जीवनको लय
देशमा लकडाउनका लागि प्रसारित एउटै सरकारी सूचनाले सम्पूर्ण जीवनलाई घरपरिसरको साँघुरो पर्खालभित्र सीमित तुल्याइदियो। यो अचानक भयो। अचानक किनभने यो अवस्था सर्वथा अनपेक्षित थियो। अघिल्लो दिनसम्म कोभिड १९ ले सिर्जना गर्नसक्ने समस्याको डरलाई समेत साथमा बोकेर भए पनि घरबाहिर खुल्ला आकाशमुनि हिँडिँदै थियो। अब के गर्ने ?
जीवनको एउटा गति, प्रवाह र आदत अचानक रोकिएपछि कसरी दिन बिताउने ? समयको व्यवस्थापन कसरी गर्ने ? त्रासदीपूर्ण मानसिकताको व्यवस्थापन कसरी गर्ने ? अन्योल र अलमलमा बिते दुई दिन। तर तेस्रो दिनको बिहानै पाँच बजे आँखा खुल्दा घर बाहिरको आफ्नो सानो बगैंचामा चराहरूले चिरिबिरी गाएको सुनें। चराहरू भेला भएर बिहानी बोलाइरहेका थिए।
हामीले प्रकृतिको गति र नियमलाई बारम्बार तोड्यौं र उनको बाटो छेक्यौं। जीवनको होस् वा प्रकृतिको, लय भत्केपछि अप्ठ्यारो हुन्छ।
आहा ! अचानक चंगा भएँ। मैले उठेर झ्यालबाट ती चराहरूलाई हेरें। ती समयको दुश्चक्रभन्दा माथि उठेर निस्फिक्री पूर्ण जीवन बाँचिरहेका थिए। माथि आकाशतिर फर्केर हेरें। त्यो एकदम गाढा नीलो थियो र बीचबीचमा सेता बादलका बुट्टाहरू थिए। उत्तरतिर मुस्कुराइरहेका अटल सेता हिमालहरू थिए। प्रदूषण स्वाट्टै घटेको थियो र प्रकृति नयाँ कलेवरमा देखिँदै थियो। मैले दोस्रो प्रेरणा त्यहाँबाट लिएँ। त्यसपछि मैले बिस्तारै आफ्नै छातीको धड्कन समेत सुनें।
सोचें– बाटो भेट्टाएँ, अब दृष्टि भेट्टाएँ, अनुभव र गति भेट्टाएँ। कोभिड–१९ को आतंकले तर्साउन सक्दैन, मेरो गति र सिर्जनात्मकतालाई यो अचानकको गतिहीनताले अवरुद्ध गर्न सक्दैन। त्यसपछि हरेक दिन दिउँसो एकछिन चराहरूको प्रेम र फुर्फुर हेर्न थालें। उनीहरूको सुमधुर संगीत सुन्न थालें र आफू ताजापन एवम् सिर्जनात्मकताले झंकृत भइरहें। बोटविरुवामा पलाएका नवपल्लवहरू र तिनमा चढिरहेको हरियो रङ हेर्न थालें।
एकदिन मैले ॐ शान्तिकी शिवानीको प्रवचन सुनें। उनले भनिन्– ‘एक्सपेक्टेसन (अपेक्षा) र एक्सेप्ट (स्वीकार) दुईवटा शब्दहरू सुन्दा उस्तै लाग्छन् तर यिनमा ठूलो फरक छ। एक्सपेक्टेसनमा हाम्रो स्वार्थी प्रवृत्ति झल्किन्छ जसमा हामी आफूले चाहेजस्तो होस् वा हुनुपर्छ भन्ने खोज्छौं। एक्सेप्टमा त्याग र समर्पण छ जसमा हामी जुन वस्तु वा कुरा जस्तो छ, त्यस्तै रूपमा स्वीकार गर्छौं। एक्सपेक्टेसन हाम्रो दुःखको कारक हो। एक्सेप्ट एक किसिमले दुःखको निवारण अथवा शान्तिको कारक हो।’
लकडाउनका सुरुका केही दिन अपेक्षा गरिरहेको थिएँ। प्रकृति र समय दुवै मेरो अपेक्षामा चल्ने कुरो थिएन। शिवानीले भनेजस्तै त्यस अपेक्षाले मलाई दुःखी बनाइरहेको रहेछ। जब मैले एकाबिहानै चराहरूको जीवनले भरिएको आवाज सुनें, हरियो प्रकृतिले अँगालो हाल्न हात फैलाइरहेको देखें, नीलो अनन्त आकाशबाट अक्षय सूर्यले ताप र प्रकाश मैतिर बिनाअपेक्षा फ्याँकिरहेको देखें, मैले जीवनलाई अनभुतू गरें।
