कागजको क्राउन शिरमा पहिरिएपछि...
काठमाडौं : भाग्य वा कर्म केमा विश्वास गर्नुहुन्छ ? कार्यक्रमको निर्णायक स्थानमा बसेका अधिकारकर्मी डा. वीरेन्द्रराज पोखरेलले प्रश्न सार्वजनिक गरे। सहभागी प्रतियोगी किरण दाहालको जवाफ थियो ‘कलम कर्म हो भने, भाग्य त्यसबाट निस्किएको अक्षर। प्रोजेक्टरको भिडियोमा अनलाइन देखिएका उनले भाग्य छ भन्दैमा कर्म नगरी सफल हुन नसक्ने बताए। निर्णायक स्थानमा बसेका प्रशान्त ताम्राकार, माल्भिका सुब्बा र डा. विरेन्द्र राज पोखरेल खुसि भएर प्रशंसा गरे।
मिस्टर एण्ड मिसेस व्लाइन्ड रकर्स कार्यक्रमको सिजन-३ ले विजेता प्राप्त गरेको छ। दृष्टिविहिन भएका व्यक्तिहरुको अधिकारको क्षेत्रमा काम गर्दै आइरहेको संस्था व्याइन्ड रक्सले आइतबार ग्राण्ड फिनाले आइतबार सम्पन्न गर्यो। कार्यक्रममा मिस्टर व्लाइण्ड रर्कस गठ्ठाघरका किरण दाहाल विजेता बने। उपाधिसँगै उनले १५ हजार नगद, क्राउन, ट्रफि र गिफ्ट ह्याम्पर प्राप्त गरे।
यस्तै गरी १० हजार नगदसहित बमबहादुर बिक फस्ट रनरअप र पाँच हजार नगदसहित कुशल न्यौपानेले सेकेन्ड रनरअपको उपाधि हासिल गरे।
अधिकार कर्मी श्रृष्टि केसीको अध्यक्षतामा ७ वर्ष अघि स्थापना भएको ब्लाइण्ड रक्सले दृष्टिविहिन व्यक्तिका लागि विभिन्न जोखिमयुक्त कार्यहरु पनि सञ्चालन गर्दै आइरहेको छ। यसैक्रममा उनीहरुको मानसिक तथा शारिरीक क्षमतालाई मुल्याङन गर्दै तीन वर्षदेखि हरेक वर्ष मिसेस एण्ड मिस्टर व्लाइण्ड रर्कस प्रतियोगिता शुरु गरेको थियो।
अन्य दिनभन्दा आइतबारको ग्राण्ड फिनाले फरक देखिन्थ्यो। ठमेलस्थित एक होटलमा सञ्चालन भएको फाइनल कार्यक्रममा निर्णयक मण्डल तथा सिमित मानिसहरु मात्रै उपस्थित थिए। कार्यक्रममा सहभागी भएका विभिन्न जिल्लाका सहभागीहरु अनलाइनका माध्यमबाट जोडिएका थिए। उनीहरुले अनलाइनमार्फत नै आफ्नो प्रस्तुति देखाएका थिए।
जब प्रस्तोताले विजेताका नाम उच्चारण गरिन्, तब भिडियोमा देखिएकी समी लावतीले पेपरको क्राउन आफैँले लगाएर घरबाटै खुसी साटिन्। उता मिस्टर व्लाइण्ड रर्कस बनेका किरणले पनि यसै गरेका थिए। कोरोना महामारी नभएको भए प्रत्यक्ष रुपमै विजेताहरुलै पुरस्कार प्राप्त गर्ने थिए। तर बाध्यताबस उनीहरु भिडियोमा आफ्नो ट्रफि र पुरस्कार हेर्दै आफ्नै शिरमा आफैँले कागजको क्राउन बनाएर पहिर्याउँदै थिए। यो दृष्यले प्रत्यक्ष रुपमा कार्यक्रममा उपस्थित निर्णायक तथा अनलाइन हेरिरहेका सबैलाई भावविह्वल बनाएको थियो।
इन्टरनेटको माध्यमबाट आमने सामने भएका जज र सहभागी बडो होसीयारपुर्वक प्रश्न उत्तर गरिरहेका देखिन्थे। समाजको प्रतिनिधित्व गरिने प्रस्नहरु सोधिएको थियो। जस्तै, समाज परिवर्तनका लागी शिक्षक, डाक्टर र राजनीतिज्ञमध्ये कसको भुमिका बढी छ ? फरक क्षमता भएको भन्ने शब्दले अपाङ्गता भएका व्यक्तिलाई सहि सम्बोधन गर्न सक्छ ? महिला शशक्तिकरणका लागी शिक्षा, अवसर र अधिकारमध्ये कुन जरुरी छ ?
सहभागीले पनि खुब मेहनत र बुद्धिमतापुर्वक जवाफ फर्काएका थिए। अवसर र अधिकारका लागी शिक्षा नै महत्वपूर्ण पहिलो आधार भएको बताउँदै धेरैजसोले शिक्षा पाउनुपर्नेमा जोड दिएका थिए। आफूहरुलाई फरक क्षमता भएका व्यक्ति भनेर विभेद गरिएको भन्दै उनीहरुले सवै मानिससँग एउटा न एउटा फरक क्षमता हुने तर्क गरेका थिए। कार्यक्रममा २१ जना दृष्टिविहिन प्रतियोगी सहभागी भएका थिए।