हाइटी भूकम्प : तीन सय बढीको मृत्यु, हजारौँ घाइते
हाइटी : शनिबार गएको ७.२ रेक्टर स्केलको भूकम्पमा तीन सय बढी नागरिकले ज्यान गुमाएको हाइटी सरकारले जनाएको छ। हाइटी सरकारका अनुसार भूकम्पबाट ३०४ जनाले ज्यान गुमाउनुका साथै १ हजार ८ सय बढी घाइते भएका छन्।
अहिले भूकम्प प्रभावित क्षेत्रमा उद्धार र अत्यावश्यक स्वास्थ्य सहायताका लागि टोली पठाइएको त्यहाँको सरकारले जनाएको छ।
‘स्वास्थ्य हाम्रो सबभन्दा ठूलो आवश्यकता हो’, प्रधानमन्त्री एरियल हेनरीले भने, ‘अत्यावश्यक पर्ने स्वास्थ्य सेवाका लागि टोली परिचालन गरिएको छ। थप सहायता पठाउने छौँ।’
अहिले जेरिमीको दक्षिणी सहरको अस्पताल बिरामीले भरिएको बताइएको छ।
हाइटीमा सन् २०१० को भूकम्पमा भत्किएका संरचना पुनर्निर्माण सम्पन्न नभइसक्दै ११ वर्षपछि पछिल्लो शनिबार बिहान अर्को घातक भूकम्प गएको हो। त्यसबेलाको भूकम्पमा २ लाख मानिसले ज्यान गुमाएका थिए। साथै पुनर्संरचनाका लागि खर्बौँ डलर खर्च गर्नुपरेको थियो।