जनताले चाहेका काम गर्यौं
कमलामाई नगरपालिका क्षेत्रफलका हिसाबले नेपालकै दोस्रो ठूलो नगरपालिका हो। १४ वटा वडा रहेको नगरपालिकामा ७७ हजार ८ सय ४५ जनसंख्या छ। धेरै चुनौति र सम्भावना बोकेको यस नगरपालिकाको मुख्य चुनौति भनेको व्यवस्थित सहरीकरण, चुरे र कमला नदी नियन्त्रण नै हुन्। सिन्धुलीस्थित यस नगरपालिकाको विकास, सम्भावना, चुनौति, चार वर्षको उपलब्धि र अनुभवबारे नगर प्रमुख खड्गबहादुर खत्रीसँग अन्नपूर्णकर्मी राजन गाउँलेले गरेको कुराकानी :
निर्वाचित भएको चार वर्ष पूरा भयो। कति काम गर्नुभयो ?
निर्वाचनमा बोलेका कुरा पूरा गर्न कतिको सजिलो रहेछ ?
हरेक कार्य गर्दा बाधाव्यवधान र अप्ठ्याराहरू आइपर्ने रहेछन्। तिनलाई समाधान गर्न हामी सबै निर्वाचित जनप्रतिनिधि मन वचनले लाग्यौं। सबैकोे साथ सहयोगले सजिलै पार लगायौं।
नगर क्षेत्रमा काम गर्न कस्ता चुनौति के के पाउनुभयो ?
सर्वप्रथम त कानुनी जटिलता बढी थिए। अन्योल पनि थुप्रै थिए। तीन तहमध्ये पहिला स्थानीय सरकार बनेका कारण थुप्रै जटिलता सिर्जना भए। जनतामा अपेक्षा बढी भए पनि स्रोतसाधन कम भएकाले काम गर्नै कठिन भयो। मागहरूको सम्बोधन कम हुनु, विकास निर्माण जनसहभागितामा वादविवाद सिर्जना हुनु, तुरुन्तै प्रतिफल प्राप्त हुने योजनामा बजेटको माग हुनुले पनि काममा सहज हुन सकेन। नेपालको संविधानले परिकल्पना गरेअनुसार स्थानीय सरकारले स्थानीय तहमा आयोजना कार्यक्रम सञ्चालन गर्न पर्याप्त बजेटको व्यवस्था नहुनाले धेरै चुनौति सामना गर्नुपर्यो।
हालसम्म कति बजेट खर्च गर्नुभयो ?
हालसम्म करिब पौने पाँच अर्बबराबरको बजेट कार्यान्वयन गरेका छौं। यस चालु आवमा मात्र एक अर्ब ११ करोडबराबरको बजेट कार्यान्वयन तहमा जाँदैछ। प्रशासनिक खर्च र सशर्त अनुदानबाहेक खुद वितरण गर्न पाउने बजेट सीमित छ। त्यसलाई पनि सही ढंगले वितरण गरेका छौं। संघीय सरकार, प्रदेश सरकार र अन्य निकायबाट पनि बजेट प्राप्त भएको छ। ती आयोजना सञ्चालन भएका छन्।
यति धेरै बजेट खर्च गर्दा नागरिकले सम्झनलायक काम के भए ?
यसको मूल्यांकन त आमनगरवासीले गर्ने हो। सिन्धुलीगढीको पुन:निर्माणलाई नगर गौरवको आयोजनाको रूपमा लिएका छांै। नेपाली सेनाको सहकार्यमा युद्ध संग्रहालयको निर्माण बागमती प्रदेश र संघीय सरकारको पहलमा रानी दरबार बन्दैछ। सिन्धुलीगढीमा राष्ट्रको ध्यान केन्द्रित भएको छ। सामाजिक सुरक्षाका कार्यक्रमहरू सञ्चालन भएका छन्। विकासका आयोजनामा स्थानीय सहभागिताको खोजी गरिएको छ। नि:शुल्क मजदुर स्वास्थ्य बिमा कार्यक्रम, बसपार्क र सिटीहल निर्माण, नगरपालिका अगाडिको पुष्पलाल–बीपी पार्क, नमुना आवासीय विद्यालय सञ्चालन, प्राय: सबै आयोजनाको डीपीआर, दरबन्दीविहीन विद्यालयमा नगर अनुदान दरबन्दी आदि काम भए। विभिन्न स्वदेशी तथा विदेशी विश्वविद्यालयको सहकार्यमा शिक्षक तालिम, सबै वडामा एम्बुलेन्ससहितको स्वास्थ्य संस्था स्थापना, खर र परालको छाना अन्त्य कार्यक्रमअन्तर्गत गरिब घरपरिवारलाई जस्तापाता वितरण कार्यक्रम, नगरका सबै वडामा विद्युतीकरण, नगर युवा स्वरोजगार आदि कार्यहरू सम्झनलायक छन्।
कमला नदीको कटान तथा चुरे संरक्षणको योजना छन् ?
