कमल दह घुम्न जाने होइन त ? (फोटोफिचर)
रुकुमकोट : रुकुम पूर्वको सिस्ने गाँउपालिका- ५ रुकुमकोटमा रहेको सुन्दर कमल दह संरक्षणमा स्थानीय सरकारले चासो नदिएपछि दह संरक्षणमा स्वःस्फूर्तरुपमा स्थानीय जुटेका छन् । स्थानीय मदन शाहको नेतृत्वमा कमल दह सरसफाइ तथा संरक्षण अभियान थालिएको हो ।
पछिल्लो समयमा कमल दहमा प्रदूषण बढ्न थालेको छ भने नजिकैको बनजंगल विनास हुँदा पानीको सतह घट्दै गएको छ । बर्षातको समयमा दह भरिएर बाहिर बग्थ्यो, तर केही वर्षयता चार, पाँच मिटर तल पानी घटेको छ ।
स्थानीय मदन शाहले शनिबार कमल दह सरसफाइ अभियान संचालन गरिरहेका छन्। शाहको नेतृत्वमा हरेक शनिबार कमल दहको सरसफाइ र छेउछाउमा बृक्षारोपण अभियान संचालन भइरहेको छ । सुरक्षाकर्मी र स्थानीय बासिन्दाको सक्रियतामा कमल दह सरसफाइ अभियान नियमित संचालन भएको ११ औं साता पुगेको शाहले बताए ।
सिस्ने गाउँपालिकाले कमल दह संरक्षणका नाममा कुनै सहयोग नगरेको अभियान्ता शाहले बताए । हरेक वर्ष दहमा रहेको कमलको जरा निकाल्नको लागि एक डेढ लाखमा टेण्डर गरेर राजश्व असुली गर्ने गरेको भएपनि ताल संरक्षणमा कुनै चासो नदिएको उनले बताए ।
ठेकेदारले जथाभावी कमलको जरा निकाल्दा कमल नै सुक्ने अवस्थामा पुगेको र लोप हुने अवस्थामा पुगेपछि यस वर्षदेखि जरा निकाल्न बन्द गरिने उनले बताए । एक वर्ष रोकेर अर्को वर्ष निकाल्दा केही असर हुँदैन तर प्रत्येक वर्ष निकाल्दा कमलको बिउ नै मासिने भएकाले स्थानीय युवाहरुको पहलमा गाउँपालिकालाई टेण्डर गर्न नदिने र जरा पनि निकाल्न नदिने गरि अभियान चालिएको शाहले बताए ।
गाउँपालिकाले आफू निकट नेता बामदेव गौतमलाई कमल दह संरक्षण समितिको अध्यक्ष तोकेको छ । तर त्यो समितिले अहिलेसम्म दहको संरक्षणमा कुनै चासो दिएको छैन । गाउँपालिकाले उल्टै दहबाट हरेक वर्ष राजश्व दोहन गरिरहेको तर यसको संरक्षण सम्बद्र्धनमा कुनै अग्रसरता नदेखाएको स्थानीयको गुनासो छ ।
नागवेली डाँडाहरुले घेरिएको सुन्दर रुकुमकोट उपत्यका र मध्यपहाडी राजमार्गको छेउमै रहेको सुन्दर कमल दह(ताल) आन्तरिक तथा बाह्य पर्यटकहरुको रोजाइमा पर्न थालेको छ ।
पाइला जस्तो आकारमा उत्तर–दक्षिण फैलिएको कमल तालमा यतिवेला कमल फुलेर ढकमक हुन थालेको छ । कमलको फूलले यो तालको सुन्दरता अझ थपेको पाइन्छ । तालको चारै तिर कमल तैरिरहेको र विभिन्न जातका चराहरु तालमा डुबुल्की मारेको दृश्यले जो कोहीलाई पनि आर्कषित गरिरहेको हुन्छ ।
