माधव नेपालका गह्रुँगा पाइला

माधव नेपालका गह्रुँगा पाइला

‘आमा’ सरहका नेपाल स्वयं घरबाट अन्मिए, स्वेच्छाले।


एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रायः ठाउँमा भनिरहने (मैले नै तीनपटक सुनेको छु) एउटा कथा छ– 

कुनै देशमा कुनै समय एउटै शिशुमाथि दुइटी आमाको दाबी परेछ। विवाद न्यायाधीशकहाँ पुग्यो। सुनुवाइ भयो। बयान लिइयो। दुवैका जिकिर पत्यारलाग्दा देखिए। न्यायमूर्ति अन्योलमा परे। शिशु जसलाई दिए पनि अन्याय हुने देखियो। समाधानस्वरूप ६–६ महिनाका दरले मातृत्व बाँडिदिन चाहे। तर, दुवैले मानेनन्। 

अन्ततः न्यायाधीश फरक कठोर निर्णयमा पुगे। इजलासले आदेश दियो, ‘खास आमा पहिचान गर्न नसकिएको र दुवैको समान हक देखिएकाले शिशुलाई चिरेर आधा–आधा भाग लगाइदिनू।’ 

‘हुन्छ,’ एउटी आमा हतार–हतार चिच्याइन्, ‘यसमा म राजी छु।’ 
‘हुँदैन’, अर्कीले भनिन्, ‘बरु उसैलाई दिनुस्। यो बच्चालाई नचिर्नुस्।’ 
बल्ल न्यायाधीशले वास्तविक आमा चिने। जसले शिशुको ज्यान बचाउन चाहिन्, उनी थिइन् खास जन्मदाता। जसलाई चिरे पनि फरक परेन, उनी कृत्रिम थिइन्। 


माधव नेपाल शायद टक्क अडिए !  
आफैंले १५ वर्ष नेतृत्व गरेको र उर्बर बनाएको एमाले फुटाएर नयाँ सिर्जनामा लाग्दा सम्भवतः उनको मन कँुडियो। भाउन्न भयो। रिँगटा छुट्यो। तर, पनि कठोर निर्णय लिइसकेका थिए उनले। जानु नै थियो। छोड्नु नै थियो। हिँड्नु नै थियो।  

फर्किएर आइरहने छोरी अन्माउँदा त घरमा वेदनायुक्त वातावरण हुन्छ। आँसुका धारा बग्छन्। ‘आमा’ सरहका नेपाल स्वयं घरबाट अन्मिइरहेका थिए। स्वेच्छाले। आफ्नै मर्जीले। अझ कहिल्यै नफर्किने अठोट लिएर। 

एमाले उनको खास घर थियो। यसलाई देशको ठूलो दल बनाउँदा उनले निकै पसिना बगाएका थिए। लगातारको महासचिवपछि एमाले अध्यक्षीय प्रणालीमा गएको थियो। त्यो ‘स्वाद’ भने उनले चाख्न पाएनन्। २०७१ असार अन्तिम साताको नवौं महाधिवेशनमा ओलीले नेपाललाई ४४ मतले अध्यक्षमा हराएका थिए। अर्थात्, दुई नेताको प्राप्ताङ्क ५१ र ४९ प्रतिशत अनुपातमा थियो। एक प्रतिशतभन्दा थोरै मात्र बढाएको भए नेपाल विजयी हुने थिए। 

ओली नेतृत्वको एमालेमा त्यसयता धेरै खोला–नाला बगे। २०७५ जेठ ३ मा माओवादीसँग पार्टी एकीकरण भयो। एकीकरणका आ–आफ्नै स्वार्थ थिए। हेर्दा एकता थियो। तर, आ–आफूलाई बलियो बनाउने मूलरूपमा तीनैजना नेताको रहर मिलेको थियो यसमा। माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई सह–अध्यक्ष दिँदा आफू झन्डै दुईतिहाइको शक्तिशाली प्रधानमन्त्री बनिरहन पाउँथे ओली। नेपालको समानान्तर सक्रियता दाहालको उपस्थितिसँगै ओझेल पर्ने उनको अर्को आँकलन थियो। 

उता पहिलो संविधानसभामा ठूलो बनेको माओवादी २०७४ को चुनावमा एमालेसँग कार्यगत एकता गर्दासमेत तेस्रोमा खुम्चिएको थियो। उसको धरातल उँधो–उँधो लाग्दो थियो। एमालेसँग एकीकरण गर्दा सर्वाधिक ठूलो नेपाल कम्युनिस्ट पार्टीको साझेदार अध्यक्ष बन्न पाउनु दाहालका लागि सौभाग्यकै विषय थियो। 

