तालिबान लडाकू राजधानी छिर्न थालेपछि राष्ट्रपतिले बोलाए आपतकालीन बैठक
काबुल: अफगानिस्तानको राजधानी काबुलमा तालिबान लडाकूहरु प्रवेश गर्न थालेपछि राष्ट्रपति अशरफ घानीले आपतकालीन बैठक बोलाएका छन् ।
यस्तै उनले कुटनीतिक नियोगका अधिकारीहरुसँग पनि वार्ता सुरु गरेका छन् । उनले यसअघि अफगानिस्तान गम्भीर खतरामा रहेको प्रतिक्रिया दिएका थिए ।
पछिल्लो समय तालिबान लडाकूहरु राजधानी प्रवेश गर्ने क्रम सुरु भएपछि अफगानिस्तानमा थप संकट बढेको बताइएको छ । तालिबान लडाकूहरुले पछिल्लो केही सातामै थुप्रै सहर कब्जा गरिसकेका छन् ।
राजधानी वाहेक अरु ठूला सहर कब्जा गर्दै लडाकूहरु राजधानीको ढोकामै आइपुगेको टिप्पणी हुन थालेको छ । स्थानीय मिडियाका अनुसार तालिबान लडाकूले प्रमुख सहर जलालाबाद लगायत ठूला सहर कब्जा गरिसकेका छन् ।
अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता भइसकेपछि तालिबान लडाकूले दर्जनौँ प्रान्त र सहर कब्जा गरिसकेका छन् । ३४ प्रान्तमध्ये आधा जति उनीहरुले कब्जामा लिइसकेको बताएका छन् ।
पछिल्लो समय उनीहरु राजधानी काबुलमा प्रवेश गर्न थालेपछि थप संकट निम्तिएको भन्दै राजनीतिक नेतृत्व चिन्तित बनेको हो । राष्ट्रपति घानीले विभिन्न भेटघाट र परामर्श लिन थालेका छन् ।