समुन्द्रि सतहदेखि एक हजार पाँच सय ८१ मिटर उचाइमा रहेको यो ताल एक हजार नौ सय ५० बर्गमिटर क्षेत्रफलमा फैलिएको छ । यो दह करिब ३५ मिटर गहिरो छ । जैविक विविधताका दृष्ट्रिकोणले महत्वपूर्ण यो तालमा जेठदेखि कार्तिक महिनासम्म कमलको फूलले ढाकेको हुन्छ । रुक्मिणी तालको नामले चिनिने यो तालमा कमल पाइने भएकाले पछिल्लो समय कमल दह (ताल) को नामले चिनिने गरिन्छ ।
कमलको जराको अचार एकदमै स्वादिष्ट हुन्छ । चाना सुकाएर राख्ने गरिन्छ । आयुर्वेदमा कमलको जरा पिसाब, दम, कमलपत्ति(जन्डिस) लगायतका रोगहरुको औषधिको रुपमा प्रयोग गरिन्छ । असार, साउन र भदौतिर तालले माला भीरेझै देखिने कमलको हरियो पात अनि त्यसमथि फूलेको फूलले सुनमा सुगन्ध थपेझै हुन्छ । यो तालको पूर्वमा पर्ने वनमा विभिन्न किसिमका जडिबूटीहरू पाइन्छन् ।
तालले समय अुनसार रंग समेत फेर्ने गरेको स्थानीयको भनाइ छ । करिब ४० प्रजातिका चराहरु ताल आसपासमा बस्ने गर्दछन् । जाडो याममा अन्य देशबाट समेत चरा आउने गर्दछन् । ताल उत्पतिका विषयमा कुनै ठोस प्रमाण नभेटिए पनि धार्मिक तथा पर्यटकीय महत्व बोकेको यो तालमा बर्षेनि शिवरात्री, चैत्रे दशैं, हरितालिका तिज र बडादशैंमा भव्य मेला लाग्ने गरेको स्थानीय फनेन्द्र आचार्यले बताए ।
तालमा नुहाएमा विभिन्न रोगहरू निको हुने जनविश्वास रहेको पाइन्छ । रुकुम पूर्व सिस्ने गाँउपालिका ५ रुकुमकोटको बाहुन्थानामा अवस्थित यो तालमा नुहाउदा पाप नाश हुन्छ भन्ने धार्मिक किम्बदन्ति अनुसार माघे संक्रान्तिमा तिर्थयात्रीहरू आएर नुहाउने गर्छन्।
आचार्यका अनुसार चैत्र पहिलो सातादेखि वैशाख अन्तिम सातासम्मको समय पानीमुनि रहेको कमल निकाल्ने उपयुक्त समय मानिन्छ । तालबाट निकालेको कमललाई प्रतिकिलो चार सयका दरले बिक्री गर्ने गरिएको स्थानीय उर्मिला गौतमले बताइन ।
उनका अनुसार, कमल काँचै पनि खान सकिन्छ । यसलाई अचारको रूपमा पनि प्रयोग गरिन्छ । स्वदेशका विभिन्न ठाउँका साथै विदेशमा पनि रुकुकोटको कमल निर्यात हुने गरेको छ ।
जेठको पहिलो सातादेखि कमलको बोट पलाउन सुरु गर्छ । साउन महिनाभरि ताल छेउछाउको भाग हरित बनिसक्छ । त्यसपछि कमल फुल्न सुरु गर्छ । फूलसँगै हरियाली भने कात्तिकसम्मै रहन्छ । यो बेला ताल घुम्न लायक हुन्छ । यहाँ दैनिक सयजना जति मानिस ताल हेर्न आउने गर्दछन् ।
तालकै छेउमा रहेको ब्राम्हाजीको मन्दिर पनि पर्यटकहरुलाई थप आर्कषित गरेको छ । ताल घुमेर मन्दिरको दर्शन गरे मनोकाँक्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ । काठमाडौंबाट पोखरा बाग्लुङ्गहुँदै मध्यपहाडि राजमार्गबाट गाडी वा बाइकमा करीब सात, आठ घण्टामा रुकुमकोटमा रहेको कमल ताल पुग्न सकिन्छ ।