तालिबानलाई भेट्दै रुसी अधिकारी
काबुल: रुसका अधिकारीले काबुलमा तालिबान लडाकूसँग भेटवार्ता गर्ने बताइएको छ ।
अफगानिस्तानका लागि रुसी राजदूतले राजधानी काबुलमा मंगलबार तालिबानसँग भेटवार्ता गर्ने बताइएको हो । रुसले यस वार्तापछि मात्रै अफगानिस्तानमा नयाँ सरकारलाई मान्यता दिने वा नदिने निर्णय गर्ने जनाएको छ ।
रुसको विदेश मन्त्रालयका अनुसार रुसी राजदूत तालिबान नेतृत्वसँग सम्पर्कमै छन् । साथै तालिबान सुरक्षा सहजकर्तासँग राजदूतको भेट गर्ने तालिका छ । रुसी राजदूत दिमित्री झिर्नोबले तालिबान सुरक्षा अधिकारीसँग भेट गर्ने कार्यक्रम तय भएको हो ।
आइतबार तालिबानले अफगानिस्तानलाई कब्जामा लिएसँगै रुसले आफ्नो दूतावास हटाउने वा नहटाउने बारे कुनै निर्णय गरिसकेको छैन । यससँगै रुसले तालिबान सरकारले निकट भविष्यमा कसरी शासन गर्छ त्यसलाई नियाल्ने पनि जनाएको छ ।
रुससँगै चीनले पनि अफगानिस्तानबाट आफ्ना दूतावास हटाउने वा नहटाउने बारे निर्णय गरिसकेको छैन । भारत, जर्मनी लगायत दर्जन बढी देशले भने अफगानिस्तानमा सैन्य बलबाट बन्ने सरकारलाई आफूहरुले मान्यता नदिने प्रतिक्रिया दिएका थिए ।