मेरो अपेक्षा स्वीकारोक्तिमा परिणत भयो। यसले मभित्र अनन्त उत्साह, उमंग तथा सिर्जनशीलता थपिदियो। जीवनलाई अर्कै दिव्यतामा अनुभूत गर्न थालें। बंगलादेशको राजधानी ढाकामा बस्ने मेरी एकजना कवि साथीलाई स्नेह र आदरले बहिनी भन्छु। उनी राम्रा कविता, निबन्ध र समालोचना लेख्छिन्। उनले अक्तोभियो पाज र सिल्भिया प्लाथजस्ता विश्वप्रसिद्ध कविहरूका कवितालाई बंगलामा अनुवाद गरेर प्रकाशित गरेकी छन्। उनी कलेज पनि पढाउँछिन्। उनी अति भावुक छिन्।
छिनछिनमा समाजमा घटेका ससाना घटनामा समेत भावुक एवम् डिस्टर्ब हुन्छिन्। भन्छिन्– ‘म कामै गर्न सक्दिनँ, मलाई दिक्क लाग्यो। कोभिडले आज यति मान्छे मरे। तिनको के दोष थियो ? किन गरिब मान्छे मात्र मर्छन् कोरोना लागेर ?’ मसँग उनलाई दिने जवाफ छैन। तर म उनलाई सोध्छु– ‘तिमी यसलाई रोक्न सक्ने सामर्थ्य राख्छ्यौ ? संसारभरिका सबै गरिबदुःखीलाई गरिबीबाट माथि ल्याउन तिमी सक्छ्यौ ?’
उनी भन्छिन्– ‘छैन, सक्दिनँ।’ ‘त्यसो भए तिमी आफ्नो क्षमताभन्दा बाहिरको कुरामा किन दुःखी हुन्छ्यौ ? तिमीले अपेक्षा होइन, स्थितिलाई स्वीकार गर्नुपर्छ। यस विषमतालाई जित्ने उपाय भनेको तिमीले सकेजति धेरै सिर्जनशील बन्न सक्नु हो। यो समय प्रकृतिले सायद यसैको लागि दिएको हो। तिमी भागदौड र चिन्ताबाट माथि उठ र आफूभित्र प्रवेश गर।’
म उनलाई भन्छु। उनी तत्काललाई खुसी हुन्छिन् र पुनः सृजनात्मक कार्यमा लाग्छिन्। तर जबसम्म उनी आफैंले यो सत्यलाई अनुभूत गर्दिनन्, जबसम्म उनकै घर अगाडिको हरियो वृक्षलाई, नीलो आकाशलाई, कुलुकुलु बगिरहेको खोलीलाई वा हावालाई नित्य मग्मगाउन लगाउने फूलहरूका महकलाई हेरेर, अनुभूत गरेर तीबाट प्रेरणा लिन सक्दिनन् उनी स्थायी खुसीमा प्रवेश गर्न सक्दिनन् र प्राप्त हुनसक्ने अपार आनन्दबाट विमुख हुन्छिन्।
मेरो कुरा अर्को किसिमले ठ्याक्कै शिवानीले भनेकै कुरा हो। मेरी बंगलादेशकी साथीले जसरी सोच्छिन् संसार त्यस्तो भइदिँदैन। प्रकृतिको आफ्नो नियम छ, आफ्नो गति र गन्तव्य छ। मान्छेहरूले विकास र समृद्धिको नाममा होस् वा सभ्यता निर्माणको नाममा आफ्नो अहंकारको तुष्टिका लागि होस्, प्रकृतिलाई पटकपटक अनि अनधिकृत किसिमले दोहन गर्यौं, हडप्यौं, नष्ट गर्यौं। हामीले धेरै निर्दोष रगत बगायौं, धेरै कलिला सपनाहरू चुड्यौं। हामीले प्रकृतिको गति र नियमलाई बारम्बार तोड्यौं र उनको बाटो छेक्यौं। जीवनको होस् वा प्रकृतिको, लय भत्केपछि अप्ठ्यारो हुन्छ। तर म उनलाई यही सत्यलाई बुझाउन असमर्थ भइरहेको छु। उनलाई पटकपटक दुःखी भइरहेको देखिरहेको छु।
