फिफालाई खेलाडीको चिन्ता
काबुल : विश्व फुटबलको सर्वोच्च संस्था फिफाले अफगानिस्तानका महिला खेलाडीको आपतकालीन उद्वारका लागि पहल थाल्न विभिन्न राष्ट्र र निकायसँग आग्रह गरेको छ। विद्रोही समूह तालिवानले सत्ता कब्जा गरेपछि अफगानिस्तानका महिला खेलाडीहरूले आफूहरू जोखिममा रहेको भन्दै अन्तर्राष्ट्रिय संस्थासँग उद्वारका लागि आग्रह गरेपछि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अफगानी महिला खेलाडीको उद्वारका लागि अपिल गरेको हो।
अफगानिस्तानको सुरक्षा अवस्था निकै नाजुक रहेको जनाउँदै फिफाले मानवताका आधारमा महिला खेलाडीहरूको उद्वारका लागि आग्रह गरेको हो। फिफाका प्रवक्ताले विज्ञप्तिमा अफगानिस्तान फुटबल संघ र सरोकारवालाहरूसँग निरन्तर सम्पर्क गरिरहेको र खेलाडीहरूको हरेक अवस्थाको जानकारी लिइरहेको बताएका छन्। ‘हामी अफगानिस्तान फुटबल संघ र अन्य संघसंस्थासँग निरन्तर सम्पर्कमै छौं। त्यहाँका महिला फुटबल खेलाडीको अवस्था लिइरहेका छौं’, फिफा प्रवक्ताले भनेका छन्।
खेलाडीको संगठन फिप्रोले पनि अफगानिस्तानका खेलाडीहरूलाई सहयोग गर्न आग्रह गरेको छ। फिप्रोले अफगानिस्तानको पछिल्लो घटनाक्रमलाई नजिकबाट नियाल्दै आएको जनाउँदै जतिसक्दो चाँडो महिला खेलाडीलाई सुरक्षित स्थानमा स्थानान्तरण गराउन महत्वपूर्ण रहेको जनाएको छ। ‘महिला खेलाडीहरूलाई अफगानिस्तानबाट कसरी सुरक्षित रुपमा बाहिर निकाल्ने भन्ने विषयमा हामी चिन्तित छौं’, फिप्रोले आफ्नो विज्ञप्तिमा भनेको छ, ‘हाम्रो मुख्य चिन्ता खेलाडीको सुरक्षा हो।
त्यसैले उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गराउन अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गर्दछौं।’ अफगानिस्तानको महिला फुटबल टोलीकी पूर्वकप्तान खालिदा पोपलले तालिवानको उदयपछि महिला खेलाडीहरू निकै त्रासमा रहेको बताउँदै खेलाडीहरूको उद्वारका लागि आग्रह गरेकी थिइन्। उनले तालिवानको इस्लामिक कानूनमा महिलालाई हेर्ने दृष्टिकोण फरक रहेको बताएकी थिइन्।
महिलाले शरीर ढाक्ने बुर्खा लगाउनु पर्ने तथा १० वर्ष माथिका छात्राहरू विद्यालय जान नपाउने नियम रहेको उल्लेख गरेकी थिइन्। सन् २००७ मा अफगानिस्तानमा पहिलो पटक महिला फुटबल टोली बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी पोपलले देशको परिस्थिति देखेर पत्याउनै नसकिरहेको बताइन्। ‘म निदाउँनै सकिनँ, रातभर रोइरहें। आफूले आफैलाई असहायजस्तो महसुस गरिरहें’, उनले अन्तर्राष्ट्रिय सञ्चार माध्यमसँग भनेकी छन्।
विद्रोही तालिवानले अफगानिस्तानको सत्ता कब्जा गरेपछि संसारभर हलचल चलेको छ। केही दिनदेखि देश छाड्न विमानस्थलमा मानिसहरूको भीड लागिरहेको छ। देश छाड्न
नचाहनेहरूले घरका झ्याल र ढोकामा कालो रंग लगाउने र महिलाहरूले थन्क्याएर राखेको बुर्का झिकेर लगाउन थालेका छन्। यसअघि फेसनेवल पहिरनमा देखिने अफगानी महिलाहरू अहिले बुर्कामा अनुहार लुकाउन थालेका छन्।