अफगानिस्तान युद्ध : विजय प्राप्त भएको तालिबानको दाबी
काबुल : अफगानिस्तानको राजधानी काबुलमा रहेको राष्ट्रपति भवन आफ्नो नियन्त्रणमा आएपछि विद्रोही समूह तालिबानले विजय प्राप्त भएको दाबी गरेको छ ।
तालिबानको राजनीतिक ब्यूरो प्रमुख मुल्लाह अब्दुल गानी बाराडरले भिडियो सन्देशमार्फत अब छिट्टै बैठक बसेर अफगानिस्तानका समस्याहरू हल गर्न थालिने बताए । उनले ‘अफगानिस्तानमा युद्ध सकिएको’ बताएका छन् ।
‘हामीले चाहेको कुरा प्राप्त गरेका छौँ’, उनले भनेका छन्, ‘हाम्रो मुक्ति अनि हाम्रा जनताको स्वतन्त्रता ।’
उनले अब अफगानिस्तानमा विदेशी शक्तिहरू खेल्न नसक्ने दाबी गरेका छन् ।
यसैबीच तालिबान राजधानी काबुल प्रवेश गरेसँगै राष्ट्रपति अशरफ गानीले मुलुक छाडिसकेका छन् । उनी उज्वेकिस्तानतर्फ गएको बताइएको छ ।
उनले विद्रोहीहरूले बलपूर्वक जितेको भन्दै अब अफगान जनताको इमान, सम्पत्ति तथा आत्मसम्मान रक्षा गर्ने जिम्मा पनि तिनै विद्रोहीको भएको बताएको बीबीसीले उल्लेख गरेको छ ।
अमेरिकी नेतृत्वको फौजले देश छाडेलगत्तै २० वर्षपछि त्यहाँ तालिबान फर्केको अवस्थाले कैयौँ अफगानहरू त्रसित बनेका छन्।