कांग्रेसमा नीति र नेतृत्व
कांग्रेसको १४ औं महाधिवेशन मिति नजिकिँदै गर्दा नीतिभन्दा पनि नेतृत्वको बहसले प्राथमिकता पाएको छ
समसामयिक बदलिँदो राजनीतिक परिवेशसँगै जनतावाट प्रतिपक्षको म्यान्डेट पाएको कांग्रेस सरकारको नेतृत्वमा पुगेको छ। लोकतान्त्रिक अभ्यास र संविधान कार्यान्वयनको चुनौतिपूर्ण अवस्थामा रहेका बेला गठबन्धनको नेतृत्व गरेको कांग्रेस महाधिवेशनको सन्निकटमा छ। सरकारको नेतृत्व गरिरहेका बेला पार्टीको अबको नीति र नेतृत्व कस्तो रहने भन्ने विषयमा कांग्रेसजनमा वैचारिक बहस सुरु भएका छन्। कांग्रेस महाधिवेशनको महायज्ञमा लोकतान्त्रिक अभ्यास, नीति बहस, सहज पुस्तान्तरण र समयमै महाधिवेशन सम्पन्नजस्ता विषय भने सधैंजसो समयानुकूल नहुने भन्ने आमकार्यकर्ताको गुनासो सर्वविदितै छ।
अहिलेको कोभिडको प्रतिकूल परिस्थिति र राजनीतिक परिर्वतनले भने कांग्रेसलाई महाधिवेशनको मिति धकेल्ने फेरि एउटा मौका दिएको छ। करिस्मेटिक लिडर, प्रजातन्त्र र समाजवादका प्रणेता साथै विधिको शासनलाई सर्वोपरि अनुशरण गर्ने बीपीको पार्टीमा समयमै महाधिवेशन सम्पन्न हुन नसक्दा देखिने पार्टीको वैधानिकता र लोकप्रियतामा व्यापक असन्तुष्टका स्वरहरू पनि सुनिन्छन्। यसबिच महाधिवेशनको संघार र गठबन्धन सरकारको नेतृत्वलाई सन्तुलित रूपमा हाँक्दै आइपर्ने थप चुनौतीको सामना गर्नुपर्ने कांग्रेसमा अहिलेको अहं जिम्मेवारी छ।
प्रजातान्त्रिक संघर्षबाट उदाएको कांग्रेसको १४औं महाधिवेशन मिति नजिकिँंदै गर्दा आगामी नीतिभन्दा पनि नेतृत्वको बहसले प्राथमिकता पाएको छ। अन्य दलमा जस्तै कांग्रेसमा पनि गुट, उपगुटहरू छन्। त्यस्ता समूहहरू पार्टीको आगामी नीति, विधि र विचारका विषयमा भन्दा पनि नेतृत्वका विषयमा बढी केन्द्रित भएका देखिन्छन्। मुलुकले सामना गरेको मानवीय र आर्थिक संकट, संवैधानिक संकट र वर्तमान संविधानको कार्यान्वयनसँगै जनअपेक्षालाई समयमै सम्बोधन गर्न अबको कांग्रेसमा नीति र नेतृत्व दुवै चलायमान हुनु अति आवश्यक छ।
लोकतान्त्रिक नीति बहस
कांग्रेस लोकतन्त्रमा विश्वास राख्ने र अभ्यास गर्ने नेपालको सबैभन्दा प्रभावशाली पार्टी भएकाले यसको आगामी नीतिका बारेमा आमनागरिकमा उत्सुकता देखिनु स्वाभाविक पनि हो। अनपेक्षित अवस्थामा समेत सरकारको नेतृत्व गरेको कांग्रेसको अबको नीतिले नागरिकमा आशा र अपेक्षाहरूलाई निराशा गराउनु हँुदैन भन्ने आवाजहरू पनि सुनिन्छन्। समयमै महाधिवेशन नहुने, मिति आफूअनुकूल फेरबदल भइरहने र नीतिगत छलफल नहुनुले कांग्रेस आधुनिक समय सुहाउँदो पुनर्ताजकीकरण हुन नसकेको स्वयं नेताहरूले स्वीकारेका छन्।
