न्युजरुमदेखि भेरी किनारसम्म
लालनपालनमा चासो राख्नु नपर्ने ! मरेपछि मुचुल्का उठाएर गर्व गर्नुपर्ने राज्यको व्यवहारले बेचैन बनें।
दिउँसो स्कूलमा बालबालिकालाई पढाउँथे। साँझ दैनिक अखबारमा काम गर्थें। मेरो दैनिकी त्यही थियो त्यतिबेला। दिउँसो साना बालबालिकाको सिकाइमा रमाउँदा एक किसिमको रमाइलो हुन्थ्यो। साँझ कान्तिपुर दैनिकमा समाचार सम्पादनको आनन्द अर्कै थियो। साँझ के भनूँ अखबारको काम रात, मध्यरात नै हुन्थ्यो। समाचारका विषय विविध हुन्थे। भाषण र औपचारिक कार्यक्रमका फिलर न्युजभन्दा सामाजिक विषयका समाचार पढ्न र सम्पादन गर्न पाउँदाको सन्तुष्टि अर्कै हुन्थ्यो। सम्पादनको कामसँगै अनेकौं नयाँ ज्ञान, सूचना र सिकाइ भइरहेको हुन्थ्यो। लेखक÷सर्जकहरूका लागि लेखन र सिर्जनाका विषय टिप्ने खास स्रोत भनेकै समाज हो। समाजका समाचार प्रिय लाग्छन्। कतिपय लेखनका विषय पनि समाचारमा पाउने गर्छु।
समाचार सम्पादनका क्रममा समाजका अनेकखाले आयाम सम्प्रेषण गरिएका हुन्थे। तिनलाई पढेर अपुग कुरा थप्नु या बढी भए काट्नु, एकपक्षीय भए सन्तुलित बनाउनु, भाषा मीठो र चुस्त बनाउनु अनि पाठकलाई दिनु दैनिकीको मूल कर्म थियो। सोही मेसोमा दैलेख, सुर्खेत, सल्यान, जाजरकोट र दाङबाट पत्रकारहरू प्रकाश अधिकारी, मोती पौडेल, दुर्गालाल केसीलगायतले लोपोन्मुख, सीमान्तकृत राउटे समुदायका बारेमा विभिन्न समाचार सम्प्रेषण गर्थे। तिनमा राउटेलाई खाद्यान्न उपलब्ध गराएको, नागरिकता दिन लागेको, शिक्षाका लागि पहल गरेको, बसाइँ सरेको, मृत्यु भएको, राजधानी गएको, सीडीओ, नेता, मन्त्री र प्रधानमन्त्रीलाई भेटेको, दसैंमा खसी मागेको, मुखिया फेरिएको, गाउँलेसँग झगडा परेको जस्ता विषय हुन्थे।
एकदिन एउटा यस्तै रिर्पोटिङ आयो। त्यसदिन राउटे मुखिया ऐनबहादुर शाहीको लडेर मृत्यु भएको थियो। समाचारको शीर्षक थियो, ‘लडेरै जान्छ राउटेको ज्यान’। समाचारमा मादक पदार्थ सेवन गरी हिँडेका तत्कालीन राउटे मुखिया उनको भीरबाट लडेर मृत्यु भएको र सरकारले पहिलोपल्ट राउटेको मृत्युको मुचुल्का उठाइदिएको कुरा थियो। यस घटनाले समाचार सम्पादनका क्रममा चस्स पारेको थियो। सरकारले जीवनभरचाहिँ पालनपोषणमा ध्यान दिनु नपर्ने, उसको घट्दो जनसंख्या र जीउज्यानको सुरक्षामा वास्ता गर्नु नपर्ने, तिनका बालबालिकाको लालनपालनमा चासो राख्नु नपर्ने अनि मरेपछि मुचुल्का उठाएर गर्व गर्नुपर्ने राज्यको व्यवहारले बेचैन बनें। समाचार छाप्न पठाएँ र डेरा फर्केको मध्यरातसम्म निदाउन सकिनँ। त्यसैबेला कविता लेखें– ‘राउटे मुखिया ऐनबहादुर शाहीको स्पष्टीकरण’। पछि यो कविता अन्नपूर्ण पोष्टको फुर्सदमा मुखिया ऐनबहादुर शाहीको तस्बिरसहित प्रकाशित भयो।
कविता एकै बसाइमा लेखिसिध्याएको थिएँ। पछि पुनर्लेखन, सम्पादन गर्न खोज्दा पनि खासै परिवर्तन गर्नु परेन। एकै बसाइ र एकै लेखाइमा कुनै पनि रचना फाइनल गर्न सक्दिनथें। यस्तो लेखनले छक्क परें। वास्तवमा त्यो कविता हृदयबाटै लेखेको थिएँ। प्रतिक्रिया पनि धेरै राम्रो आयो। कविता त लेखें, छापें। प्रतिक्रियाले मक्ख परें अनि आत्मरतिमा रमाएँ पनि। तर सोचें, त्यसले राउटेको जीवनमा के नै गर्न सक्यो र ! केही न केही। तर पनि राउटेबारेका विविध खबरमा चासो रहिरह्यो। समाजशास्त्रको विद्यार्थी हुनुको नाताले पनि चासो थियो। पाएसम्म अध्ययन पनि गर्थें। डोरबहादुर विष्टकृत ‘सबै जातको फूलबारी’, पूर्णप्रकाश नेपाल यात्रीको ‘राउटे लोकजीवन’, गौरीबहादुर कार्कीको ‘दोसाँधका राउटे’, जाना फर्टिएरको ‘किंग्स अफ दि फरेस्ट’ लगायतका किताब पनि छिचलिसकेको थिएँ। यसैबीच नेटमा उपलब्ध राउटेसम्बन्धित सामग्री पनि हेर्न थालें भने राउटेबारे समाचारमा प्रायः उद्धरण भइरहने राउटे उत्थान प्रतिष्ठानकी अध्यक्ष दिदी सत्यदेवी खड्का अधिकारीसँग पनि पटक पटक भेटेर राउटेबारे अनेक जिज्ञासा राखेको थिएँ। प्रतिष्ठानका मुखपत्र र स्मारिक पनि हेरें।