अर्कातिर महाधिवेशनपछि चिसिएको ओली–नेपाल सम्बन्ध क्रमशः कटुताउन्मुख थियो। नेपाल ओलीको सेखी झार्न चाहन्थे। एकीकरणपश्चात् दाहाल टोलीतर्फ लाग्दा ओलीलाई अल्पमतमा पारेर घोक्य्राउन सकिने उनको हिसाब–किताब थियो। पछि भयो पनि त्यस्तै। दाहाल–नेपाल एकातिर भए। बहुमतको तागतमा ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुवैबाट बर्खास्त गर्न अग्रसर बने। 
हो, त्यसैले तत्कालीन नेकपामा उग्र झगडा निम्त्यायो। जोडिएका दुवै दल अन्ततः आ–आफ्नो थान्कामा पुगे। एमाले र माओवादीकै रूपमा नयाँ बाटो कोर्न बाध्य भए। तर, ओलीको सत्ता रहहिर्‍यो। उनलाई सत्ताच्युत गर्न अर्को गठबन्धन बन्यो। त्यसमा एमालेकै वरिष्ठ नेता नेपालसमेत सामेल भए। ओली ढाले। जसले आजको दिन निम्त्यायो। अर्थात्, एमालेसमेत दुई टुक्रा भयो। 


माधव नेपालले शायद पुलुक्क पछाडि हेरे !  
जिन्दगी बिताएको प्यारो ‘घर’ एमाले छाडेर पाइला चाल्न सम्भवतः नेपाललाई सहज भएन। बीच बाटोमा पुगेर शायद पछाडि नियाले। खु्य गरे। पछिल्लो समय एमाले आँगनभन्दा दाहालको दलान र देउवाको दैलो प्यारा थिए उनका लागि। यो अवस्थासम्म आइपुग्न नेपाललाई माओवादी र कांग्रेसले उल्क्याउनु उल्क्याएका थिए भन्छन् ओली पक्षधरहरू। हेर्दा हो कि, हो कि देखिएकै हो। उनी केही बत्तिएकै हुन्।  

यस्तै–यस्तै व्यहोरेर झन्डै दुईतिहाइबाट धोद्रै धोद्राको टुक्रा बनेको छ एमाले। एउटा चोइटो बोकेर नेपाल फरक बाटो हिँडेका छन्। श्रीस्वस्थानी ब्रतकथामा वर्णित सतीदेवीको अंगपतन भएझैं एमालेका अंग ठाउँ–ठाउँमा खस्दै गएका छन्। अराजनीतिक पदीय द्वन्द्वबाट क्षति कति हुन्छ भन्ने उदाहरण यही हो। त्यति हुँदा पनि नेताहरूले चेतेनन्। उल्टै आफ्नै खुट्टामा बञ्चरो बजार्न उद्यत भए। 

वामदेव गौतमले एमाले फुटाएर माले बनाएकै हुन्। पछि एमालेमै विलीन हुन बाध्य भए। शेरबहादुर देउवाले कांग्रेस टुक्य्राएर प्रजातान्त्रिक कांग्रेस गठन गरेकै थिए। त्यसलाई उनले पनि माउ पार्टीमै समाहित गरे। र, त आज यो ठाउँमा छन्। टुक्रिएको पार्टी टुक्रिएकै हालतमा भएको भए उनको ‘भाग्य’ शायद यति दर्बिलो हुने थिएन। एकता र टुटफुटको अन्तर यिनै उदाहरणले व्यक्त गर्छन्। 

अध्यादेशले एमाले ‘चिर्ने’ आदेश दियो। ओली ‘त्यो पर्दैन’ भन्दै थिए, नेपाल भने आफ्नो ‘चिरो’ बोकेर अर्कातिर लागे। 

त्यो देख्दादेख्दै एमाले फुट्यो। कति सजिलै फुट्यो। पार्टी फुटाउनु जति अप्ठ्यारो ठानिन्थ्यो, त्यति रहेनछजस्तो आभास हुने गरी पुट्यो। तर, त्यो शायद निकै कठिन बन्यो नेपालका हकमा। हो र ? अर्कातिरबाट हेर्दा त्यो पनि होइन कि जस्तो प्रतीत भयो। यस्तो देखियो– उनी त्यही अध्यादेश कुरिरहेका थिए, जसले आफ्ना सांसद जोगाएर नयाँ दलमा जान सकियोस्। राष्ट्रपतिबाट हस्ताक्षर हुनासाथ हान्निएर निर्वाचन आयोग पुगिहाले। यसले चाहिँ बताउँछ, उनलाई त्यता होमिँदा कुनै सकस भएन। 
मन दह्रो बनाएर बिदा भए उनी। 


