मिस अफगानको बिकिनी विवाद
काबुल : अहिले सारा विश्वको ध्यान अफगानिस्तानले तानेको छ। बिद्रोही तालिवानले सत्ता कब्जा गरेपछि संसारभर हलचल चलेको छ। केही दिनदेखि देश छाड्न विमानस्थलमा मानिसको भीड लागिरहेको छ।
देश छाड्न नचाहनेहरूले घरका झ्याल र ढोकामा कालो रंग लगाउने र महिलाहरूले थन्क्याएर राखेको बुर्का झिकेर लगाउन थालेका छन्। यसअघि फेसनेवल पहिरनमा देखिने अफगानी महिलाहरू अहिले बुर्कामा अनुहार लुकाउन थालेका छन्। यस्तै आपत् मिस अफगानिस्तान भिदा समदजैलाई पनि आइपरेको थियो। मोडल तथा अभिनेत्रीसमेत रहेकी भिदाको जन्म सन् १९७८ मा काबुलमा भएको थियो। त्यसबेला अफगानिस्तानमा फेसन निकै चलेको थियो।
यस्तैमा भिदा पनि ग्लामर क्षेत्रमा आकर्षित भएकी थिइन् र उनले त्यसलाई नै आफ्नो करियर पनि बनाइन्। सन् २००३ मा मिस अफगानिस्तानको उपाधि जितेकी उनले त्यही वर्ष मिस अर्थमा पनि सहभागिता जनाएकी थिइन्। मिस अर्थमा उनले रातो बिकिनीमा र्याम्प वाक गरेकी थिइन्। त्यसपछि उनी विवादमा मुछिइन्। अफगानिस्तानमा उनको ठूलो विरोध भयो। भिदाले बिकिनी लगाएको विषय अफगानिस्तानको सर्वोच्च अदालतसम्म पुगेको थियो।
सर्वोच्च अदालतले पनि उनको रबैयाको आलोचना गरेको थियो। अंग प्रदर्शन स्लामिक कानुन र अफगान परम्पराविपरीत भएको ठहर सर्वोच्च अदालतले गरेको थियो।