यही मेसोमा युएनडीपीले राउटेका काष्ठकला बचाउन एउटा ठूलै परियोजना सञ्चालन गरेको थाहा भयो। इन्टरनेटमा खोजका क्रममा त्यही परियोजनामा सम्बद्ध पत्रकार हरि थापाको इमेल पाएँ र उनलाई केही जिज्ञासा पठाएँ। उनले रेस्पोन्स गरे। त्यतिले चित्त नबुझेर थप अध्ययनका लागि म हरि थापाको घर खोज्दै ललितपुर बालकुमारी पनि पुगें। खासमा कविताले मात्र अद्भुत समुदायमाथि न्याय हुँदैन भन्ने लागिरहेको थियो। आख्यान लेख्नैपर्छ भन्ने चाहन्थें। आपूmले भेटेका आख्यानका लागि उपयुक्त विषय टिप्ने पनि गर्छु। राउटे पनि यसरी टिपिएको एउटा विषय थियो। यसअघि यार्चागुम्बा संकलन गर्न जाने उच्च पहाडी क्षेत्रका बासिन्दा, खासगरी बालबालिकाको मुद्दालाई लिएर बाल उपन्यास ‘यार्चा’ लेखिसकेकोे थिएँ। विद्यालयहरूमा ‘यार्चा’लाई सन्दर्भ सामग्रीका रूपमा राखिएबाट राउटेसम्बन्धी आख्यान पनि योभन्दा अझ रोचक र लेख्नैपर्ने विषय हो भन्नेमा ढुक्क थिएँ।
समाजशास्त्रका स्नातकोत्तर विद्यार्थी रतन देवकोटाको राउटेको फोटोसहितको स्टाटस देखें। उनीसँग राउटेबारे थप अध्ययन गर्न राउटे बस्तीमा जाने योजना बन्यो। उपयुक्त समयको खोजी गर्दागर्दै २०७५ सालको हिउँदको आखिरीतिर शनिबार, आइतबार, शिवरात्रीजस्ता लहरै चार दिन बिदा परेको थियो। अरू केही दिन अफिसमा बिदा मिलाएर सुर्खेत पुग्यौं। खुसीको कुरा रतनसँगै फोटोग्राफर एवं लेखक आरके अदीप्त गिरी पनि मिसिए। भोलिपल्ट सुर्खेतमा सोधखोज गरी भेरीगंगा नगरपालिकाको लेखफर्सा भन्ने ठाउँमा भेरी नदीको किनारमा बसेका राउटेलाई भेट्न समस्या भएन। हप्ता दिन राउटेसँग रमायौं। राउटे बस्तीको दैनिकी र जीवनशैली नियाल्दै दिन बित्थे। अवलोकन, अन्तर्वार्ता र अनुसन्धानमा अभ्यस्त भयौं। धेरै कुरा प्रत्यक्ष देखियो, भोगियो। सानादेखि बूढाबूढीम्म, महिलादेखि पुरुषसम्म सबै रक्सी भनेपछि हुरुक्कै। बाहिरबाट गएका मानिससँग पैसा, रक्सी र सुर्ती माग्ने। ओहो नसोचेका थुप्रै थुप्रै कुरा देखिए, भोगिए। सबै कुरा डायरीमा टिपोट गरियो। तस्बिर, रेकर्ड र केही भिडियो पनि खिचियो। मितज्यू पनि बोलियो।
यसरी फर्केपछि पनि निकै समय केही नपुगे नपुगेजस्तो भइरह्यो। तर साथीहरूको हुटहुटी र लामो तयारी त्यसै जाने डर बढ्न थाल्यो। अनि सुस्तरी सुस्तरी कथाको ड्राफ्ट अघि बढाएँ। पहिलो ड्राफ्ट अलि समय राखेर पुनर्लेखन गरेपछि एकचरण आफू निकटका केही साथीलाई पढ्न दिएँ। थुप्रै फिडब्याक पनि आए। तीमध्ये चित्त बुझेकालाई समेटेर पुनर्लेखन र सम्पादनसमेत गरी किताबको रूप दिएँ।
महामारीका कारण विमोचन कार्यक्रम राख्ने सम्भावना रहेन। तर अनलाइन मिडियाहरूले समाचार राम्ररी सम्प्रेषण गरिदिए। अब ‘कदम’ मेरो मात्र रहेन, यो सबैको साझा हो। यसमा राम्रा कुराहरू छन् भने त्यो सबै राउटे समुदाय र उनीहरूसँग काम गरिरहेका श्रद्धेय महानुभावहरूबाट लिएको हुँ। यसको श्रेय उहाँहरूलाई जान्छ। लाग्छ, एसियाकै अन्तिम फिरन्ता जाति मानिने समुदायको यो आख्यानमा अनेकौं रोचक विषयहरू छन्। पुस्तक या आख्यान विकासमा रहेका कमी, कमजोरी सबै मेरा हुन्। आदरणीय पाठक, समीक्षक, समालोचक र सञ्चारकर्मीले यसमा सचेत गराउनु नै हुनेछ।