जीवनको आसमा एउटा जीवन
राजविराज : लाउँ–लाउँ, खाउँ–खाउँ गर्ने उमेर छ। तर, ओछ्यानबाट उठ्न सक्दैनन्। १८ वर्ष ८ महिनाका भए। तौल २५ किलो मात्रै छ। मुखबाट र्याल चुहिरहन्छ। झिंगा भन्किरहन्छ। उनी धपाउनसम्म सक्दैनन्।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ कोइलाडीका प्रलाद मण्डलको जीवन संघर्ष हो यो। प्रलाद मुढाझैं ओछ्याउनमै लडिरहेका हुन्छन्। घरको दलान अगाडि ढोका नभएको कोठामा दुइटा खाट राखिएका छन्। उनको सम्पूर्ण समय पश्चिमपट्टिको खाटमा सुतेरै बितिरहेको छ। खाटछेउमै पराल र धानका भुसका बोराहरूको थुप्रो छ। प्लास्टिकका पोकाहरू झुन्डिएका छन्। माटोको भित्ता ठाउँ–ठाउँमा प्वाल परेको छ। प्वालबाट छिरेको प्रकाशले कोठा उज्यालो भए पनि प्रलादको जीवन भने ‘अँध्यारो’मै छ।
हात, छाती, पिँठ्यु, पैतालासहित सबै अंग बाँगिएका र फर्किएका छन्। त्यसैले उठेर हिँड्डुल त के बस्न र बोल्न पनि सक्दैनन्। टाउको ठाडो हुँदैन। हातखुट्टा चल्दैनन्। मुढाझैं लडिरहने प्रलादलाई बेला–बेला अरूले ओल्टाइपल्टाइ गर्नुपर्छ। दिसापिसाब पनि ओछ्यानमै गर्छन्। अरूले सोहोर्नुपर्छ।
बुवा राजु भनिने शैलेन्द्रकुमार र आमा कोसिला छोराको उपचार खर्च जुटाउन भनेर भारतको दिल्ली गएका थिए। प्रलाद जति बेला चार वर्षका थिए। तर, १४ वर्षसम्म आमा–बुवाको अत्तोपत्तो छैन।
नातिकै छेउमा बसिरहने ८५ वर्षीया सुखियादेवीले भनिन्, ‘छोरा–बुहारी १४ वर्षदेखि बेपत्ता छन्। जिउँदै छन् कि मरे केही थाहा छैन। उनीहरूको नासोको रूपमा रहेको नातिको पनि यो हविगत छ।’
छोराबुहारी बेपत्ता भएको पीडा छ एकातिर। अर्कोतिर जन्मिदै अपांगता भएका नातिको चिन्ता छ। सुखियादेवीले आफ्नो जीवन नै दुखिया भएको बताइन्। ‘ठीक होला भनेको, उमेर बढेसँगै रोग पनि झन् बल्झिदै गयो’, सुखियादेवीले भनिन्, ‘आर्थिक अवस्था कमजोर भएकाले ठूलो अस्पतालमा लैजान सकेनौं।’
डाक्टरहरूले बिरामीका नशाहरू पूरै खुम्चिएकाले शारीरिक अपांगता भएको बताएका छन्। सुखियादेवीले नातिको कपाल मुसार्दै भनिन्, ‘उठेर बस्नेसम्म भए पनि सजिलो हुने थियो, ढुक्कले मर्न पाइन्थ्यो। कति दिन मुढाझै लडेको हेरी राख्नु ?’ उनको यो प्रश्नको उत्तर कसैले दिन सकेका छैनन्। कुप्रो परेकी सुखियादेवी बिहानदेखि राति नसुतेसम्म नातिको हेरचाह गर्छिन्।
खाटमा लडिरहने प्रलादलाई बेला–बेला ओल्टो–कोल्टो फर्काउनुपर्छ। उनलाई अरूले खाना ख्वाउनुपर्छ। नुहाइदिन तीन जना चाहिन्छ। यो काम ठूलीआमा सुनीताले गर्दै आएकी छन्।
घरधन्दा र बिरामीको हेरविचार गर्दैमा सुनीतालाई फुर्सद छैन।
प्रलादका बुवा–आमा फर्केर नआएपछि उनको जिम्मेवारी आफ्नो थाप्लोमा आएको ठूलोबुवा शिवेन्द्रले बताए। उपचारका लागि सुरुमा भारतको दरभंगासम्म पुर्याएको शिवेन्द्रको भनाइ छ। स्थानीय स्तरमा धामी झाँक्री र झारफुक, पूजापाठ गरे।
‘जति गर्दा पनि सञ्चो भएन, झन् च्याप्दै आयो। अलीअली भएको सम्पत्ति सकियो’, उनले भने भने, ‘पैसा सकिएको थाहा पाएर होला चिकित्सकहरूले पनि घरमै लगेर राख्न भने।’ जन्मदेखि ओछ्याउन नछोडेका उनको केही वर्षदेखि उपचार गरिएको छैन।