उदाहरण मात्र हुन् उनी त। यस दुनियाँमा उनीजस्ता लाखौं, करोडौं मान्छे छन्। कोभिडको त्रासले विश्वलाई तर्साइरहेको समयमा यस सत्यलाई सुरुमै स्वीकार गरें। बगैंचामा नाचीहिँड्ने स–साना चराहरू र पुतलीहरूले यस रहस्यलाई बताइदिए। मैले जीवनमा धेरैतिर छुटेका, टुटेका सिलसिलाहरूलाई जोड्ने, अधूरा कामहरूलाई पूरा गर्ने, केही अर्थपूर्ण नयाँ कामहरूको शुभारम्भ गर्ने अवसर पाएँ। दुनियाँ साह्रै व्यक्तिवादी बन्दै गएको यो समयमा पारिवारिक हुने, अनुभूति, भावना र प्रकृतिको एकदमै नजिक हुने, तिनलाई अनुभूत गर्ने अवसर पाएँ।
म धन्य छु प्रकृति र समयसित। यसपछि मलाई कोभिड–१९ ले मेरा पखेटाहरू काटिदिएको अवस्था एक दिन पनि बोझ भएन। एक क्षण पनि यो समय सकसपूर्ण भएन। मेरा वरिपरि किताबहरू थिए मेरा साथीहरू। उनीहरू चाहन्थे म उनीहरूलाई स्पर्श गरुँ, उनीहरूभित्र प्रवेश गरुँ र त्यहाँको छुट्टै विचित्रको संसारमा विचरण गरुँ, तर एक क्षण पनि, एक पल पनि समय खेर नफालूँ। उदास र निराश नबनूँ।
किताबहरूसँग त म सधैं हुन्थें, तर हुन्थें मात्र। मैले किताबसँग फेरि गहिरो मित्रता गरें लकडाउनको अवधिमा। अहा ! जीवन रङहरूले भरिएजस्तो, वसन्तको रंगीन र सुवासनायुक्त वागमा प्रफुल्ल प्रवेश भएजस्तो, विचारका नयाँनयाँ झ्यालढोकाबाट प्रकाशहरूले प्रवेश गरेर आफूभित्र कतै कतै धमिलो भएको संसारलाई नै उज्यालो पारिदिएजस्तो, जग्मगाइदिएजस्तो ! त्यो अनुभूतिलाई
ठ्याक्कै कसरी व्यक्त गर्नु ? एउटा किताबले अर्को किताबसँग मेरो अनुपस्थितिमा मेरो कुरा कहिल्यै काटेन। मेरा बारेमा भए नभएको कुरा लगाएर अर्को किताबको कान भरेन। सबै किताब उत्तिकै प्रिय भए।
कसैले मलाई मनोरञ्जन दिएर खुसी बनाए, कसैले मलाई अन्धकारसँग सामना गर्ने र जीवनका लागि आवश्यक अँध्यारोको भागलाई नै पनि स्वीकार गर्ने उपाय सिकाए। मेरा लोलाउँदै गएका आँखा खोलिदिए, कसैले दिव्य ज्ञानको प्रकाश दिएर अगाडिको बाटो देखाइदिए, संसार घुमाए। तर कोही पनि मसँग रिसाएनन्, कसैले पनि केही मागेनन्, गुनासो गरेनन्। मसँग मेरो अर्को साथी छ ल्यापटप। ल्यापटप खोलें र लेखें–
घरमा बन्द
जब एउटा अदृश्य भाइरसले
मान्छेको श्रेष्ठताको अहंमाथि
टेकेर अट्टहास गर्यो
दौडिरहेको सहर ठिंग रोकियो
लक डाउन भयो समय
अचानक मृत्यु भयो–
हतारको
भागदौडको
औडाहा, आरिस र असन्तुष्टिको।
चराको चिरिबिरी आवाजले
प्रभातको शुभ धुन बजायो
साँझको आरती गायो
अनन्त आकाश जीवनको
उत्साहजस्तो नीलो मुस्कुरायो
पर हजुरबाजस्तो सेतो हिमाल
आशीर्वादका लागि लयबद्ध भई उठ्यो।
मेरो घरको सानो बगैंचाले
मुस्कुरायो इन्द्रेणी मुस्कान
र मेरो स्वागतमा हात फैलायो।
अचम्मसँग अनुराग मग्मगायो
फर्केपछि उदात्त प्रकृतिको अँगालोमा
जीवनले प्राण पायो।
अर्को दिन मैले फेरि
अर्को अनुभूतिलाई लेखें।
सबैभन्दा ठूलो खुसी
आज बिहान पनि ब्यूँझियौ तिमी
यो आजका लागि
तिमीले पाएको सबैभन्दा ठूलो खुसी हो !
