रलाई राष्ट्रकवि बालसुलभ ढंगले उजागर गरिएको छ। उनकोसुनपंखी चरी संग्रहका सबै गीत संगीतबद्ध भई बजारमा आएका छन्। प्राय: विद्यालयका पाठ्यपुस्तकमा समेटिइसकेका छन्। सरल भाषामा विविध सन्दर्भको चित्रण गर्न, नेपाली समाज र संस्कृतिको चित्र प्रस्तुत गर्न, दैनिक जीवनका क्रियाकलापबारे जानकारी दिन, कर्मशील बन्ने उत्प्रेरणा जगाउन र सबैले मिलेर बस्नुपर्छ भन्नेजस्ता सन्देश प्रवाह गर्न सफल छन्।
घामपानी (२०१०) संग्रहमा रहेका ‘भक्भके’, ‘डोको’, ‘हिमचुली’, ‘नदी’, खेलौना’, ‘धुव्रको कथा’ जस्ता घिमिरेका रचना शास्त्रीय छन्दमा छन्। यिनमा उपजाति, अनुष्टुप छन्दहरू प्रयुक्त छन्। अन्य रचना लोकलयमा संरचित छन्। ‘बालालहरी’ (२०२५) का सबै रचना लोकलयमा आबद्ध छन्। ‘सुनपंखी चरी’ (२०५३) तथा ‘बिजुले र बिजुला’ (२०६३) पनि लोकलयमै आधारित छन्। बालभाषाको प्रयोगद्वारा बालबालिकालाई मनोरञ्जन र नैतिक शिक्षा दिने उद्देश्यले रचिएका घिमिरेका जम्मा १०६ बालरचनामध्ये ६ वटा मात्र शास्त्रीय छन्दमा छन्। एक सय रचना विभिन्न लोकभाकामा रहेका छन्।
गद्यकार घिमिरे
माधव घिमिरेका गद्य रचनातर्फ निबन्धकार, कथाकार व्यक्तित्व सबल देखिन्छ। उनी निकै सफल गद्य शिल्पी हुन्। उनले लेखेका भूमिका, शुभकामना आदिमा पनि उनको प्राञ्जल गद्यकारिता पढ्न पाइन्छ। गद्य लेखनमा घिमिरे संस्कृतमा प्रचलित– गद्यं कविनाम् निकषम् वदन्ति भन्ने भनाइ लागू हुन्छ। उनी गद्य कसीमा पनि सफल कवि हुन्। गद्य लेखन कविहरूका लागि कठिन हुन्छ भनिन्छ तर उनको गद्य लेखन गद्यका पाठकका लागि बेजोड शिल्पसाध्य लेखन देखिन्छ।
घिमिरेका कवितामा कुँदिएको शिल्प गद्यमा झन् प्राञ्जल लाग्छ। भाषिक सामथ्र्यमा भर्भराउँदो र परिपक्व पनि लाग्छ। ‘आफ्नो बाँसुरी आफ्नै धुन र चारु चर्चा उनका उल्लेख्य गद्य कृति हुन्। यी कृतिका कुनै पाठ पढ्न थालेपछि गद्य पठनमा बानी परेको पाठक घिमिरे त कवि हुन् गद्य लेख्न जान्दैनन् भनेर पाना छोडेर भाग्दैन। लाग्छ, उनको गद्य शिल्पको सामथ्र्यले कवितालाई पनि उचालिरहेको छ। उनले गद्य कविता लेखेर प्रकाशन गरेनन् तर उनको गद्य लेखन कविता जस्तै लाग्छ। उनले इन्द्रेणी पत्रिकाको पूर्णांक ६ (२०१३) मा लेखेको सम्पादकीयलाई उदाहरणका रूपमा लिन सकिन्छ :
गद्य प्रवाह हो भने पद्य उर्मी हो। हृदयको भाव कहिले छन्द बनेर निस्कन खोज्छ कहिले तरल गद्य बनेर निस्कन खोज्छ। ...गद्य गद्यै हो, पद्य पद्यै हो। यी दुईमा एउटाले अर्कोको स्थान लिन सक्तैन।
