जब सरकारी गाडीमा कोचियो...
पत्रकारमाथि बेलाबखत यस्तो भइरहन्छ, पत्रकारमाथि हुने दुर्व्यवहार अब उप्रान्त नहोस्
शनिबार दिउँसो १ बजेसम्म अफिसले दिएको काम गर्न विभिन्न निकाय र व्यक्तिसँग फोनमा सम्पर्क गरिरहेको थिएँ। उक्त कामका लागि आवश्यक समाचार सामग्री नपाएपछि महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलको रिपोर्टिङ गर्न दिउँसो साढे १ बजेतिर भीमदत्त नगरपालिका–१२ स्थित नदी किनार पुगें। गत असारमा महाकाली नदीमा आएको बाढीले महाकालीमा निर्माणाधीन चार लेन पुल जोड्न बनाइएको बाँध बगाउँदा पुलसँगको सम्बन्ध बिच्छेद बनेको थियो।
पुल निर्माण कम्पनीले महाकालीपारि दोधारा चाँदनीतर्फ पुल बनाउन तुइनको प्रयोग गरेको छ। कामदार र निर्माण सामग्री ओसारपसार गरिरहेको विषय र उक्त पुलसँगै बनेको पहुँच मार्ग (अहिले सामाजिक सञ्जालमा भाइरल रोड नामले परिचित) को रिपोर्टिङ गर्ने उद्देश्यले त्यहाँ पुगेको थिएँ। शनिबारको दिन भएकाले त्यहाँ घुम्न आउनेको भीड थियो। मान्छेहरू कोही टिकटक बनाउन व्यस्त थिए भने कोही महाकाली नदी किनारमा रमाइरहेका थिए।
म सिधै महाकाली पुलको छेउमा पुगें। त्यहाँ ७÷८ वटा अटोरिक्सा र केही निजी सवारी पार्किङ गरिएका थिए। घुम्न आउनेको भीड थियो। त्यही बीचमा दुईवटा सरकारी गाडी महेन्द्रनगरतर्फ मोडिए। बा२झ २०३७ नम्बरको गाडीमा पुरुषहरू थिए भने बा२झ ४५४० नम्बरको गाडीमा महिलाहरू थिए। शनिबार बिदाको दिन सरकारी गाडी प्रयोग गर्न पाइँदैन। मैले त्यही भएर ती दुवै सरकारी गाडीको फोटो र भिडियो खिचें। त्यहीबेला गाडीबाट एक जना उत्रिनु भयो र मलाई त्यो फोटो र भिडियो डिलिट गर भन्नुभयो। ती व्यक्ति आन्तरिक राजश्व कार्यालय बाँकेका कार्यालय प्रमुख शरदचन्द्र पौडेल रहेछन् भन्ने पछि प्रहरीमा गएपछि थाहा पाएँ।
केही बोल्न नपाउँदै ती कार्यालय प्रमुखले ल गाडीमा बस प्रहरीकहाँ जाउँ त्यहीँ देखाउँला भनेर मलाई जबरजस्ती गाडीमा कोच्नु भयो।
केही बोल्न नपाउँदै ती व्यक्तिले ल गाडीमा बस प्रहरीकहाँ जाउँ त्यहीँ देखाउँला भनेर मलाई जबरजस्ती गाडीमा कोच्नु भयो। महाकाली पुल छेउबाट करिब दुई सय मिटरसम्म गाडी हिँडाउनु भयो। गाडी रोकेर बाहिर निस्कन भने। मैले प्रहरीमै जाउँ भनेर बसाल्नु भएको होइन ? अहिले किन बाहिर जाउँ भन्दै जबरजस्ती बाहिर निकाल्नु भयो ? गाडी महेन्द्रनगरतर्फ मोडियो। मैले तुरुन्तै प्रहरीकहाँ फोन गरेर गाडी रोकाइदिन भनें। ट्राफिक प्रहरीले गड्डा चौकीमा ती दुईवटै गाडी रोक्यो र मलाई खबर गर्यो। म पनि गड्डाचौकी पुगें। सुरुमा त्यहाँका सई मदनराज जोशीले उहाँ त ठूलो मान्छे नेपालगञ्ज पुग्नुपर्ने रहेछ गाडीको पास पनि छ भनेर उल्टै ममाथि खनिनु भयो।