निराश हुनलाई, रुनलाई
त्यस्तो कुनै असफलता छैन तिमीसँग
प्रकृति तिमीलाई मुस्कान दिन तयार छिन्
रङहरू दिन तयार छिन्।
अब ऊठ अनि कृतज्ञ होऊ
विनम्रताको गीत गाऊ
आशा र भरोसाको गीत गाऊ
तिम्रो मुटुले संगीत बजाइरहेको छ
तिम्रो श्वासप्रश्वास लयमा छ
गति समात्न तम्तयार छ
तिम्रो पाउ।
यसरी पचासौं कविता लेखें। निबन्ध, संस्मरण र व्यक्तिचित्रहरू लेखें। असन्तुष्टि, उकुसमुकुस र डिप्रेसनले मतिर आँखा उठाएर हेर्ने अवसर नै पाएन। आजसम्म कहिल्यै नभेटेको, नदेखेको, अनुभूत नगरेको प्रकृति र जीवनलाई अँगालो हालें। हामी सबैलाई थाहा छ, जीवन हामीले सोचेजस्तो मात्र हुँदैन। समय कहिले पनि हाम्रो वशमा हुँदैन। तर यी दुवै कुरालाई हामीले जीवनको पक्षमा सर्वोत्तम किसिमले उपयोग गर्न भने सक्छौं।
बगैंचाको फूललाई पानी हाल्न थालें बिहान बेलुका। उनीहरूको भुइँ खोस्रन थालें। उनीहरू मसँग मुस्कुराउन र कुरा गर्न थाले। कतै गएर फर्कंदा उनीहरूले स्वागत गर्न थाले। बोटविरूवा हरिया हुँदै गए, हावाको मन्द स्पर्शमै पनि उनीहरूका पातहरूले नृत्य गरेको देख्न थालें। चराहरू यिनै वृक्षका हाँगामा बसेर प्रेम गर्छन्, गीत गाउँछन्, नाच्छन्। हतार, महत्त्वाकांक्षा, भागदौड र चुक्लीहरूमै जीवनको कति समय अलमलिइरहेको मैले जीवनतिर फर्कन यिनै प्रकृतिबाट सिकें।
आफूभित्रको दैत्य र ईश्वर दुवैलाई पर्गेल्न सकें। र, आफ्ना लागि चाहिने खुसी, आनन्द र अर्थलाई कसरी प्राप्त गर्ने भनेर सोच्न र प्राप्त गर्न सक्ने भएँ। दक्षिण एसियाका कविहरूलाई सम्पर्क गरें। उनीहरूसँग उनीहरूका उत्कृष्ट कविताहरू र तिनलाई अनुवाद गर्ने स्वीकृतिसमेत मागें। म पसें अब भावना, अनुभूति, विचार र मनको संसारमा। त्यहाँ त अनेक थरिका प्रकाश रहेछन्, अनेक थरिका गुम्फनहरू रहेछन्, अँध्याराहरू पनि रहेछन् कहीँ कतै। मान्छेका भावनाहरू जहाँ जुन संस्कार, संस्कृति र भाषाको बीचमा भए पनि उस्तै, एउटै। मलाई गजब लाग्यो। म उनीहरूका कविताभित्रको उज्यालोले उज्यालिएँ, मैले भावना र अनुभूतिमार्पmत मान्छेहरूको मनलाई स्पर्श गरें।
कति कति पटक त लाग्यो, म ईश्वरलाई भेटिरहेछु, र स्वार्थभन्दा अलि माथि उठेर आशीर्वाद मागिरहेको छु, पाइरहेको छु। म बिहान बेलुका प्रार्थना गर्न बस्दा सधैं कामना गर्ने गर्छु– हे ईश्वर मभित्र अहंकार कहिल्यै नआओस् र कर्मको बाटोमा हिँडिरहँदा थकाइ कहिल्यै नलागोस्। विश्वभरिका मानवजातिलाई उपयोगी हुने कुरा सिर्जना गर्न सकूँ।
अनि एक दिन कविताहरूबाट बाहिर निस्केर हेरें, थाहै नपाइकन तर दक्षिण एसियाभर सिर्जनशील मान्छेहरूसँग मेरो एउटा सञ्जाल बनिसकेको रहेछ। यो सञ्जाल अझ फैलिएर सिंगै एसिया, यूरोप, अमेरिकी महादेश र अफ्रिकातिर पनि लम्किरहेको छ। सोच्दैछु– यो ठूलो सम्पत्ति हो मेरो, जीवनपर्यन्तका लागि आशीर्वाद हो। यसैलाई समातेर धेरै काम गर्न सक्छु।
अहिले यसरी लेखिरहेको बेलामा कोभिडको दोस्रो लहर बेस्सरी उठेको छ मेरो वरिपरि र संसारभरि नै। र, फेरि निषेधाज्ञाको सरकारी सूचनाले सबै मान्छेले देख्दा घरभित्रै सीमित भएको छु। तर म वास्तवमा घरभित्र सीमित छैन। यसैबेला पुनः एक पटक निस्केको छु, संसारको भ्रमण गर्न। यो अर्को अवसर हो मेरा लागि मानवजातिलाई बाँच्न र आशा जगाउन उपयोगी हुने सामग्रीको सिर्जना गर्ने। पुनः एक पटक ध्यानस्थ हुन गइरहेको छु, जीवनका लागि।