यस सिद्धान्तलाई घिमिरेले रचनामा लागू गरेका छन्। उनले सम्पादन गरेका पत्रिकाको सम्पादकीय, निबन्ध र भूमिकाहरूमा पनि मौलिक र प्राञ्जल गद्यको प्रयोग गरेका छन्। उनी पद्य लेख्न जान्दछु भन्दैमा धेरै लेख्दैनन्। उनका समग्र गद्य र पद्यलाई हेर्यो भने सराबरी लेखे होला तर दुवै लेखनलाई खँदिलो बनाउन सके यो उनैको सफलता हो। पद्यतर्फ उनको अनुभूतिको झिल्का स्पर्स गरेर कुँदिएका कोमलतम कवि हुन् र यो विशेषता उनका गद्य लेखनमा पानि पाइन्छ। ‘यौटै सानो सरल कृतिमा पूर्ण संसार देऊ’ भन्ने उनको उद्घोषण लेखन सूत्र पनि हो।
गीतकार घिमिरे
माधव घिमिरे नेपाली गीतरचना परम्पराका सुप्रसिद्ध गीतकार हुन्। लोकभाकालाई सरल, सहज शब्द विन्यासद्वारा गीति संरचनाभित्रै गम्भीर कवितात्मक भावविधानतर्फ आरोहण गराउँदै गीत रचना गर्ने उनको सामथ्र्य अपूर्व छ। उनले आफ्ना गीतमा नेपाली प्रकृति, संस्कृतिका विविध पक्षलाई समेट्न सकेका छन्। नेपाली ग्रामीण जीवन पद्धतिका मार्मिक सन्दर्भहरूलाई हृदयस्पर्शी ढंगले गीतमा उनेका छन्। नेपाली लोकभाकालाई साहित्यिक उचाइ प्रदान गर्दै आफ्ना गीतमा सजाएका छन्। उनका डेढ सय गीतको संग्रह ‘किन्नरी किन्नरी’ (२०३३) उनको गीतकार व्यक्तित्वलाई अभिलेखन गर्ने प्रमुख कृति हो।
घिमिरेका गीतमा शब्द चयन एवं शैलीगत सरलता र भावगत गहनता पाइन्छ। उनका गीतिरचनामा नेपाली पहाडी, हिमाली प्रकृति र ग्रामीण जीवनशैलीका जीवन्त बिम्ब सल्बलाइरहेका हुन्छन्। उनी अरूले नदेखेका नभेटेका नयाँ र पुराना बिम्बलाई हुबहु टिपेर गीत रचना गर्न सिद्धहस्त छन्। नेपाली लोकभाकाहरू खासगरी झ्याउरे, सेलो र सबाईका लयमा उनका गीतहरू उनिएका छन्। तिनमा मानव मन र राष्ट्र घोलिएका छन्। झ्याउरे र सेलो छन्दमा रचिएका दुई नमुना यस्ता छन् :
नेपाल आमा ! कहीँ छौ घाम ! कहीँ छौ छायाँ हे
परन्तु सारा सन्तानमाथि एउटै माया हे ! (किन्नरकिन्नरी)
राष्ट्रभक्तिको गीत होस् कि मानव संवेदना र प्रेमको गीत होस् वा बालगीत होस्, उनी उसरी नै गीतलाई लयात्मक र गम्भीर भावले सजाइरहेका हुन्छन्। उनका गीत पढ्दा पनि र रेकर्ड सुन्दा पनि गीतमा कविताको प्राण भरेजस्तो र कवितामा गीतको संगीततत्व मिसिएको जस्तो लाग्छ। सवाई छन्दको एउटा नमुना यस्तो छ :
शीतको थोपा अल्मलियो फूलको तरेलीमा
तिम्रो आँसु छिपेको छ मेरै परेलीमा !
यहाँ प्रकृति पनि छ, मानव प्रेम पनि छ, मानव भावना पनि छ, श्रुतिमय सिर्जन सामथ्र्य पनि छ। घिमिरेको गीतकार व्यक्तित्वको उचो धरहरा सामथ्र्य हो। यही अवस्था उनका बालगीति रचनामा पनि देखिन्छ :
भँगेरा र भँगेरी कुरा गर्छन् कसोरी
चुरचुर गर्छ भँगेरो चिरचिर गर्छे भँगेरी !