कमला नदी कटान तथा नियन्त्रण गर्न अत्याधिक बजेट खर्च हुन्छ। सामान्य छेकबारका लागि ठाउँ–ठाउँमा तारजाली बाहेक केही गर्न सकेका छैनौं। तसर्थ यसको विस्तृत गुरुयोजना तयार पारी भर्खरै राष्ट्रिय योजना आयोगमा अपाध्यक्ष डा. विश्वनाथ पौडेलसँग कमला नदी नियन्त्रण गरी दुवै किनारामा करिडोर निर्माणका लागि बजेट माग गरेका छौं। यस नगरक्षेत्रमा पनि चुरे सुरक्षाका लागि राष्ट्रपति चुरे संरक्षण कार्यक्रम लागू गरिएको छ। साथै जथाभावी चुरे दोहन नियन्त्रण, वृक्षारोपण कार्यक्रम, तटबन्धन कार्यक्रम आदि सञ्चालन गरेका छौं।
सिन्धुलीका धार्मिक तथा पर्यटकीय क्षेत्रमा के कस्ता विकास भए ?
सिन्धुलीगढी देशकै प्रमुख पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न कार्यहरू गरेका छौं। भद्रकाली मन्दिर संरक्षण, भद्रकाली होमस्टे, कमलामाई मन्दिर संरक्षण, कमलामाई पिकनिक स्पट, १० नम्बर वडाको दोभानमा ट्रि हाउससहितको पिकनिक स्पट निर्माणका कार्य भइरहेका छन्।
आदिवासी जनजातिको आर्थिक र सामाजिक विकास के गर्नुभयो ?
आदिवासी जनजाति संग्रहालय निर्माणका लागि बजेट विनियोजन गरेका छौं। जनजाती विद्यार्थीका लागि लोकसेवा तयारी कक्षा, आदिवासी जनजाति लक्षित विभिन्न कार्यक्रम गरी जीवनस्तर उकास्ने कार्यक्रम सञ्चालन लगायतका कार्यक्रम सञ्चालन गरिएको छ।
कृषि क्षेत्रको विकास कसरी गर्नुभएको छ ?
एक वडा एक कृषि प्राविधिक भर्ना गरी कृषकलाई घरघरमै सेवा पुर्याइएको छ। अनुदानमा आधारित कृषि मल, बिउबिजन, औषधि, पशुबिमा, नश्ल सुधार, नि:शुल्क गाई र बाख्रा वितरण गरिएको छ। पहिला निर्वाचित हुँदा बखत एक टन तरकारी उत्पादन हुने यस नगरपालिकामा हाल चार टन तरकारी उत्पादन गरिएको छ। अब तरकारीमा आत्मनिर्भर हुने तरखरमा छौं भने निकट भविष्यमा दूध, मासु र च्याउमा आत्मनिर्भर बन्दैछौं।
दुई वर्षदेखि कोभिड संंक्रमण छ, नागरिकको स्वास्थ्य सुरक्षा कसरी गर्नुभयो ?
कोभिड संक्रमणको सुरुमै देशमै अभाव भयो तर यहाँ समयमै पीपीई सेटको व्यवस्था गर्यौं। अस्पतालमा कोभिडमा खटिने स्वास्थ्यकर्मीलाई जोखिम भत्ताको व्यवस्था गर्यौं। गरिबीको रेखामुनि रहेका नागरिकलाई नि:शुल्क खाद्यान्न वितरण गर्यौं। कोभिड अस्पताल निर्माणमा नगरको जग्गा प्रदान गर्नेदेखि नगरको प्राविधिकले हिजाइन तयार पार्ने प्राविधिक सहयोग, निर्माण सामग्री सहयोगदेखि रकम व्यवस्था गर्यौं। स्वाब संकलन गरी नि:शुल्क परीक्षण गर्न, संक्रमित बोक्न नि:शुल्क एम्बुलेन्स, संक्रमितका शव व्यवस्थापन, मृतक परिवारलाई काजकिरिया खर्चवापत पन्ध्र हजार प्रदान गर्नेजस्ता काम भए।
युवा स्वरोजगारका कार्यक्रम के कस्ता छन् ?
नगर स्वरोजगार र युवा स्वरोजगार गरी दुईवटा युवालक्षित कार्यक्रम बिनाधितो निब्र्याजी घुम्ती तहका कार्यक्रम सञ्चालित छन्। ती कार्यक्रममा गत वर्ष १÷१ करोड गरी दुई करोड रकम ६१ जना युवालाई ऋण प्रदान गरेका छौं। यस आवमा पनि दुई करोड रकम विनियोजन गरिएको छ। यो कार्यक्रम घुम्ति लगानीका रूपमा सञ्चालन हुनेछ।
प्रदेश र संघीय सरकारसँगको सहकार्य कस्तो रह्यो ?
