नवयौवना
फेरि उनी मुस्काइन्। मुस्काउँदा त उनको सुन्दरता झन् बल्यो।
जाडोको महिना। त्यस माथि पानी पर्ला–पर्लाजस्तो मौसम। पृथ्वी चोकमा थिएँ। बस पर्खेर उभिरहेको म मनुष्य। केही क्षणपछि बस आयो। अघिल्लो बस टनाटन थियो, छिर्नै गाह्रो।
अर्को आएपछि चढें, भरिभराउ थिएन। पछाडिका खालि सिटमध्ये एउटामा बसेंं। कन्डक्टर भाडा उठाउँदै आयो। कहाँ जाने ? छेउछाउकालाई सोध्यो। मलाई सोधेन, भाडा नि मागेन। सोचें, नाफा हुने भयो।
बस नगरपालिका पुगेर रोकियो। दायाँतर्फ सामुन्नेको एउटा मान्छे ओर्लियो। कोही पनि उक्लेनन्। त्यस सिटमा भर्खरकी भरभराउँदी नवयौवना थिइन्। ओठमा हलुका लिपिस्टिक लगाएकी, हाफ पाइन्ट अनि टिसर्ट। उन्मक्त वक्षबाटै यौवनको अनुमान गर्न सकिने। गालाले पनि यौवनको परिभाषा दिइरहेका थिए अर्थात् मुस्ताङे स्याउजस्तै गाला पनि।
एक टक लगाएर केही क्षण उनैलाई नियालिरहें। उनले पनि मतर्फ हेरिन्। सानोतिनो चोरी गरेपछि पक्राउ परेझैं गरेर अलमलिएँ। त्यो यात्रु उत्रिएपछि लागेको थियो, बसिरहेको सिट चटक्क छाडेर उनको छेउमा बसौं। मेरो हेराइपछि उनको हेराइमा कुनै भावनात्मक प्रतिक्रिया नपाउँदा आँट गरिनँ।
बस गुडिरहेको थियो। अलि माथि भाटभटेनीनेर पुग्दा उनीतर्फ मोडिएँ। आँखा जुध्यो, उनले फर्केर मैलाई हेरिरहेकी थिई। आँखा यसरी जुधेका थिए कि केही अर्थ र तात्पर्य, केही रस र रहस्य हेराइमा व्याप्त छ। उ किञ्चित् ओठ लस्काएर मुस्कुराई। म पनि स्वाभाविक रूपमै मुस्काएँ। मानौं उसले स्वागतार्थ खोलेका ढोकाभित्र म सहजे पसें।
‘के तपाई मलाई चिन्नु हुन्छ।’ उसले अस्वाभाविक पारामा सोधी।
त्यस सिटमा भरभराउँदी नवयौवना थिइन्। ओठमा हलुका लिपिस्टिक लगाएकी, हाफ पाइन्ट अनि टिसर्ट। गालाले पनि यौवनको परिभाषा दिइरहेका थिए अर्थात् मुस्ताङे स्याउजस्तै गाला पनि। एक टक लगाएर केही क्षण उनैलाई नियालिरहें।
‘किन र ? कतै भेटेजस्तो त लाग्यो तर अहिले सम्झना भएन।’ मैले जतिसक्दो बनावटी उत्तर दिएँ।
‘मलाई पनि त्यस्तै लाग्यो।’
‘भन्नाले !’
‘मैले पनि तपाईलाई कतै देखे जस्तो लाग्यो। तर...’
‘हो र ?’