यहाँ भँगेरा भँगेरीको कुरा मात्र छ तर यहाँ बालबालिकाका बालखेलको शैली छ। युवायुवतीका फरक लिंगप्रतिको आकर्षण पनि छ। उनका यी गीतको लय, शिल्प र चेतना तथा दृष्टिबिन्दुको सिर्जनात्मक प्रवाह अपूर्व लाग्छ। उनका गीतले सुसेलेको देशभक्ति प्रकृति केन्द्रित मात्र छैन, नेपाली मन र मुटुसँग देशको माटोलाई घोलिएको छ। जस्तै :
नेपाली हामी रहौंला कहाँ नेपालै नरहे
उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे।
(किन्नर किन्नरी)
यस गीतमा प्रकृति र मनको अन्तर्घुलन देख्न सकिन्छ। उनका झमझम पानी पर्यो असारको रात, गाउँछ गीत नेपाली, फूलको थुंगा बगेर गयो, आजै र राति के देखें सपना, तिर्खाकी पानी, सारंगी त रेटे पनि, उनको प्रीति पहिले हो किजस्ता गीतहरू निकै चर्चित छन्। प्राय: नेपालीका मन मनमा रुझेबिझेका गीत हुन्। उनी नेपाली गीति सिर्जन परम्परामा बिर्सन नसकिने केन्द्रीय प्रतिभा हुन्।
कवि एवं काव्यकार घिमिरे
माधव घिमिरे नेपाली कविता परम्परामा विशिष्ट कविका रूपमा परिचित छन्। उनको यही प्रतिभालाई राष्ट्रले राष्ट्रकविका रूपमा आदर गर्यो। उनी मूलत: स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी/शास्त्रीयतावादी शैलीबाट विशिष्ट कवि प्रतिभाका रूपमा स्थापित गर्यो। कविताका विचारगत चिन्तनगत विविध पक्षहरू हुन्छन्। कविताको कलाकै मूलबाटोको कोणबाट हेर्दा घिमिरे नै नेपाली साहित्यका विशिष्ट कला शिल्पी हुन्। उनी लक्ष्मीप्रसाद देवकोटाका पनि र भानुभक्त र लेखनाथ पौडेलका पनि उत्तराधिकारी हुन्। आफ्नो समयभरि आफैसँगको प्रतिस्पर्धामा विजयी प्रतिभा हुन्।
राष्ट्रकवि माधव घिमिरे भन्नेबित्तिाकै एक विशिष्ट प्रतिभाको चित्र आँखा अगाडि आउँछ। नेपाली साहित्य परम्परामा राष्ट्रकविका रूपमा सुरपरिचित अनुहार अब स्मृतिमा मात्र छ। उनको परिचय कवि, बालसाहित्यकार, नाटककार, निबन्धकार, आख्यानका (कथाकार), प्राज्ञ, शिक्षासेवी, सञ्चारकर्मी आदि बहुमुखी किसिमको छ।
घिमिरेको कविता यात्राको उपल्लो उपलब्धि चैत–वैशाख (२०६९) हो। यस कृतिमा ८४ वटा कविता छन्। यीमध्ये ११ वटा विभिन्न वैदिक ऋचाहरूका भावानुवादका रूपमा छन्। बाँकी सबै कविता मौलिक विषयवस्तुमा आधारित अधिकांश पत्रपत्रिका र पाठ्यपुस्तकमा समेत प्रकाशित भइसकेका चर्चित कविताहरू छन्। यी कवितामा विभिन्न शास्त्रीय शार्दूलविक्रीडित, पृथ्वी, दु्रतविलम्बित, शिखरिणी, स्रग्धरा, मन्दाक्रान्ता, मालिनी, पञ्चचामर, उपजाति, अनुष्टुप, मात्रिक, वसन्ततिलकाजस्ता वर्णमात्रिक छन्द प्रयुक्त छन्।
