अमेरिकालाई काबुल विमानस्थलमा आतंककारी हमलाको चिन्ता

अमेरिकालाई काबुल विमानस्थलमा आतंककारी हमलाको चिन्ता

इस्लामिक स्टेट आईएस समूहको अफगानिस्तान शाखाबाट आक्रमणको सम्भावना रहेको भन्दै अमेरिकाले आफ्ना नागरिकलाई काबुल विमानस्थल नजिक नरहन सचेत गराएको छ।

शनिवार अफगानिस्तानस्थित अमेरिकी दूतावासले जारी गरेको एउटा सुरक्षा सतर्कतामा सम्भावित सुरक्षा चुनौतीका कारण अमेरिकी नागरिकहरूलाई विमानस्थलको गेट बाहिर नरहन भनिएको हो। अमेरिकी सरकारका प्रतिनिधिले व्यक्तिगत रूपमा यात्रा गर्न भनिएकाहरूले मात्रै त्यो बाटो प्रयोग गर्न दूतावासले भनेको छ।

अमेरिकी रक्षा अधिकारीहरूले घटनाक्रमहरूको अनुगमन गरिरहेको र विमानस्थल पुग्ने वैकल्पिक बाटोहरूको खोजी भइरहेको बताएका छन्।आईएसको सम्भावित सुरक्षा चुनौती के हो भन्नेबारे अमेरिकी अधिकारीहरूले थप खुलाएका छैनन्।

आईएसले पनि सार्वजनिक रूपमा राजधानी काबुलमा आक्रमण गर्ने चेतावनी दिएको छैन। राजधानी काबुल अफगानिस्तानको हतियारधारी विद्रोही समूह तालिबानले नियन्त्रणमा लिएसँगै देश छोड्न काबुल विमानस्थल बाहिर हजारौँ मानिसहरूको निरन्तर भिड देखिएको छ।

भिडमा मानिसहरू च्यापिएको समाचार आइरहेका बेला अमेरिकाले आफ्ना नागरिकहरूलाई सावधानी अपनाउन भनेको हो।

तालिबानले प्रतिशोध साँध्ने डरले यसअघि अमेरिका र उसका सहयोगीहरूका लागि काम गर्ने मानिसहरू र मानवअधिकारको क्षेत्रमा वकालत गर्नेहरू अफगानिस्तान छोड्न प्रयासरत छन्।

शनिवार विमानस्थलमा भएको घटनाबारे यथार्थ बाहिर नआइसकेको भए पनि स्काई न्यूजले हजारौँको भिडमा च्यापिएर केहीको मृत्यु समेत भएको हुनसक्ने आशङ्का गरिएको बताएको छ।

अमेरिकी रक्षा विभागले शनिवार सम्म २,५०० अमेरिकी नागरिकसहित १७,००० मानिसहरूलाई काबुल विमानस्थलबाट उद्धार उडानमा समेटिएको जनाएको छ। एक अधिकारीले अमेरिकाले उद्धार गर्न चाहेका अमेरिकी र अफगानमध्ये सानो सङ्ख्यामा केहीले दुर्व्यवहार खेपेको र कतिपयलाई विमानस्थल जाने क्रममा कुटपिट समेत गरिएको बताएका छन्।

विमानस्थल बाहिरको भिडबाट जोगिन जर्मनी र स्वीजरल्याण्डलगायत अन्य देशहरूले समेत आफ्ना नागरिकलाई सचेत गराइसकेका छन्।

अमेरिकी सुरक्षा फौजले काबुल अन्तर्राष्ट्रिय विमानस्थल नियन्त्रणमा लिएर उद्धार उडानहरू सञ्चालन गरिरहेको छ।

अमेरिकाले अबको एक सातापछि अफगानिस्तानबाट आफ्नो सबै फौज फिर्ता गर्ने भनिसकेका कारण त्यसपछि के हुने हो भन्ने अन्योल देखिन्छ। तर नेटो गठबन्धनका महासचिव जेन स्टोलटनवर्गले त्यसपछि पनि काबुल विमानस्थलबाट उद्धार उडान सुचारु राख्न प्रस्ताव गरिएको बताएका छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.