‘हो नि त।’ उसले झन् हिस्सीभावमा भनी। उसले साँचो बोली या झुटो। या त किन त्यसरी प्रस्तुत भइरहेकी थिई, भेउ पाइनँ। कुनै अर्थ खोज्न पनि आवश्यक ठानिनँ।
यद्यपि आफूलाई रोक्न सकिनँ। अलि भावावेशमा आएँ। अनियन्त्रित बनें। भन्नाले बसिरहेको ठाउँबाट उठेर उसँगैको खाली सिटमा बस्न पुगें।
उसले पुलुक्क हेरी। मैले संकोच र संशयलाई मुस्काएर टारिदिएँ।
केही क्षण मौनतामा बसिरह्यौं।
‘तपाई कहाँसम्म ?’ जबर्जस्ती मनभित्र घुसेर गफगाफको अध्याय थालें।
‘बगरसम्म, तपाईं नि ?’ उ खुल्न थाली।
‘बगरसम्म नै हो।’
सिटमा अलि मिलेर बसें। त्यसरी बस्दा उसँग राम्ररी स्पर्श भयो। दायाँतर्फको पाटो अगेनाको छेउमा बसेजस्तो भयो। शरीर र मन तात्न थाले। ‘यस्तो जाडोमा पनि कस्तो टिसर्ट मात्र लाउनु भएको त नि।’ बोल्ने कुरा नपाएझैं गरेर भनें।
‘दिउँसो त घाम लागेको थियो, पोखराको मौसमको ठेगानै नहुने।’ उसले भनी, ‘तपाईंले पनि सर्ट मात्र लाउनु भएको छ त।’
उसको भनाइले खिस्रिक्क परें। थप बोल्ने वाक्य पाइनँ।
बस चिप्लेढुंगामा रोकियो। झ्यालबाट दुईतीनवटा बोर्ड देखिए, ‘यहाँ इडीभी भरिन्छ।’ आँखा त्यतै अडिए।
क्षणपश्चात् यौवनातर्फ मोडिएँ। ‘तपाईले डीभी भर्नुभयो ?’ उसले प्रश्न गरी।
‘भर्न त भरेको हो क्यारे, जहिले भरे पनि पर्ने होइन। पैसाको मात्र नास।’ उत्साहबिनै भनें।
‘के भन्नु भएको हो ? पर्यो भने त परिहाल्यो नि।’ उसले आँखा नचाउँदै भनी।
कन्डक्टर भाडा उठाउँदै आयो। मैले विशेष–सम्बन्धको मान्छेझैं उनको पनि भाडा दिँदै भनें, ‘यी भाडा लिनु त हामी दुई जनाको।’
उसले ब्याग खोल्दै थिई। मैले दिएपछि अनौठो मान्दै भनी, ‘म दिइहाल्थे नि।’
‘तपाईंले दिए नि, मैले दिए नि के फरक पर्यो र ?’ अतिरञ्जित तर्क दिँदै भनें।
मेरो दृष्टिले उसलाई नै मुख्य पात्र बनाएका थिए। मैले निसंकोच हेरिरहेको थिएँ। बस खाल्टोमा परेर होला शरीर असन्तुलित भयो। पछिल्लो सिटमा बसेका हामीलाई एकपल्ट उचालेर थेचार्यो।
त्यति बेला उसको छातीको उभार टिसर्टभित्र हल्लिए। मलाई पनि त्यतै कतै छोइएको महसुस भयो तर त्यो महसुुसलाई त्यति महत्त्व दिइनँ।
‘बाटो उस्तो हो कि ड्राइभर, कत्ति नमज्जाले बजार्यो।’ उसले गुनासो गर्दै भनी।
उसले हलचलबाट बिग्रेको बसाई यताउता सारेर मिलाई। म पनि सम्हालिएँ। अर्थात् उसको शरीरका साप्रा च्याप्न पुगेका मेरा साप्रालाई सारें। अघि धुर्त बन्न खोजेका जस्ता हातलाई पनि शरीरबाट सारे र अगाडिको सिटको डन्डीमा समातें।
बस नदीपुरमा पुग्यो। फेरि मतर्फ हेरेर मन्द मन्द मुस्काई र भनी, ‘तपाईंको घर कता नि ?’
‘ऊ त्यो पारीको गाउँ हो।’ औंलाले देखाउँदै भनें।
‘बाँदर लाग्छन् होला है ?’
‘अँ लाग्छन्।’
‘हाम्रोमा पनि लाग्छन्, एउटै बाँदर होलान् है। तपाईको घरतिर लाग्ने र हाम्रोतिर लाग्ने बाँदर।’
‘तिनैसँग सोध्नु पर्ला र अर्काे पालीको भेटमा भनौंला।’
हाँस्लिन् भन्ठानेको थिएँ तर उनी हाँसिनन्। युवती पोखराको मौसमजस्ता हुन्छन्, हाँस्ने र रिसाउनेको ठेगान हुँदैन। मैले ऊ रिसाउनभन्दा पहिला भनें, ‘तपाईंको घर कहाँ हो, बाटुलेचौर ?’