कांग्रेसमा नीतिभन्दा पनि नियतप्रधान भएका प्रसस्त उदाहरण छन्। प्रजातन्त्रका हिमायती बीपी कोइरालाका अनुसार, ‘राज्यको नीति निर्धारण र राज्यको शक्तिको प्रयोगमा जनताको अधिकार र निर्वाध उपस्थितिका साथै हस्तक्षेपले नै जनताको सार्वभौमिकताको सिद्धान्त प्रतिफलित हुन्छ।’ कांग्रेस अहिले राज्य शक्तिको प्रयोग र नीति निर्माण गर्ने नेतृत्वमा रहेका बेला कांग्रेसले अवलम्बन गर्ने नीति सर्वोच्च हुन्छ। जनताबाट अनुमोदित माग र आवश्यकताको सम्बोधन सहितको जनमुखी नीतिका लागि कांग्रेसजनले व्यापक बहस गर्नुपर्ने देखिन्छ।
कांग्रेसमा समयानुकूल पार्टीको रूपान्तरण र नीतिगत बहस, प्रशिक्षण सक्रियता ज्यादै कम हुने हुँदा महाधिवेशन र निर्वाचनको वरिपरिबाहेक अरू बेला नागरिकका जीविकाका बारेमा मन्थन, बहस र अग्रसरता भने ज्यादै कम हुने आमगुनासो छ। कांग्रेसको नेतृत्व कसले लिने भन्ने बहस सुरु भएको छ तर समग्र मुलुक र जनताका लागि अब कांग्रेसले लिने नीति कस्तो हुने भन्ने बहसले प्राथमिकता भने पाएको छैन। कांग्रेसमा समकालीन मूल्यांकन सहितको समयसापेक्ष कार्यनीति र रूपान्तरणको खाँचो छ। जसका लागि पार्टी निर्माणको स्पष्ट मार्गचित्र एवं नीतिगत स्पष्टता आवश्यक छ।
कानुनी राज्यलाई आत्मसात गर्ने पार्टीको महाधिवेशन भनेको नीति र नेतृत्व दुवै हो। नीति बनाउने र नेतृत्व चयन गर्ने हो। कांग्रेसभित्र विचार, सिद्धान्त र कार्यनीतिबारे व्यापक छलफल भई मुख्य रणनीति अझै पनि तय हुन सकेको छैन। आन्तरिक मतभेदले नै महाधिवेशनको मिति तय गर्न नसकेका बेला नीति बहस पनि पर्याप्त हुन सकेको छैन। संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन साथै संविधानको कार्यान्वयन गर्दै जनताका आकांक्षाहरूको सम्बोधनका लागि कांग्रेसको भावी नीति अहिले नै स्पष्ट हुनु जरुरी छ।
नेतृत्व पुस्तान्तरण बहस
बहुदलीय व्यवस्थापछिका तीन दशकमा कांग्रेसले सबैभन्दा धेरै बाह्रांै पटक करिब पन्ध्र वर्षसम्म सरकारको नेतृत्व गरेको थियो। कृष्णप्रसाद भट्टराईले दुई पटक, गिरिजाप्रसाद कोइरालाले पाँच पटक, सुशिल कोइरालाले एक पटक र शेरबहादुर देउवाले अहिलेसम्म पाँच पटक सरकारको नेतृत्वमा छन्। सात दशकअघि प्रजातन्त्र र नागरिकको राजनीतिक अधिकारका लागि लडेको कांग्रेस सत्तामा लिप्सिनु मात्र होइन, चुनौतिपूर्ण समयको सामना गर्दै लोकतान्त्रिक पद्वतिबाट निर्वाचनको सम्पन्न र नागरिकका अधिकारहरूको रक्षा गर्दै जनमतको कदर पनि गरेको छ।
