बगानमा विषादी
विभिन्न रोग संक्रमण घटाउन कृषिजन्य वस्तुमा विषादीको प्रयोग बढ्दै गएको छ। उत्पादन बढाउन, रोग किराबाट जोगाउन र हेर्दा पनि राम्रो देखिने बनाउनकै लागि यसको प्रयोगमा कृषक र व्यवसायीको ध्यान तानिएको छ। रसायनिक मलको प्रयोगबाट उत्पादन बढाउन लोभिएपछि विस्तारै विषादीको प्रयोगमा पनि कृषकलाई बानी परेको देखिन्छ। जुन सकारात्मक पक्ष होइन। बिक्री र आम्दानीमा मात्रै ध्यान दिएर मानव स्वास्थ्यलाई नै गम्भीर असर पर्ने विषादीको प्रयोग गरेर कृषिजन्य वस्तु उत्पादन गर्दा उत्पादकलाई मात्रै होइन, छिमेकीसँगै नेपालको अर्थतन्त्रमा समेत नकारात्मक प्रभाव परेको छ। यसको ज्वलन्त उदाहरण हो, चियामा घातक विषादीको प्रयोग। यसले मानव स्वास्थ्यमा असर त पारेको छ नै, ९० प्रतिशत चिया तेस्रो मुलुकमा निर्यात गर्न पनि सकिएको छैन।
सबैभन्दा बढी चिया उत्पादन हुने इलाम र झापाका चिया बगानमा घातक विषादीको अत्याधिक प्रयोग हुन्छ। बगानमा विभिन्न रोग र संक्रमण घटाउने बहानामा मानव स्वास्थ्यका दृष्टिले निकै घातक मानिएका विषादीहरू खुलेआम प्रयोग भएको भेटिन्छ। त्यो पनि कामदारले बिनासुरक्षा मापदण्ड छर्किने गरेका छन्। जहाँ क्लोरोपाइरिफस, साइपर मेथिनलगायतका कडा विषादीको प्रयोग उच्च छ। यी विषादी छर्किएपछि २१ दिनसम्म कुनै पनि कृषिउपज प्रयोग गर्न मिल्दैन। तर, हातले टिपेको चिया फेरि सात दिनमै टिप्ने गरिएको छ। यसमा एल्लो लेबलको भए पनि यसको पर्खने समय कम्तिमा २१ दिन हुने विज्ञ बताउँछन्। तर, यसमा ध्यान दिएको छैन। यस्ता विषादी पातमा लागेपछि जरासम्म नै विषाक्त हुने भएकाले प्रयोग राम्रो मानिँदैन। जसका कारण तेस्रो मुलुकले यो चिया लिँदैनन्।
चिया कृषकले कीरा मार्न प्रयोग गर्ने ‘बुलेट’मा क्लोरोपाइरिफस र साइपरमेथिनको मिश्रण गरेको विभिन्न अनुसन्धानबाट पनि भेटिएको छ। कृषकले मुना पलाउने आसमा पनि रसायनिक विषादी प्रयोग गर्छन्। यो समय बगानमा पुग्दा विषको कडा गन्ध आउँछ। यसको अनुसन्धान गरिरहेका विज्ञ अझै पनि कृषकले विषादीको मात्रा नघटाएको र अझै बढाउँदै लगेको बताउँछन्। यो क्रम चिया उत्पादन गर्ने जिल्लामा क्रमशः बढेको छ। इलाममा विषादीको अत्याधिक प्रयोग भएपछि संयुक्त अनुगमन समितिले हालै कन्याम चिया बगानको विषादी भण्डारण गृह सिल गर्यो। कडा विषादी प्रयोग मापदण्डविपरीत हुने गरेकाले अनुसन्धान गर्नुपर्ने भएकाले सिल भएको हो। यहाँ लामो समयदेखि यस्तो विषादीको प्रयोग हुँदै आएको थियो। तर, बगानको स्वामित्व लिएको चिया विकास निगमले तीन दिनपछि मात्र गल्ती स्वीकार गर्नु लज्जास्पद हो।
विश्व स्वास्थ्य संगठनले सन् २००४ मा मानव स्वास्थ्यका लागि हानीकारक मानिने इथियन, मोनोक्रोटोफस, सुफोसजस्ता विषादीमा प्रतिबन्ध लगाए पनि बगानमा यतिका समय खुलेआम प्रयोग हुनु नियामक निकायको कमजोरी हो। सरकारले यस्ता विषादीको प्रयोगमा रोक लगाए पनि खुला नाका र अवैध बाटोबाट भित्रिने र तिनै विषादीको प्रयोग बगान सञ्चालक र किसानले गर्ने गरेका छन्। मोनोक्रोटोफस, इन्डोसल्फान, बीजीडी, अल्जिम, लिन्डेनजस्ता १५ प्रकारका घातक विषादी बिक्रीमा सरकारले प्रतिबन्ध लगाइसकेको छ। तर, त्यस समूहमा पर्ने विषादी अझै पनि बगानमा भेटिन्छन्। इलाम र झापापछि अहिले काभ्रे, चितवन, सप्तरी र सिराहामा पनि चियासहित अन्य नगदे बालीमा अत्याधिक विषादीको प्रयोग हुने गरेको सरकारकै तथ्यांकमा भेटिन्छ। सरकारले विषादी रोक्न गरेको परीक्षणका काम पनि अहिले औपचारिकतामा सीमित छ।
विषादीको प्रयोग बढेपछि चिया निर्यात मात्रै रोकिएको छैन। विषादी प्रयोग गर्ने कृषक र मजदुरका स्वास्थ्यमा पनि क्रमशः असर पर्दै गएको छ। यस्ता विषादीले छाला, आँखा, नाक पोल्ने, वाकवाकी लाग्ने मात्रै नभई श्वास–प्रश्वास वा छालाबाट रगतमा पुगेपछि क्यान्सर, किड्नी, श्वासप्रश्वासलगायत समस्या देखिन्छ। अहिले चिया मजदुर, किसान र बगान नजिकका बस्तीका नागरिकका यो समस्या देखिन थालेको छ। धेरै जना क्यान्सर रोगीसमेत भेटिन्छन्। प्रयोगसँगै समस्या पनि देखिएको यो समयमा भखरै सिल र अनुसन्धान सुरु भएका छन्। अब यसको नियन्त्रणमा समय नलागोस्।