अफगानिस्तानको आकाशमा एक विमान, जसले ६०० यात्रु बोकेर अमेरिका उड्यो
काबुल: अफगानिस्तानमा जारी राजनीतिक संकटले यतिबेला अफगानी नागरिकको जीवन तहसनहस बन्दै गएको छ । अफगान नागरिकहरुले राजधानी काबुल हुँदै देश छोडिरहेका छन् ।
अफगानिस्तान छोडिरहेका नागरिकहरुको एक तस्बिर यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । अमेरिकी सेनाको कार्गोमार्फत आइतबार देश छोडिरहेका अफगान नागरिकको तस्बिर भाइरल बनेको हो ।
६ सयभन्दा बढी अफगानी नागरिक बोकेको अमेरिकी एयर फोर्सेस सी १७ ग्लोबमास्टर थर्ड विमानले काबुलस्थित हमिद कार्जाइ एयरपोर्टबाट अन्तिम समयमा उड्न सफल भएको थियो ।
त्रास र पीडादायी अनुहार सहित उक्त विमानको फ्लोरमा बसिरहेका ६ सय भन्दा बढी अफगान नागरिकको सो तस्बिर सबैभन्दा बढी सेयर गरिएको छ ।
उक्त विमानभित्र देखिने नागरिकहरुले रित्तो हात देश छोडिरहेको तस्बिरमा देख्न सकिन्छ ।
न्युज वेभसाइट डिफेन्स वानका अनुसार उक्त विमानले आइतबार जम्मा ६४० अफगान नागरिकलाई हमिद कार्जाइ एयरपोर्ट हुँदै कतार पुर्याएको थियो । यस्तै सोमबार बिहान देश छोडिरहेका सयौँ अफगान नागरिकहरु विमानमाथि चढिरहेको भिडियो सार्वजनिक भएको थियो । अफगानिस्तान यतिबेला तालिबान विद्रोहीको नियन्त्रणमा रहेको बताइएको छ ।