त्यो सरकारी गाडीमा आन्तरिक राजश्व कार्यालय महेन्द्रनगरका प्रमुख पनि हुनुहँुदो रहेछ। महेन्द्रनगरका कार्यालय प्रमुख पुष्कर न्यौपाने पनि परिवारसहित घुम्न त्यहाँ जानुभएको रहेछ। प्रहरीले त्यहाँ मिल्न भन्यो। सहमतिमा हामीलाई जिल्ला प्रहरी कार्यालय जान भन्यो। जिल्ला प्रहरी कार्यालय पुगेपछि छलफल सुरु भयो। त्यतिबेलासम्म मैले पत्रकार महासंघका उपाध्यक्ष भवानी भट्ट, सचिव राजेन्द्र अवस्थी र अन्नपूर्ण पोष्टका सुदूरपश्चिम ब्युरोचिफ शिवराज भट्टलाई फोन गरेर घटनाको विषयमा जानकारी गराइसकेको थिएँ। महासंघका पदाधिकारी र केही पत्रकार तुरुन्तै जिल्ला प्रहरी कार्यालय (जिप्रका) पुगिसकेका थिए।
गड्डाचौकी पुग्दा सई मदनराज जोशीले उहाँ त ठूलो मान्छे नेपालगञ्ज पुग्नुपर्ने रहेछ गाडीको पास पनि छ भनेर उल्टै ममाथि खनिनु भयो।
जिप्रकामा पनि प्रहरीले मिल्न नै भनिरहेको थियो। मैले कानुन अनुसार जाने अडान लिएँ। ती राजश्व कार्यालयका प्रमुख शरदचन्द्र पौडेल र उहाँसँगै आएका एक व्यक्तिले अनुमतिबिना फोटो खिचेको भन्दै आरोप लगाइरहेका थिए। मैले कानुन अनुसार जाने र मबाट गल्ती भएको हो भने सजाय भोग्ने अडान लिएँ। त्यहाँ पत्रकार महासंघ शाखाका उपाध्यक्ष भट्ट, सचिव अवस्थी, सहसचिव ध्रुव अवस्थी र पत्रकार दुर्गा उपाध्याय पनि छलफलमा सहभागी थिए। छलफलमा ती कार्यालय प्रमुखले सुरुमा गल्ती स्वीकार गर्न चाहेनन्। उल्टै अनुमतिबिना फोटो खिचेको भन्दै मलाई आरोप लगाइरहेका थिए। मैले प्रहरीमा निवेदन दिने भनेपछि कार्यालय प्रमुख पौडेलले माफी माग्ने बताए। करिब तीन घन्टा जिप्रकामा छलफल भयो। मैले लिखित माफी नमागुञ्जेलसम्म सहमति नगर्ने भनेपछि अन्तिममा लिखित माफी माग्ने र अब उप्रान्त पत्रकारमाथि दुव्र्यवहार नगर्ने भनेर लिखित कागज गराएर त्यहाँबाट बिदा भयौं।
समाचार संकलनका बेला दुव्र्यवहारका घटना धेरै भोगे पनि जबर्जस्ती गाडीमै हालेको यो पहिलो घटना थियो मेरा लागि। अचम्म त मलाई कहाँ लाग्यो भने प्रहरीका सई मदनराज जोशीले उहाँहरू त ठूलो मान्छे हो कानुन नै लाग्दैन जस्तो कुराकानी गर्नु भयो। प्रहरीमा गइसकेपछि प्रहरीले पक्ष विपक्ष लिने होइन भन्ने मेरो बुझाइ हो। बरु दोषीमाथि कारबाही गर्ने हो। तर त्यहाँ त्यस्तो देखिएन। सामान्य कुरा हो, माफी माग्नु र मिल्नु भन्ने नै थियो। पत्रकारहरू माथि बेलाबखत यस्तो भइरहेको हुन्छ। पत्रकारमाथि हुने दुव्र्यवहार अब उप्रान्त नहोस्। जय पत्रकारिता।