बीपी, गणेशमान र किसुनजीको राजनीतिक संस्कार, शान्ति प्रकृयामा गिरिजाबाबुको नेतृत्वदायी भूमिका, संविधान निर्माणमा सुशिल कोइरालाको योगदानका बारेमा आज पनि कांग्रेसजनले गौरवका साथ नेतृत्वको सम्झना गर्छन्। प्रजातन्त्र, बहुदलीय व्यवस्था, लोकतन्त्र हुँदै गणतन्त्रसम्मको नेतृत्व गरेको कांग्रेसमा समयानुकूल नेतृत्व पुस्तान्तरणमा भने सकसपूर्ण आरोह र अवरोहहरू देखिन्छन्। अहिले पनि कांग्रेसलाई पारिवारिक विरासत, नातावाद र कृपावादले गाँजेको छ। क्षमता र योगदान भन्दा पनि रातारात गोजीको मान्छे चयन गरी पद सुम्पने बेथितिले आमकार्यकर्तामा निराशा ल्याउँछ।
कांग्रेसमा नीतिअनुरूप युवा पुस्तामा समयानुकूलन नेतृत्व हस्तान्तरण भन्दा पनि पाका उमेरका नेता आफैं नेतृत्वमा पुग्ने अनेक होडबाजी देखिन्छन्। २०४८ सालपछिका तीन दशकमा चार सभापतिले पार्टीको नेतृत्व गरेका छन्। नेतृत्वमा आजीवन सभापतिको महत्वकांक्षा व्याप्त छ। व्यक्तिगत मनोमानी र आफूबाहेक अरूको विश्वास नगर्ने परिपाटी कांग्रेसका नेतृत्वमा देखिन्छन्। प्रा. कृष्ण खनालका भनाइमा– ‘एउटा कुशल नेतृत्वको जिम्मेवारी र गुण भन्नु नै इमान्दारपूर्वक जिम्मेवारी पूरा गरी समयसान्दर्भिक भावी पुस्ताको नेतृत्व सिर्जना गर्ने र त्यसपछि आगामी पुस्ताको भविष्यको मार्गनिर्देश गर्नु पनि हो।’ तर, कांग्रेसमा यस्तो संस्कारको अभ्यास ज्यादै कम पाइन्छ।
युवामाझ अहिले भने कांग्रेस पार्टीमा योगदानलाई महत्व दिने कि क्षमतासहितको पर्फर्मेन्सका आधारमा नेतृत्व चयन गर्ने प्रश्न चर्को बहसका रूपमा उदाएको छ। चौथौ महाधिवेशनबाट युग सुहाउँदो नेतृत्व गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेलजस्ता सक्षम र डाइनामिक युथ लिडरको अपेक्षा आमनागरिकमा छ। अहिले कांग्रेसका अग्रज राजनीतिक नेतृत्वले जीवनकालमा सिकेका र आर्जन गरेका अनुभव र विज्ञता अनुजहरू युवासमक्ष हस्तान्तरण गर्ने उपयुक्त समय पनि हो। समयानुकूल कांग्रेसमा क्षमता, योग्यता र पर्फर्मेन्सका आधारमा पनि पार्टीको नेतृत्व गर्न पाउने नीति अंगीकार गर्नु आधुनिक कांग्रेसको परिकल्पना हो।
अबको कांग्रेस बहस
बीपी कोइरालाको पार्टी कांग्रेसले बीपीजस्तै नेतृत्व र उनकै जस्तो नीति अवलम्बन गर्न सक्ने समय सुहाउँदो नीति र नेतृत्वको आमअपेक्षा छ। १४औं महाधिवेशनको मुख्य ध्येय पनि यही नै हो। बीपीले अघि सारेका राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई मूलमन्त्रअनुरूप र उनको परिकल्पना अनुसारको समय सुहाउँदो पुस्तान्तरित नेतृत्व अबको मुख्य एजेन्डा हुनु जरुरी छ। समयानुकूल सुधार भएर अगाडि बढ्न सकेन भने मुलुक नै असफलतातिर धकेलिन सक्छ। त्यसैले कांग्रेसको जग बलियो बनाउन नीति र नेतृत्व दुवै बलियो हुनुपर्छ। वर्तमान समयमा कांग्रेस नेतृत्वका अब दुई चुनौति टड्कारो छन्। पहिलो, गठवन्धनसँगको सत्ता साझेदारीको सन्तुलन साथै राम्रा कामको श्रेय र नराम्रा कामको चुनौतिपूर्ण अपनत्व ग्रहण। दोस्रो, पार्टीको आसन्न महाधिवेशन साथै चरम गुटबन्दीलाई मत्थर पारेर पार्टीलाई एक ढिक्का बनाउनु। चुनौतीपूर्ण अवस्थामा कांग्रेसले नीति, विधि र विचारलाई प्राथमिकतामा राख्नुपर्छ।
