उत्पादन गरौं, आत्मनिर्भर बनौं
हरेक वर्ष सरकारले ल्याउने नीति तथा कार्यक्रममा व्यापारघाटा कम गर्ने विषयलाई प्राथमिकताका साथ समेट्दै आएको छ। नेपालबाट छिमेकी देशमा हुने निकासीलाई पनि सहज बनाउने र आयातभन्दा पनि निर्यातलाई बढावा दिने नीति सरकारको छ। स्थानीय उत्पादनको प्रवद्र्धन गरेर विद्यमान उच्चस्तरको व्यापारघाटा तथा बेरोजगारी न्यून गर्दै लग्ने हरेक सरकारको योजनामा समेटिएका छन्। पुराना उद्योगको पुनःस्थापना र आवश्यक नयाँ उद्योगलाई द्रुत सञ्चालनका लागि बेलाबेलामा सडकदेखि सदनसम्म चर्चा पनि हुन्छ। मुलुक कृषिप्रधान देश भनिए पनि परनिर्भता बर्सेनि बढ्दै गएकाले यस्तो चर्चा र सार्वजनिक रूपमा बहस हुनु स्वाभाविक हो।
पछिल्ला केही वर्षयता मुलुकमा आत्मनिर्भरताको कुरा निकै उठिरहेको छ। जब–जब आयातमा समस्या पर्छ, तब–तब आत्मनिर्भरताको बहस बढी हुन्छ। कृषिप्रधान देश भए पनि कृषिजन्य पदार्थको आयातका लागि ठूलो आर्थिक हिस्सा देशबाट बाहिरिन्छ। कृषकहरूको तरकारीले बजार नपाउँदा खेतमै कुहिएको खबर आउँछन्। तर, बजार भने विदेशबाट आयात भएका वस्तुले ढाकेको हुन्छ। कृषिप्रधान मुलुकमा विदेशकै कृषिउपज आउँदा अन्य वस्तुमा त झनै आत्मनिर्भर हुने कुरै भएन। खाना, नानादेखि दैनिक उपभोग्य सबै वस्तुमा परनिर्भर रहनुपर्ने बाध्यता अझै छ।
सरकारले आयात प्रतिस्थापन गर्न सकिने वस्तुमा बृहत् उत्पादन नगर्दा पनि व्यापारघाटा चुलिएको छ। राज्यले अपनाएका नसुहाउँदो नीतिले पनि बर्सेनि देशमा व्यापारघाटा बढ्दै गएको अर्थविज्ञ बताउँछन्। मुलुकमा आधुनिक प्रशोधन उद्योग बृहत् रूपमा विस्तार नभएसम्म व्यापारघाटा नबढ्ने उनीहरूको तर्क छ। २०४० सालसम्म नेपालबाट भारत र तेस्रो मुलुकमा कृषिजन्य वस्तु निर्यात हुन्थ्यो। सरकार आफैंले निर्यात कम्पनी खोलेर किसान तथा व्यापारीबाट अन्न किनेर ती वस्तु निर्यात गथ्र्यो। आर्थिक वर्ष २०३५÷३६ मा नेपालले २४ करोड ३८ लाख ६३ हजार मूल्यको चामल निर्यात गरेको सरकारी तथ्यांकमा नै भेटिन्छ। तर, हाल वार्षिक करिब सबा अर्ब रुपैयाँ बराबरको कृषिजन्य वस्तु आयात हुँदै आएको छ।
आयात र निर्यातको चर्चा गर्दा मुलुक आर्थिक घाटामा गएको देखिन्छ। तर, देशभित्रै पनि गौरव गर्ने नेपाली उत्पादन छन्, जसले विश्वमा नेपाललाई चिनाएको छ। यस मध्येमा पर्छ, नेपाली हाते कागज। लोक्ताबाट बनेको कागज धेरै मुलुकमा चर्चित छ। यो उत्पादन ४२ मुलुकमा निर्यात हुँदै आएको छ। उच्च हिमाली क्षेत्रसँगै पहाडी जिल्लामा पनि यसको उद्योग स्थापना गरेर स्थानीय नागरिकले कागज उत्पादन गर्दै आएका छन्। गाउँका कुनाकाप्चामा पनि स्थापना गर्न सकिने र उत्पादन हुने हाते कागजले विश्वबजार ओगट्नु नेपालका लागि खुसीको कुरा हो।
अझै धेरै उत्पादनको कच्चा पदार्थका लागि विदेशी मुलुककै भर पर्नुपर्ने बाध्यता छ। नेपाली कच्चापदार्थबाट उत्पादन हुने हातेकागज जस्ता वस्तुलाई पनि मुलुकले प्रोत्साहन गर्न सकेको छैन। कृषियोग्य जमिन बाँझो हुनु, दक्ष जनशक्ति वैदेशिक रोजगारीका लागि बाहिर जानु, लागत खर्च अत्यधिक हुनु, खेतीयोग्य जमिनमा सिँचाइको अभाव, रेमिट्यान्सको प्रभाव र क्रयशक्ति बढ्दै जानुलगायतका कारणले ‘मेड इन नेपाल’ गर्वका साथ भन्न सकेका छैनौं।
अहिले नेपाल उद्योग परिसंघ (सीएनआई)ले सरकारको साथ लिएर ‘मेक इन नेपाल–स्वदेशी’ अभियान कार्यान्वयन प्रारम्भ गरेको छ। यसले नेपाललाई आयातमुखीबाट उत्पादनमुखी अर्थतन्त्रमा परिवर्तन गराउने भएकाले यस्तो अभियानलाई सबैले साथ दिन आवश्यक छ। के कुरामा आत्मनिर्भर हुन सकिन्छ त्यो पहिचान गरेर समयमै नीति बनाएर अघि बढे अवश्य ‘मेक इन नेपाल–स्वदेशी’को लक्ष्य पूरा हुनेछ।