‘अर्मला हो।’
फेरि उनी मुस्काइन्। मुस्काउँदा उनको सुन्दरता झन् बल्यो। लाग्यो, ऊ सुन्दर मात्र होइन सोझी पनि छे। तर सुन्दर भएर के गर्ने ? छोराको उमेरकी छ।
उसो त आजकल बाटोमा कुनै सुन्दर युवती देख्नेबित्तिकै कल्पनामा रमाउँथे– यो छोरालाई सुहाउँदी छ।
अर्थात् यत्तिकी केटी बुहारीको रूपमा पाए, छोरो पनि खुसी हुन्छ। उसको जीवन पनि सफल हुन्छ। घर पनि डेन्टपेन्ट हुन्छ। सम्भवतः उसबाट जन्मिएका सन्तान पनि सुन्दर।
त्यस्तो कल्पनाअनुरूप धेरै युवतीलाई बुहारी बनाएँ। भलै एकतर्फी रूपमा किन नहोस्।
उसमाथि सरर्रर नजर दौडाएँ। उमेरको गणित लगाएँ। २१/२२ की हुँदी हो। छोराकी दामली सरह। तर यसपालि भने भडकिएँ, छोरासरहको उमेर पनि देखिनँ, बुहारीको रूपमा पनि कल्पिनँ। किन हो किन, त्यस युवती यति राम्री लागि कि ! अर्थात् मलाई यसरी आकर्षित गरी कि मैले उसलाई केवल विपरीत लिंगी मात्र ठानें।
कुन चाहिँ भाइरसले दिमागलाई बसमा पार्यो, मेरो पुरुषत्वभाव चुम्बकीय बन्यो। उमेरको कुनै हेक्का भएन। उसलाई हेर्दा हेर्दै प्रणय सपना देख्न थालें।
त्यसरी खुल्ला आँखाले दिनदहाडै देखेका सपनाले के अर्थ राख्ला ? सोचें, सम्हालिनु पर्छ जथाभावी नैतिकता, मर्यादा र संस्कारको पर्खाल नाँघ्नु हुँदैन। बेलामा बुद्धि पुर्याइएन भने जीवन पछुताएर बित्छ।
अर्काे मन मानेन। उसले सोचाइलाई दिग्म्रमित र पथभ्रष्ट तुल्यायो। सोच्न थालें, कुनै राम्री केटी देख्दा फर्केर हेर्नु, बोल्नु र मन पराउनु जैविक सन्दर्भ हुन्। तिनले नै जीवनलाई इन्द्रेणीजस्तो बनाउँछन्। आदर्शले त जीवन खुम्च्याएर, निसास्सिएर, तड्पाएर बाँच्न सिकाउँछ। हाँस्न सिकाउँदैन।
आखिर उमेर त एउटा अंक मात्र हो। दिन उमेरले साथ दिउञ्जेल त हो– मोजमस्ती र रोमान्स। जहाँ खुसी र आनन्द हुन्छ जहाँ जीवनमा लागेका तमाम लेउझ्याउ पखालिन्छन्, त्यहाँ जीवनको स्वर्ग प्राप्ति हुन्छ।
‘ल क्याम्पस गेट झर्नोस्’ कन्डक्टरको आवाजले मेरो तन्द्रा खुल्यो।
बस रोकियो।
झ्यालबाट हेरिरहेकी ऊ मतर्फ फर्की। ‘कति छिटो बगर आइपुग्यो है।’ उसले असामान्य भावमा भनी।
‘किन र ? छिटो आउनु राम्रो होइन र ?’ मैले सोझो अर्थले भने।
‘त्यो त हो, तपाईसँग धेरै गफ गर्न पाइएन नि।’ उसले नखरा पार्दै भनी।
‘त्यस्तै हो भने खाजा खाँदै गफ गरौं न त।’
‘मैले साथीसँग खाजा खाइसकें। अब अर्काे भेटमा चियाखाजा जे भए नि खाउँला।’
‘कसरी होला र फेरि भेट ?’
‘संसार गोलो छ भन्ने कुरा तपाईलाई याद छैन र ! भैहाल्छ नि।’
म थप बोल्न उचित ठानिनँ।
‘तपाईं फेसबुक चलाउनु हुन्छ होला नि।’
उसले भनी।
‘अँ चलाउँछु।’ छोटो उत्तर दिएँ।
‘फेसबुक आईडी के हो ?’ ऊ अलि उत्साहित
हुँदै भनी।
‘हार्दिक खत्री, पोखरा’ स्वाभाविक तवरले भनें।
‘भरे फ्रेन्ड रिक्वेस्ट पठाउँछु।’ उसले बसबाट ओर्लिदै भनी।
अर्काे भेटको तजविज मिल्ने ठानेर खुसी भएँ।