प्रदेश र संघीय सरकारले नगरलाई अत्यन्त माया गरेको छ। संघीय सरकारका तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले पर्याप्त बजेट पठाउँदा नगरभर विद्युतीकरण सम्भव भयो। दुवै सरकारको सहयोगमा डीपीआर गरेको रानी दरबार, वडा नम्बर ९ जोड्ने पक्की पुल, सिन्धुलीबाट ११ र १२ हँुदै चकमके जाने बाटो, ७ को चिस्यान्त भञ्ज्याङ हुँदै माईस्थान करकारे भएर सर्लाही जाने बाटो, ९ को कालो पत्रे र १० को दोभान जाने बाटो, भिमान बसपार्क, ११ र १२ को एकबारे बाटो, ३ को चपौली हुँदै मझुवा जाने बाटो, ३ को खुर्कोट जोड्ने बाटो, सिलामे पानीट्यांकीको बाटो लगायतका योजना सम्भव भएका हुन्।
स्वास्थ्य क्षेत्रमा कस्ता योजना रहेका छन् ?
स्वास्थ्यको सवालमा सबै वडामा स्वास्थ सेवा उपलब्ध गराएका छौं भने हाल मोतीया विन्दु, आङ खस्ने, हर्नियाजस्ता रोगको नि:शुल्क उपचार गरिरहेका छौं। नगरका जेष्ठ बा र आमाका लागि नि:शुल्क दाँत हाल्ने काम अगाडि बढाएका छौं। हाल सात सय मजदुरलाई स्वास्थ्य बिमा गरिएको छ। २०७७÷७८ मा एक हजार मजदुरलाई स्वास्थ्य बिमा गरिएको छ।
शिक्षाको क्षेत्रमा कस्ता कार्य गरिएको छ ?
शिक्षालाई व्यस्थित गर्न दरबन्दी नभएको स्थानमा निमावि र मावि दरबन्दीको व्यवस्था र पाँचवटा क्याम्पसमा थप दरबन्दीको व्यवस्था गरेका छौं। तीन क्लस्टर बनाएर बाल कक्षाकोठाको व्यवस्थापन गरी स्थानीय पाठ्यक्रमको व्यवस्था गरेका छौं। सबै विद्यालयमा इन्टरनेटको व्यवस्था गरिएको छ। सबै स्वास्थ्य संस्थामा इन्टरनेटको व्यवस्थापन गर्दैछौं।
संघीयतासहितको स्थानीय तहको नेतृत्व गर्दा कस्तो अनुभूति भयो ?
संघीयताले परिकल्पना गरेको स्थानीय सरकारको प्रमृुख हुन पाउनु गर्वको कुरा हो। स्वच्छ, इमान्दारीतापूर्वक काम गर्दा धेरै गर्न सकिने रहेछ भन्ने लागिरहेको छ। जुन ढंगले प्रतिवद्धता पूरा गर्ने हिसाबले कार्य गर्यौं, सोहीअनुरूप सबैतिर कार्य भयो भने आमनागरिकले खुसी नेपालीको रूपमा अनुभूत गर्न सक्नेछन्।
सामाजिक लैंगिक समानताका क्षेत्रमा के काम भए ?
उपभोक्ता समितिमा अध्यक्ष, सचिव र कोषाध्यक्षमध्ये दुई जना महिलासहित ५० प्रतिशत महिला सहभागिता, सबै दाँत खसेका बाआमालाई सम्पूर्ण दाँत हाल्ने कार्यक्रम, १०० वर्ष नाघेका बाआमालाई दैनिक एक लिटर दूध, सुत्केरीलाई दुई किलो घिउ, सेफहाउसमा हिंसापीडित महिलाको सुरक्षाजस्ता कार्य गरेका छौं।
आगामी दिनका योजना कस्ता छन् ?
नगरभित्र गरिबीको रेखामुनि रहेका जनताको जीवनस्तर उकास्न आयआर्जनमूलक कार्यक्रम सञ्चालन गरी गरिबी न्यूनीकरण गर्नु प्रमुख लक्ष्य रहने छ। उद्योग, कलकारखाना स्थापनाको वातावरण सिर्जना गर्न, कामका अन्य क्षेत्र खोजी गरी रोजगारी सिर्जना गर्ने कार्यमा लाग्नेछौं।
अन्त्यमा, के भन्न चाहनु हुन्छ ?
चुनावी प्रतिवद्धता पूरा गर्न हामी सदैव लागिरहेका छौं। अधिकांश पूरा भएका पनि छन्। सदैव सुझाव, सल्लाह र साथसहयोग गरी सहकार्य गर्नु हुन हार्दिक अनुरोध गर्दछौं।