राजनीतिक विश्लेषक शंकर तिवारीका अनुसार अबको गणतन्त्र सुहाउँदो कांग्रेस निर्माणका लागि समयानुकूल विमर्श गर्नु अत्यावश्यक देखिन्छ। अब नेपालमा राजनीतिक द्वन्द्व सकियो, आगामी समय दिगो विकास, सुशासन र समृद्धि साथै नागरिकका मौलिक र मानव अधिकारका मुद्दामा कांग्रेसका एजेण्डा कस्ता बन्छन् भन्ने विमर्शको समय भएको उनको बुझाइ छ। अहिले कांग्रेसले मुलुकको विकास, अर्थ नीति र समृद्धिको दृष्टिकोण आमनागरिकसमक्ष प्रस्तुत गर्नुपर्ने देखिन्छ। धर्म निरपेक्षता, राजतन्त्र, गणतन्त्र, संघीयता कांग्रेसका समकालीन एजेण्डा नभए पनि नागरिकको चाहना साथै समय र युगअनुसार आधुनिक समवेशी लोकतन्त्रलाई आत्मसात गरेको कांग्रेसले परिष्कृत समयअनुसार स्पष्ट कार्ययोजनासहित आमनागरिकलाई बुझाउनु पार्टीको जिम्मेवारी पनि हो।
कांग्रेसको अर्थ नीति, उदारीकरण, निजीकरण र पुँजीवाद उन्मुख भएजस्तै नेतृत्व र संगठनलाई चुस्त र सक्रिय गराउन नवकांग्रेस निर्माण योगदानमा आधारित मात्र होइन, नतिजामुखी नीति र पर्फर्मेन्स बेस्ड नेतृत्वको अपेक्षा आमनागरिकमा छ। राजनीतिक विश्लेषक गेजा शर्मा वाग्लेको धारणामा संविधानले परिकल्पना गरेको समतामूलक समाज, सामाजिक न्याय, सामाजिक सुरक्षा, रोजगारी सिर्जना, कानुनी राज्य र सुशासनसहितको समृद्ध मुलुक निर्माणको कार्यदिशा हुनु जरुरी हो। कांग्रेसजनको अबको एजेण्डा पनि संविधानको कार्यान्वयन, आत्मनिर्भर अर्थतन्त्रसहित संघीयताको उपयोगिता र प्रतिफल न्यायोचित वितरण आमनागरिक समक्ष पुर्याउनु हो।
युगअनुसार नयाँ संकल्पसहितको नयाँ कांग्रेस निर्माणका लागि महाधिवेशन नयाँ नेतृत्व चयनको अवसर त हो नै, नयाँ विचार र संगठन निर्माणको अवसर पनि हो। वडा, नगर, क्षेत्र, जिल्ला, प्रदेश हुँदै केन्द्रसम्म नै सबल र सक्षम नेतृत्व साथै भावी दिनको राजनीतिक कार्यदिशा र रणनीतिक कार्ययोजना सहितको युग सुहाउँदो नीति अवलम्बनको अपरिहार्यता छ। युग सुहाउँदो कांग्रेस निर्माण भनेको विचार र नीति नै हो। त्यसैले कांग्रेसको अबको प्राथमिकतामा संकल्पसहितको नीति र प्रतिवद्धतासहितको नेतृत्वको बहस हुनुपर्छ।
अबको कांग्रेसमा नीति र नेतृत्व दुवै चलायमान हुनु अति आवश्यक छ। सरकारको नेतृत्व गरेको कांग्रेसको अबको नीतिले नागरिकमा आशा र अपेक्षालाई निराश पार्नु हुँदैन।