‘सरकार, हामीलाई छिटो उद्धार गर’

‘सरकार, हामीलाई छिटो उद्धार गर’

काठमाडौं : कैलाली धनगढीका प्रशान्त भट्ट (परिवर्तित नाम) ६ वर्षदेखि अफगानिस्तानको काबुलमा छन्। त्यहाँको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षार्थ अमेरिकी सेनाको क्याम्पमा काम गर्छन्। उनीसँगै त्यहाँ १२ नेपाली काम गरिरहेका छन्। उनीहरूले हवाई उडान ठप्प रहे पनि जतिसक्दो चाँडो उद्धार गरेर स्वदेश फर्काइदिन माग गरेका छन्। 

‘सरकारले हामीलाई यहाँबाट जतिसक्दो चाँडो उद्धार गरेर हाम्रो जीउज्यानको रक्षा गरिदेओस्’, भट्टले अन्नपूर्ण पोस्ट्सित भने। सरकारले भने तत्काल उद्धारको कुनै योजना बनाएको छैन। जोखिम मोलेर अनौपचारिक रूपमा पुगेका नेपाली त झनै त्रासमा रहेको जनाइएको छ।  

विद्रोही समूह तालिबान काबुल प्रवेश गरेपछि आफूहरू तनावमा रहेको भट्टले बताए। ‘अहिले काबुल तनावग्रस्त छ, स्थिति खराब छ’, भट्टले भने, ‘हामी डेन्जर जोनमा छौं।’ 

विद्रोहीहरू राजधानीभित्र छिरिसकेकाले जति बेला जे पनि हुन सक्ने त्रास उत्पन्न भएको उनले सुनाए। ‘हामीले सावधानी त अपनाइरहेका छौं। तर, जति बेला जे पनि हुन सक्ने डरले चिन्तित छौं’, भट्टले भने। 

अफगानिस्तानमा नेपाली राजदूतावास नभएकाले उद्धारका लागि कहाँ कोसँग पहल गर्ने अन्योल भएको उनले बताए। काबुलमा गैरआवासीय नेपाली संघको राष्ट्रिय समन्वय समितिसमेत छैन। अमेरिकी सेना काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षामा अझै कार्यरत छन्। उनीहरूले नेपाली कामदारलाई उच्च सतर्कता साथ बस्न भनेका छन्। ‘भित्र त त्यस्तो केही भएको छैन। तर, हाई अलर्ट भएर बस्न निर्देशन दिएका छन्’, उनले भने। 

तालिबान विद्रोहीले शान्तिपूर्ण तवरले सत्ता प्राप्तिको पक्षमा रहेको बताइरहे पनि ढुक्क हुन नसकिने त्यहाँ रहेका नेपालीले बताएका छन्। ‘हामी अमेरिकी सेनासँग भएकाले केही राहत त महसुस गरेका छौं। तर, मनमा शान्ति छैन’, नाम नबताउने सर्तमा अर्का नेपालीले भने। तालिबानले राजधानीसमेत कब्जा गर्दै आएकाले तत्काल शान्ति होलाजस्तो नदेखिएको उनले बताए। वैदेशिक रोजगारीका क्रममा बर्सेनि हजारभन्दा बढी नेपाली अफगानिस्तान पुग्ने गरेको पाइएको छ। 

तालिबान समूहले काबुलमा हिंसा नगर्न र बाहिरिन चाहनेलाई सुरक्षित रूपमा निस्कन दिन आफ्ना लडाकुहरूलाई निर्देशन दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। तालिबानले सुरक्षा दिइएका क्षेत्रतर्फ जान आग्रह गरेको छ। उनीहरूले आइतबार बिहान मात्रै लडाकुहरूले पूर्वी सहर जलालावादलाई बिनासंघर्ष नियन्त्रणमा लिएका थिए। पराष्ट्र मन्त्रालयका अनुसार अफगानिस्तानमा औपचारिक रूपमा १ हजार ४ सय नेपाली कार्यरत छन्। वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्ण दवाडीले संस्थागतभन्दा व्यक्तिगत रूपमा जाने कामदारको संख्या धेरै रहेको बताए। यस्ता कामदारको रेकर्ड पाउन मुस्किल रहेको दवाडीको भनाइ छ। संस्थागत रूपमा गएका ३ सय ५७ जनाको वास्तबिक अवस्था सोमबार बेलुकासम्म पत्ता लगाइसकिने उनले बताए। ‘कागजातका आधारमा व्यक्तिगत श्रम स्वीकृति दिइएको हुन्छ’, उनले भने, ‘उनीहरू कता छन्, कस्तो अवस्थामा छन्, पत्ता लगाउन मुस्किल पर्छ।’ संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अफगानिस्तानमा रहेका नेपालीलाई सुरक्षित रूपमा उद्धार गर्न सरकारलाई निर्देशन दिएको छ।

समितिको आइतबार बसेको बैठकले हवाईलगायत अन्य माध्यमबाट त्यहाँ रहेका नेपालीहरूको तत्काल उद्धार गर्न भनेको हो। बैठकमा परराष्ट्रसचिव भरतराज पौड्यालले कुनै पनि नेपाली आक्रमणमा नपरेको र सबै जना राजधानी काबुलमै रहेको जानकारी प्राप्त भएको बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.