उपचार गर्न मन छ तर धन छैन। यस्तै पीडाले प्रलादको परिवार छटपटाइरहेका छन्। ‘खोइ अब के गर्ने होला ?’, शिवेन्द्रले ठाउँ–ठाउँमा दुलो परेको भित्ता देखाउँदै आफैंसँग प्रश्न गरे, ‘भएको सम्पत्ति यही घर हो। खेतबारी छैन।’
उनले अर्काको जग्गा मागेर खेती गरिरहेका छन्। बिरामीको उपचार गर्न आफूसँग घरबाहेक अरू केही नभएको उनले सुनाए।
आर्थिक अवस्था कमजोर हुँदा उपचार गर्न नसकेको गाउँलेहरू बताउँछन्। ‘मार्न पनि मिल्दैन, काल नआई मृत्यु पनि आउँदैन’, छिमेकी हरिनारायण साहले भने, ‘प्रलादको पीडामा मलम नलाग्दा २४सै घण्टा ओछ्यानमा लडिरहन बाध्य छन्।’
प्रलादले वडाको सिफारिस र डाक्टरले जाँच गरेर छुट्ट्याइदिएको अपांगताको वर्गका आधारमा भत्ता पाउँदै आएका थिए। तर, उमेरका कारण भत्ताबाट बञ्चित भएका छन्। वडाध्यक्ष गोपी मण्डलका अनुसार १६ वर्षभन्दा कमका भए जन्मदर्ता र त्योभन्दा माथिका भए नागरिकता अनिवार्य चाहिन्छ। तर, १८ वर्ष नाघेका प्रलाद जिल्ला सदरमुकामसम्म पुगेर नागरिकता लिन सक्ने अवस्था थिएन। स्थानीय हरिनारायण साहलगायतले पहल गरे। वडाध्यक्ष मण्डलले नागरिकताको सिफारिससहित प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई आग्रह गरे।
सप्तरीका सीडीओ जयनारायण आचार्य र सशस्त्रका एसपी राजु श्रेष्ठले गएको साता प्रलादलाई घरमै गएर भेटे। सीडीओ आचार्यसहितको टोलीले नागरिकताको प्रमाणपत्र उपलब्ध गराएको छ। सीडीओ आचार्यले भने, ‘मैले पनि भरखरै मात्र थाहा पाएर घरमै गएर भेटेर आएको छु।’ हिँड्डुल गर्न नसकेकै कारण नागरिकता र भत्ताबाट वञ्चित रहेको थाहा पाएपछि घरमै पुगेर नागरिकता दिएको आचार्यले बताए।
सीडीओ नै १२ किलोमिटर दुरी तय गर्दै नागरिकता बोकेर घरमै आइपुगेपछि मण्डल परिवारका सदस्य दंग परे। लौरो टेकेर प्रलादको छेउमै बसेकी हजुरआमा सुखियादेवीले राज्यले समस्या बुझेर घरमै नागरिकता दिएकाले सरकार रहेछ भन्ने अनुभूति भएको बताइन्। सीडीओ आचार्यबाट अन्य सहयोगको पनि आशा मिलेको उनले सुनाइन्। उनले अब स्थानीय सरकारले पनि सहयोग गर्ला भन्ने आशा पलाएको बताइन्। अपांगता परिचयपत्र बनेर आउने वर्षदेखि सुविधा पाउने वडाअध्यक्ष मण्डलले बताए।
कसलाई हुँदैन र बाँच्ने रहर ! ओछ्यानमा संघर्षरत प्रलादले पनि बाँच्ने आशा मारेका छैनन्। नयाँ मानिस पुग्ने बित्तिकै उनका आँखा नाच्न थाल्छन्। आँखाकै भाखामा बोल्न खोज्छन्। आँखा झिम्क्याउँदा लाग्छ, ‘मलाई बचाउनुस् म नयाँ जिन्दगी बाँच्न चाहन्छु।’
सुखियादेवीले नातिको अवस्था दिनदिनै दयनीय हँुदै गएकाले बचाइदिन आग्रह गरेकी छन्। आफूसंँग सम्पत्ति नभएकाले सबैले सहयोग गरे नातिले नयाँ जिन्दगी पाउने आशा रहेको सुखियाको भनाइ छ।
शिवेन्द्र र सुनीताले सुखियादेवीलाई चिन्ता नलिन भनेका छन्। तर, हजुरआमाको मन मान्दैन। भक्कानिँदै भनिन्, ‘सबै जना चिन्ता नलिनु भन्छन्। तर, नातिको यस्तो हविगत हेरेर कसरी मन थाम्नु ?’
उनको आशा छ, कसैले सहयोग गरे त नाति उपचार पाएर हिँड्डुल गर्न सक्ने हुनेछन्। तर, घरमा पैसा नै छैन। ‘यही ओछ्यानमै जिन्दगी जाने भयो’, उनले भनिन्, ‘मर्नु न बाँच्नुका प्रलादलाई सहयोगी हातको खाँचो छ।’