माधव नेपाल शायद मुर्मुरिए ! 
एमाले छाडेर नयाँ दल खोल्नुमा नेपालको ओलीप्रति निकै आक्रोश छ। त्यसैले उनले जाँदा जाँदै सम्भवतः ओलीतिर धारे हात लगाए। र, अघि बढे। 

के ओलीले लखेटेका हुन् नेपाललाई ? कि उनले आफैं यो परिस्थिति निम्त्याए ? तर्क दुवैतिर समान छन्। तर, यति हो– छोड्नुभन्दा भित्रै भिड्नुमा नेपालको कल्याण थियो। पछिल्लो समय उनले एमालेभित्रै बसेर शक्तिसंघर्ष गर्ने अनुमान गरिएको पनि थियो। तर, नैतिक संकटमा थिए उनी। प्रधानमन्त्रीबाट आफ्नै दलको अध्यक्षलाई खसालेका थिए उनले। त्यसयता न गठबन्धनतिरै जान सकेका थिए, न एमाले मूलधारसँग नजिकिएका थिए। एमाले नामबाटै त्यसको अहितमा परिचालित भने भइरहे। 

हो, ओलीले पार्टी एकलौटी गरेकै थिए। नेपाललाई पुग्दो भाग दिएनन्। मर्यादामा ख्याल पुर्‍याएनन्। नेपालका मान्छेलाई गनेनन्। पार्टी र देश यसरी चलाउँछु भनेर अरूलाई भन्नसम्म भनेनन्। नेपालको चित्त त्यसमै दुख्यो। चित्त मात्र दुखेन, शत्रुतापूर्ण अवस्थ्यै ल्याइदियो। 

त्यसो त निर्वाचित अध्यक्ष ओली थिए। नेपाललाई नै हराएर त्यहाँ पुगेका। एक कार्यकाल उनलाई स्वविवेक उपयोग गर्न दिँदा हुने थियो शायद। नेपालले त्यो धैर्य र उदारता अपनाउन सकेनन्। उनले नेतृत्व गरेको १५ वर्ष ओली निकै नेपथ्यमा थिए। भागको माग गर्दै बबन्डर गरेका थिएनन्। पार्टी नै फुटाएर जाने हर्कत गरेनन्। त्यो पनि सम्झेनन् नेपालले। 
पछिल्लो कालखण्डमा बरु ओली शासनमा अल्झिएका थिए। सबै कार्यकर्तालाई चित्त बुझाउने हालतमा थिएनन्। दिने ठाउँमा ओली थिए, उनकै मान्छे अवसर नपाएर चिढिएका थिए। जानेको भए, तिनलाई हात लिएर संगठन मजबुत बनाउनु पथ्र्यो नेपालले। महाधिवेशनमा नेतृत्व हत्याउने रणनीतिमा लाग्नुपथ्र्यो। महाधिवेशन छिटो गराउन दबाब दिनुपथ्र्यो। उनको जित र हित यसमा हुन्थ्यो। 

जितेर नेतृत्वमा पुगी ओली पारा देखाउँदा भइहाल्थ्यो। तर, त्यो कुर्न चाहेनन्। 


अनि, माधव नेपाल निर्मम बने ! 
ओलीले सुनाइरहने शिशुको त्यही कथाका एक ‘आमा’ पात्रजस्ता बनेका छन् अहिले स्वयं उनी। अर्का पात्र छन् नेपाल। कुनै पनि न्यायाधीशले वास्तविक ‘आमा’ पहिल्याउन हम्मे थियो एमालेमा। 

एमाले नामक शिशुमा ओलीको जति हक लाग्छ, नेपालको पनि कम लाग्दैन थियो। उनले यसैलाई स्याहार्नु पथ्र्यो। तर, दुर्भाग्य ! अध्यादेश नामक न्यायाधीशले चिर्ने आदेश दियो। ओली ‘त्यो पर्दैन’ भन्दै थिए, नेपाल भने आफ्नो ‘चिरो’ बोकेर अर्कातिर लागे। 
यसमा उनले जितेनन्। हारे। 

एमालेका वास्तविक ‘आमा’ बन्नबाट चुके। 
 twitter: @akhandabhandari


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.