घिमिरे छोटा रचनामै जीवनजगत्का व्यापक क्षेत्रलाई अटाउने कवि हुन्। यस कृतिको मात्र सर्वेक्षण गर्दा पनि घटीमा पृथ्वी छन्दका तीन श्लोकदेखि बढीमा उपजाति छन्दका ९१ श्लोक छन्। जम्मा ८४ मध्ये उपजातिका २२, शार्दूलविक्रीडितका २१ र मन्दाक्रान्ताका १५ कविता समेटिएका छन्। पृथ्वी, दु्रतविलम्बित, स्रग्धरा र मालिनीका एक–एक श्लोक मात्र छन्। घिमिरेका ‘राष्ट्रिय झन्डा’, ‘कलमवीर’, ‘वैशाख’, ‘नवयुवक’, चरीलमिनी’, ‘कालीगण्डकी’, ‘गाली गर्दैन सारंगी’, ‘दुलही हिमाल : कञ्चनजंघा’ जस्ता समय समयमा पुरस्कृत भएका र विभिन्न पाठ्यपुस्तकमा रहेका चर्चित कविता यसै संग्रहमा छन्। संख्यात्मक रूपमा शार्दूलविक्रीडित, उपजाति, अनुष्टुप आदिमा उनको शिल्प सामथ्र्य बढी देखिन्छ, यद्यपि उनको प्रिय छन्द मन्दाक्रान्ता देखिन्छ :
आई कैल्यै पनि नसकिने चैत–वैशाख मेरा
लाई कैल्यै पनि नसकिने प्रीति नौलाख मेरा !
(चैत–वैशाख)
घिमिरेका चर्चित कविताहरू मन्दाक्रान्ता छन्दमै संरचित छन्। उनको अर्को चर्चित कविता यसरी मन्दाक्रान्ता छन्दमै बगेको छ :
मैले हेरे पनि नजरले दाग मेरो नलाग्ने
मैले भोगे पनि हृदयले भाग मेरो नलाग्ने
ओहो यौटा कुसुम पनि यो जिउँदो ज्योति जस्तो
कस्तो मीठो अनुभव भनूँ या भनूँ प्रीति जस्तो !
(दुलही हिमाल : कञ्चनजंघा, चैत–वैशाख)
शास्त्रीय छन्दलाई भानुभक्तले झैं लोकभावानुकूल सहज र सरस बनाउँदै अघि बढ्नु घिमिरेको विशेष लय सामथ्र्य देखिन्छ। उनी भानुभक्त र लेखनाथ परम्पराका उत्कृष्ट प्रतिभा हुन्, अर्थात् ‘यौटै सानो सरल कृतिमा पूर्ण संसार दिने’ कवि हुन्। उनले आफ्ना फुटकर कविता र काव्य रचनामा पनि यही सानो सरल कृतिमा पूर्ण संसार अटाउने प्रयास गरेका छन्। घिमिरेको कवि व्यक्तित्वले एक श्लोके मुक्तक रूपदेखि फुटकर कविता र खण्डकाव्यसम्मको यात्रा तय गरेको छ। उनले लेखिरहेको ऋतम्भरा महाकाव्य जीवनकालमा सार्वजनिक हुन सकेन। त्यस कृतिलाई कविता र शास्त्र पनि बुझ्ने प्रतिभाबाट सम्पादन गरेर सार्वजनिक गर्न सके नेपाली साहित्यमा नयाँ उपलब्धि हुनेछ।
घिमिरेका सबै काव्य खण्डकाव्य नेपाली कविताको मझौलो स्वरूप सिर्जना परम्परामा उल्लेख्य छन्। गौरी, राजेश्वरी, राष्ट्रनिर्माता, इन्द्रकुमारी आदि उनका काव्यका रूपमा उल्लेख्य छन्। उक्त काव्यहरूसँगै राजेश्वरी कृतिमा समेटिएको पापिनी आमा, राष्ट्रनिर्मातामा समेटिएको धर्तीमाता इन्द्रकुमारीमा समेटिएको गौथली र गजधम्बे आदि पनि त्यत्तिकै चर्चित छन्। यी काव्यका विषयमा अनेक अध्ययन अनुसन्धान भएका छन्। धेरै त विद्यावारिधि शोध नै भइसकेका छन्।
नाटककार घिमिरे
