कञ्चनपुरमा शिक्षकमाथि प्रहरीको लाठी चार्ज
महेन्द्रगर : कञ्चनपुरको भीमदत्तनगरपालिकाले विधि र पद्धती विपरीत दरबन्दी मिलान गरेको भन्दै गत साउन ३ गतेदेखि नगरपालिकाको शिक्षा शाखामा नेपाल शिक्षक संघ कञ्चनपुरले तालाबन्दी गर्यो ।
नगरपालिकाले गरेको शिक्षक दरबन्दी मिलानमा असन्तुष्ट रहेको शिक्षक संघको करिब एक महिनापछि नगरपालिकामा रिले अनसन थियो । नगरपालिकाले आफूहरुको माग सम्बोधन नगरेको भन्दै शुक्रबार शिक्षक संघले भीमदत्तनगरपालिकाको मुल गेटमा तालाबन्दी गर्यो ।
शिक्षक संघले लगाएको ताला प्रहरीले बल प्रयोग गरी तोडेपछि नगरपालिकामा दुबै पक्षबीच झडप भयो । झडपमा परी दुबैतर्फका १५ जना घाइते भए । दिनभर नगरपालिका कार्यालय तनावग्रस्त बन्यो।
नगरपालिकाले एक महिनासम्म आफूहरुको माग सम्बोधन नगरेपछि बाध्य भएर आन्दोलन गर्नुपरेको नेपाल शिक्षक संघका सुदूरपश्मिच प्रदेश अध्यक्ष विर्ख मल्लले बताए । 'विभागको परिपत्र विपरीत नगरपालिकाले दरबन्दी मिलान गरेको छ,'उनले भने, 'नगरपालिकाले शिक्षकहरुले जथाभावी सरुवा गरेको छ, हामीले सूचनाको हक प्रयोग गरेर शिक्षक सरुवाको निर्णय माग गरेको १ महिना भयो। '
उनले अवैध किसिमले शिक्षा समिति गठन गरेको भन्दै तीनजना समदस्यहरुले समेत राजीनामा दिएको बताए । शिक्षकहरुले शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापन कार्यविधि २०७६ बमोजिम दरबन्दी मिलान हुनुपर्ने माग गरेका छन् । कार्यविधि विपरित दरबन्दी मिलान गरिएकाले त्यसको विरोधमा उत्रिएको शिक्षिका विमला बमले बताइन् ।
'नगर प्रमुखले आफू निकटका शिक्षकहरुलाई पायक पर्ने ठाउँमा पदस्थापना गरेको छ , 'उनले भनिन्, 'विधिविपरित मलाई पनि सरुवा गरियो अस्ती मात्रै गल्तीले तपाईको नाम आयो भन्नुभयो।'
उनले एक महिनासम्म शान्तीपूर्ण आन्दोलनलाई वेवास्ता गरेका कारण शुक्रबार झडपको स्थिति आएको बताए। 'विषयगत रुपमा दरबन्दी मिलानको कार्य गरिएको छैन, शिक्षक नविन धामीले भने, 'कुनै विद्यालयमा एकै विषयका दुई शिक्षक छन् कतै विषयको एक शिक्षक समेत नहुनेगरी दरबन्दी मिलान गरिएको छ ।'
उनले भीमदत्तनगरपालिकाको यो कदमले विद्यार्थीहरु समेत मार्कामा पर्ने बताए ।उता भीमदत्त नगरपालिकाकाले भने कार्यविधिअनुसार नै शिक्षक दरबन्दी मिलान गरिएको दावी गरेको छ ।