‘बेलैमा अस्पताल जाऔं’
काठमाडौं : कोरोना संक्रमण भएको छ ? घरमै सिकिस्त हुन्जेल बस्दा मत्यु पनि हुन सक्छ। विशेष निगरानी एवं जाँच नभए होम आइसोलसन र स्थानीय तहमा (प्रदेश तथा स्थानीय तह) मा निर्माण गरिएका आइसोलेसनमा बसेका संक्रमितको ज्यान जाने जोखिम उच्च हुने चिकित्सकहरूको भनाइ छ। बेलैमा अस्पताल जाना जरुरी छ।
आइसोलेसनको अवधि सामान्यतया दस दिन मात्र हो। सोही अवधिभित्र उपचार नपाउँदा कतिपयको ज्यान गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार अहिले होम आइसोलेसनमा ३५ हजार ५ सय ५५ जना संक्रमित छन्।
त्रिवि शिक्षण अस्पताल महाराजगन्जका कोभिड व्यवस्थापन समितिका संयोजक एवं वरिष्ठ छाती रोग विशेषज्ञ डा. सन्तकुमार दास भन्छन, ‘होम आइसोलेसनमा बसिरहनु भएको छ भने जटिल हुन्जेल नबस्नुहोस्। असजिलो महसुस हुने बित्तिकै अस्पताल जानुहोस्।’
‘होल्डिङ सेन्टर’ निगरानी आवश्यक
भारत एवं अन्य मुलुकबाट स्वदेश फर्कनेलाई ‘होल्डिङ सेन्टर’ निगरानी गर्नुपर्ने विज्ञहरूको सुझाव छ। कोही पीसीआर वा एन्टिजेन परीक्षणमा पोजेटिभ देखिएपछि र कोही सामान्य लक्षण देखिए पनि होम आइसोलेसनमा बसेका छन्।
मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेल भन्छन, ‘होल्डिङ सेन्टरबाट नै निगरानीको सुरुआत गर्नुपर्छ। रुघा लागेर बसेका, एन्टिजेन वा पीसीआर परीक्षण गरेर बसेकालाई वर्गीकरण गर्नुपर्छ। आइसोलेसन वा होम आइसोलेसनमा बसेकाहरूलाई सामान्य, मध्यम एवं जटिल अवस्था गरी छुट्ट्याउनु पर्छ। सिकिस्तलाई नियमित निगरानी र उपचार व्यवस्था गर्नुपर्छ।’
वास्तविक विवरण दिउँ
कोरोना संक्रमण पुष्टिपछि स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडीले) को कल सेन्टरबाट ‘केस म्यानेजमेन्ट’का लागि स्वाब परीक्षणपछि पहिलो कल गरिन्छ। घरमै आइसोलेसनमा बसेकाहरूलाई आइसोलेसनको अवधि समाप्त नहुँदासम्म ‘फलो अप’ गर्नुपर्ने कार्यविधि छ। तर, प्रयोगशालाबाट प्राप्त हुने रिपोर्टमा सम्बन्धित पीसीआर पोजेटिभ भएका व्यक्तिहरूको सम्पर्क नम्बरलगायतका व्यक्तिगत विवरण पूर्ण रूपमा उपलब्ध नहुने रोग नियन्त्रण महाशाखाले जनाएको छ।
ईडीसीडीका निर्देशक डा. कृष्णप्रसाद पौडेलका अनुसार, संक्रमण पुष्टि भइसकेका व्यक्तिले सम्पर्क ठेगानामा गलत सम्पर्क नम्बर वा ठेगाना लेख्दा केस म्यानेजमेन्ट एवं फलो अप कल पनि प्रभावित हुन्छ।
सूचना व्यवस्थापन गरौं
प्रदेश, जिल्ला एवं गाउँघरमा होम आइसोलेसनमा बसेका व्यक्तिको विवरण व्यवस्थित ढंगले राख्नुपर्ने विज्ञहरूको सुझाव छ। वरिष्ठ भाइरोलोजिस्ट डा. पाण्डेका प्रदेश एवं जिल्ला तहमा स्वास्थ्य कार्यालय एवं स्थानीय निकाय (पालिका एवं वडा) ले संक्रमितको तथ्यांकसहितको सूचना व्यवस्थापन गर्नुपर्ने सुझाउँछन्।
‘फलो अप’ प्रविधिको उपयोग
संक्रमितको अवस्थाबारे बुझ्न र जाँच गर्न फलो अपलाई प्रभावकारी बनाउनुपर्ने विज्ञहरू बताउँछन्। आइसोलेसनमा बसेका संक्रमितको सूचना व्यवस्थापन गर्नुपर्ने र स्वास्थ्य अवस्था फलो अप गर्नेलाई इन्सेन्टिभ दिनुपर्ने डा.पाण्डेको सुझाव छ।
जनस्वास्थ्य ऐन, २०७५ले स्वास्थ्य सेवाको पहुँच र गुणस्तरीयताको समेत सुनिश्चित दिलाएको छ। यसले आधारभूत औषधि, अक्सिजन र अन्य स्वास्थ्योपचार पाउनुपर्ने स्वास्थ्य सम्बन्धी हकको प्रत्याभूति गरेको छ।
प्रतिक्रिया दिनुहोस !