साहित्य यात्राका पछिल्लो चरणमा उनको लेखन नेपाली नाट्यजगत्का लागि वरदान सावित भएको छ। उनले काव्ययात्राको उत्तरार्धतिर गीतिनाट्य लेखनमा कलम जमाए। नाट्य प्रतिभाको पूर्वचेष्टा २०१७–२०१८ देखि नै आरम्भ भए पनि तीसको दसकदेखि यस विधामा कलम जमाए। शकुन्तला (२०३८), मालती मंगले (२०३९), विषकन्या (२०५०), अश्वत्थामा (२०५३), हिमालपारि हिमालवारि (२०५४), देउकी (२०५५) र बालकुमारी (२०६१) उनका नाटककार व्यक्तित्वलाई चिनाउने कृति हुन्। उनका प्राय: गीतिनाटक प्रकाशित हुनुका साथै प्रदर्शन पनि भइसकेका छन्।
गीतिनाटकमा उनले इतिहास, पुराण र लोकमिथकका साथै सामाजिक सांस्कृतिक समस्यालाई उजागर गरेका छन्। उनको शकुन्तला गीतिनाटक महाभारतको शकुन्तलोपाख्यानबाट कथावस्तु लिइएको दुष्यन्त र शकुन्तलाको प्रेम–कथामा आधारित शृंगार रसप्रधान कृति हो। यस कृतिको मञ्चनको सफलताबाटै घिमिरे गीतिनाटकका क्षेत्रमा आकर्षित बन्दै अर्को चर्चित नाटकमालती मंगले र अरू नाटक रचना गरेका हुन्। मालतीमंगले लोककाव्य र इतिहासमा आधारित शृंगार रसप्रधान कृति हो। यस कृतिले दासप्रथाको अन्त्य हुनुपर्छ भन्ने सन्देश प्रवाह गरेको छ। पौराणिक विषयवस्तुमा आधारित अश्वत्थामाको प्रकाशनबाट अन्तर्राष्ट्रिय क्षेत्रमा समेत उनको ख्याति फैलिएको छ।
घिमिरेको हिमालपारि हिमालवारि मनाङ जिल्लामा प्रचलित लोकमिथकमा आधारित छ भने देउकी सामाजिक एवं सांस्कृतिक विषयवस्तुमा आधारित वात्सल्य रसप्रधान गीतिनाटक हो। यस नाटकले नेपालको सुदूर पश्चिमका केही जिल्लामा परम्पराका रूपमा चल्दै आएको रुढिग्रस्त देउकी प्रथालाई विषयवस्तुको रूपमा ग्रहण गरेको छ। बालकुमारी गीतिनाटकले विधवाहरूको पुनर्विवाह हुनुपर्ने सन्देश बोकेको छ। यी नाटक मञ्चनीय र बहुमुखी जीवनचेतनाका साथ कालिदासका जस्तै उच्च कविताकलासम्पन्न देखिन्छन्।
समापन
राष्ट्रकविका सिर्जनात्मक व्यक्तित्व कवि, गीतकार, बालसाहित्यकार, निबन्धकार, कथाकार र नाटककारका रूपमा छ। उनका यी व्यक्तित्वहरूले उनलाई नेपाली साहित्यका विकासमा निबन्ध, आख्यान, कविता र नाटक जस्ता चारवटै सिर्जनात्मक विधामा कलम चलाउने बहुमुखी व्यक्तित्वका रूपमा चिनाउँछ। यी बहुमुखी व्यक्तित्वमध्ये उनी कवि र नाटककारका रूपमा परिचित छन्। उनको नाटककार व्यक्तित्व पनि कवि व्यक्तित्वकै विस्तारका रूपमा देखिन्छ। कृतिको वस्तुगत मूल्यांकनबाट मात्रै उनको बहुमुखी व्यक्तित्वको सही मूल्यांकन गर्न सकिन्छ। नलेखेका र नछोएका विषयबाट उनको आलोचना गर्नुको कुनै अर्थ छैन। उनले जुन विषयवस्तु र विचार प्रवाह गरे र त्यसमा कति कलात्मक रूपमा प्रस्तुत हुन सके भनेर हेर्दा साहित्यिक व्यक्तित्व बहुमुखी र आफ्नै प्रतिस्पर्धाको अपूर्व उचाइमा देखिन्छ।