विश्वासको मत लिन मुख्यमन्त्री शाक्यलाई चुनौती
हेटौंडा : नेकपा एमालेको सत्ता तत्कालाई जोगिए पनि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई विश्वासको मत लिन भने चुनौती रहेको छ । नेकपा एमाले विभाजनसँगै बागमती प्रदेशमा एमाले सांसद एकढिक्का नहुने देखिएको हो ।
प्रदेशसभामा रहेका एकसय नौजना प्रदेशसभा सदस्यमध्ये ५६ जना नेकपा एमालेमा छन् । तीमध्ये एकजनाले पनि एमाले छाडेको अवस्थामा शाक्यले विश्वासको मत लिनुपर्ने हुन्छ ।
‘हामीले एउटै पार्टीमा रहेकाले शाक्यलाई सल्लाह नै गरेर मुख्यमन्त्री बन्न सहयोग गरेका हौं’, माधव कुमार नेपाल निकट काभ्रेका प्रदेशसभा सदस्य बसुन्धरा हुमागाईले भने, ‘तर राजनीति एउटै मोडमा रहँदैन, हामी प्रदेशमा छुट्टै संसदीय दल बनाउँछौं । त्यसपछि उहालाई हामीले विश्वासको दिन सक्ने स्थिती सम्भवत बन्दैन ।’ प्रदेशसभा सदस्यहरु राजेन्द्र पाण्डे, हुमागाई, मुनु सिग्देल नेपाल पक्षमा खुलेका छन् । अन्य आधा दर्जन प्रदेशसभा सदस्य नेपाल पक्षमा रहने हुमागाईको
निर्वतमान मुख्यमन्त्री डोरमणि पौडेलले पार्टी एकता जोगाउन आफुले योगदान गर्न पाएकोमा खुशी लागेको बताउँदै बाँकी १७ महिना पनि सरकार एमालेकै रहने दाबी गरे । ‘यहाँबाट निस्कँदै गर्दा मलाई कुनै दु:ख छैन, यो निर्णय नगरेको भए सायद बागमतीमा पार्टी एकता नजोगिन सक्थ्यो’, उनले भने, 'व्यक्ति मात्र परिवर्तन भएको हो, सरकार एमालेकै रहन्छ । मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने अवस्था आउँदैन ।’
प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेलले भने केही समय हेरेर मात्र सरकारको भविष्यबारे भन्न सकिने बताए । ‘प्रदेशमा पार्टी विभाजनको असर त परिहाल्छ,केही समय हेरेर मात्र सरकारबारे भन्न सकिन्छ’, उनले भने, ‘तर यो सरकार धेरै समय टिक्न भने मुश्किल छ ।’
बागमती प्रदेशमा नेकपा एमालेको ५६, माओवादी केन्द्रको २३, काँग्रेसको २२, विवेकशील साझाको तीन, नेपाल मजदुर किसान पार्टीको दुई, राप्रपाका दुई र एक जना स्वतन्त्र प्रदेशसभा सदस्य रहेका छन् । एमाले विभाजन हुनु अघि बागमती प्रदेशमा केपी ओली पक्षका ३४ र माधव नेपाल पक्षका २२ जना सांसद थिए ।
पार्टी एकतको लागि मुख्यमन्त्री बने
मुख्यमन्त्री शाक्यले पार्टी एकताको लागि आफू मुख्यमन्त्री बन्न तयार रहेको बताएकी छिन् । ‘एमाले एकता जोगाउन मैले यो निर्णय गरेको हुँ, यसले माथि पनि दवाब पुग्छ भन्ने मेरो विश्वास छ’, उनले भनिन् ।
साथै नेपाल समुहले पनि आफुलाई मुख्यमन्त्री बन्न सहयोग गरेको भन्दै एमालेबाट कोही बिचलित नहुने शाक्यको दाबी छ । शपथ लगत्तै बसेको तीन सदस्यीय मन्त्रीपरिद बैठकले कोभिड खोप कार्यक्रमलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्ने, अनुगमन तथा नियमन गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री शाक्य बिहीबारै राजनीतिक भेटघाट र व्यक्तिगत कामको लागि भन्दै संघीय राजधानी काठमाडौं गएका छन् ।