सुदूरपश्चिम र लुम्बिनी प्रदेश जोड्ने सत्ती पुलको पिल्लर भासियो
टीकापुर : कर्णाली नदीले धार परिवर्तन गर्दा सुदूरपश्चिम र लुम्बिनी प्रदेशलाई जोड्ने कर्णाली नदीको सत्ती घाटस्थित पक्की पुल जोखिममा परेको छ । एक महिनाअघि लुम्बिनी प्रदेशको राजापुर जोड्ने पुलको किनार भाँसिएको थियो । किनार भाँसिएको महिना दिन नपुग्दै पुलको अन्तिम पिल्लर समेत भाँसिन थालेको छ ।
स्थानीयका अनुसार पुलको पिल्लर भासिँदै गएपछि दुई स्पान जोडिएको भागमा समेत चिरा परेको छ । पुलको किनारको पिल्लर भाँसिदै गएपछि पुल नै जोखिममा परेको स्थानीयले बताए । पिल्लर भाँसिएसँगै पुल समेत बांगो हुँदै गएको राजापुरका स्थानीय बदालु थारुले बताए ।
‘पिल्लर भासिँदै गएपछि पुल थोरै बांगो भएको छ,' उनले भने, ‘पूरै कर्णाली नदी राजापुरतर्फ फर्किएको छ, थप जोखिममा परेको हो ।’ यो पुल हुलाकी राजमार्गअन्र्तगत निर्माण भएको हो ।
पुल निर्माण भएसँगै पूर्वतर्फको भागमा नदीले हरेक वर्ष कटान गर्दै आएको थियो । पुल संचालनामा आएसँगै कैलाली र बर्दियाको दक्षिणी क्षेत्रमा यातायात सेवा सञ्चालन भएको थियो ।
पाँच वर्षअघि पुलको निर्माण रसुवा कन्स्ट्रक्सनले समयावधि भन्दा झण्डै नौ महिना अगाडि निर्माण सम्पन्न गरेको थियो । पुल निर्माणका क्रममा बनाइएको अस्थायी बाँधका कारण नदीको बीच भागमा बालुवा, ढुंगा थुप्रिएको छ ।
बीचमा थुप्रिएको बालुवा र ढुंगाले नदीले धार परिवर्तन गरेर पानीको पुरै बहाव पुलको अन्तिम पिल्लरतर्फ बग्न थालेपछि पिल्लर भाँसिँदै गएको हो । नदी किनारमा बालुवा थुपारेर गरिएको तटबन्धले वर्षेनि पिल्लर भासिँदै गएको हो । समयमै मर्मत नहुँदा पुल नै जोखिममा परेको स्थानीय बताउँछन्।
‘वर्षैपिच्छे राजापुरतर्फको भाग भाँसिदै गएको छ, समयमा मर्मत गर्नेतर्फ कसैको ध्यान गएको छैन, ‘टीकापुर नगरपालिका ८ का ठाकुरप्रसाद चौधरीले भने,' पुल निर्माणकै समयमा राजापुरतर्फको अन्तिम पिल्लरमा बालुवा थुपारेर तारजाली राखियो, जसले गर्दा बालुवा बग्दै गयो, पुल भासिँदै गयो ।’
पुलको किनारमा अर्को एक पिल्लर थप गर्नुपर्ने माग गर्दै आएका स्थानीयबासीको माग भने कतैबाट सुनाइ भएको छैन । टीकापुर नगरपालिकाका इञ्जिनियर नविन ओझाले सत्ती घाटको पुलको अन्तिम पिल्लर भाँसिएको हुनसक्ने बताए ।
हुलाकी राजमार्ग निर्देशनालय नेपालगञ्जका आयोजना दिर्नेशक रोहितकुमार बिसुराल नेतृत्वको टोलीले पुलको अवस्थाका बारेमा अध्ययन गरेको छ ।
आयोजनाका निर्देशक बिसुरालले ६ दशमलव ५ मिटरको पिल्लर थोरै भाँसिएको बताए ।
उनले पिल्लर भाँसिएका कारण पुल तेर्सो भएको बताए । ‘पिल्लरमा कति क्षति भएको छ भन्ने यकिन गर्न पानीको बहावले समस्या भयो’, उनले भने, ‘पानीको बहाव घटेपछि मात्रै विस्तृत रुपमा हेर्न सकिन्छ ।’
उनले नदीमा पानीको बहाव बढे अवस्था गम्भीर हुनसक्ने औंल्याए । उनका अनुसार नदीको पूरै बहाव पुलको राजापुरतर्फको भागमा ठोक्किएको छ । ‘अहिले नै पुलमा त्यति धेरै समस्या छैन’, उनले भने, ‘भारी वर्षा बढ्यो भने खतरा हुन सक्छ ।’
पुल जोखिम परेपछि आवागमनमा कडाइ गरिएको छ । पुलमा भारी क्षमताका सवारी साधनलाई आलोपालो वारपार गर्ने व्यवस्था गरिएको छ ।