इटहरीको इतिहास पुस्तकमा
धरान : इटहरीको इतिहास समेटिएको पुस्तक ‘इतिहासमा इटहरी’ विमोचन गरिएको छ। इटहरीमा मंगलबार एक कार्यक्रमबीच इटहरीका अग्रजहरूले उक्त पुस्तकको विमोचन गरेका हुन्।
नेप्ली मिडिया प्रालिले प्रकाशन गरेको पुस्तकलाई इटहरीका पहिलो मन्त्री रामकुमार सुब्बा, पहिलो मेयर तथा वर्तमान प्रदेश सांसद सर्वध्वज साँवा, मेयर द्वारिकलाल चौधरी, इटहरीका पहिलो चलचित्र निर्माता तथा जग्गादाता हेमनारायण चौधरी र इटहरीका पहिलो विद्यालय सञ्चालक डेबिट सुब्बाले संयुक्त रुपमा पुस्तक विमोचन गरेका हुन्।
पुस्तकमा इटहरीको कला, संगीत, साहित्य, व्यापार, शिक्षा, स्वास्थ्य, खेलकुदलगायत विभिन्न विषयका इतिहासका साथै वर्तमान अवस्था र भावी सम्भावनाहरूसमेत समेटिएको पुस्तकका सम्पादक हिमाल दाहालले जानकारी दिए। कार्यक्रममा इटहरीका अग्रज पत्रकार कृष्णविनोद लम्साल, रमेश विष्ट र संगीतकर्मी तथा सामाजिक अभियन्ता राजु केसीलाई सम्मान गरिएको थियो। लामो समयदेखि इटहरीको इतिहासलाई उजागर गर्ने काममा सक्रिय रहेका उनीहरूलाई सम्मान गरिएको हो।
पूर्वमन्त्री कुमार सुब्बाले पुस्तक इटहरीका लागि अमूल्य सम्पदा भएको बताए। यस्तै पूर्व मेयर सर्वध्वज साँवाले इटहरीको महत्वपूर्ण विषयवस्तु समेटेर पुस्तक प्रकाशन भएको बताउँदै कुनै विषय छुटेका भए पुनर्लेखन गर्नुपर्ने सुझाव दिए।
इटहरीका नगर प्रमुख द्वारिकलाल चौधरीले इटहरी बन्नमा सबैको योगदान रहेको बताउँदै इटहरीका विभिन्न स्थानहरूको नामाकरण बारे चर्चा गरेका थिए। सम्पादक हिमाल दाहालले पाँच वर्षको तयारीमा पुस्तक प्रकाशन भएको जानकारी दिँदै धेरै नगरवासीहरूले सहयोग गरेको बताए।