अनुमतिबिना चलेको बालविकास केन्द्रमा सरकारी लगानी

अनुमतिबिना चलेको बालविकास केन्द्रमा सरकारी लगानी

बेनी : म्याग्दीको बेनी -६ नेपानेमा प्रक्रिया पूरा नगरी अनुमतिबिना सञ्चालन भएको बाल विकास केन्द्रमा नगरपालिकाले लगानी गरेको छ । जनप्रतिनिधिले आफू अनुकूलका व्यक्तिलाई मापदण्ड र प्रक्रिया पूरा नगरी बाल विकास केन्द्रका सहयोगी कार्यकर्ता नियुक्त गरी तलबभत्ता र शैक्षिक सामग्री खरिदमा चलखेल गरेका आरोप लागेको छ ।

०७४ देखि २०७७ सम्म ६ को सिफारिसमा बेनी नगरपालिकाले वार्षिक एक लाख रुपैयाँका दरले सो केन्द्रमा खर्चेको छ । वडा अध्यक्ष कृष्णसिंह बानियाँले मासिक छ हजार रुपैयाँका दरले तलब पाउनेगरी नेपानेकी मनिषा दमैलाई केन्द्रको सहयोगी कार्यकर्ता नियुक्त गरेका छन् । स्थानीय तह सञ्चालन निर्देशिका अनुसार वडालाई शिक्षक, बाल शिक्षा सहयोगी कार्यकर्ता नियुक्त गर्ने अधिकार छैन् । 

ब्यवस्थापन समिति हुनुपर्ने, सम्बन्धित पालिकाबाट अनुमति लिनुपर्ने, प्रतिस्पर्धाबाट नियुक्त गरिएका सहयोगी कार्यकर्ताको तलबभत्ता, प्रशासनिक र मसलन्द खर्च मातृ विद्यालयमार्फत भुक्तानी हुने नीतिगत व्यवस्था सो केन्द्र सञ्चालनमा कार्यान्वयन भएको छैन् । 

नेपानेकी सहयोगी कार्यकर्तालाई बेनी नगरपालिकाले गत असार अन्तिम साता चेकमार्फत २०७७ पुषदेखि २०७८ असारसम्मको तलब वापतको ४१ हजार ५८० रुपैयाँ भुक्तानी गरेको छ । 

गत आर्थिक वर्षमा एक लाख रुपैयाँ बिनियोजन भएको थियो । असार २३ अघि पारिश्रमिक र मसलन्दका लागि भनेर ४७ हजार ८०० रुपैयाँ भुक्तानी भएको छ । वडा अध्यक्ष बानियाले वडाले बालकक्षा सञ्चालनका लागि २०७४ मै नगरपालिकामा सिफारिस गरेको र सहयोगी कार्यकर्तालेनै बिनियोजित बजेट लगेको बताए । ‘जो मान्छेले त्यहाँ पढाउछ उसैले पैसा लगेको छ,’ उनले प्रश्न गरे, ‘आफैले अनुमतिनै नदिएको बालकक्षालाई नगरपालिकाले किन भुक्तानी दियो ?’

वडा कार्यालयले नगरपालिकामा पठाएको एक वर्षपछिको २०७८ पुष ३ गतेको मिति राखेर रु. ४८ हजार वडा अध्यक्षले तबलभत्ता बुझाएको बुझिलिनेको हस्ताक्षर नभएको शंकास्पद भरपाई र बानियाको तर्क मेल खाँदैन ।

सोही वडाको डम्मरामा पनि यस्तै शैलीमा सञ्चालन भएको बालकक्षाको नाममा नगरपालिकाले गत आर्थिक वर्षको अन्तमा एक लाख रुपैयाँ भुक्तानी गरेको छ । वडाका जनप्रतिनिधिको मिलेमतोमा प्रक्रिया पूरा नगरी, अनुमतिबिनै अपारदर्शीरुपमा सञ्चालन भएको बालकक्षाको कोठाको दुराअवस्थाले त्यहाँ भएको लगानीमाथि प्रश्न उठाएको छ । बालकक्षा सञ्चालन भएको भनिएको राममन्दिर आमा समूहको भवनको कोठामा सिमेन्ट, पाइप, गुन्द्रि, गल, घन, बेल्चा लगायत निर्माण सामग्री थुपारिएको छ । 

दुई वटा ह्वाइट बोर्ड, एक वटा टेबुल, बाल्टी र भित्तामा केही थान सिकाइ सामग्री मात्र भेटियो । नेपानेका बासिन्दाले बालकक्षाको प्रभावकारिता र लगानीको उपलब्धिको विषयमा खुलेर प्रशंसा गर्ने अवस्था नरहेको बताएका छन् ।

स्थानीय बिमल थापाले सुरुमा सञ्चालन भएपनि अहिले सक्रिय भएको नदेखेको र समुदायले पनि चासो नदिएको गुनासो गरे ।  हिउँदमा सञ्चालन भएपनि अहिले बालकक्षा बन्द रहेको स्थानीय सर्बजित खत्रीले बताए ।
  
सहयोगी कार्यकर्ता दमैले आफ्नो क्याम्पसको परीक्षा भएको र कोरोनाका कारण साउनमा बालकक्षा सञ्चालन गर्न नसकेको बताइन् । उनले बालकक्षामा स्थानीयले आफू गाउँमा नभएको समयमा मन्दिर निर्माणका सामग्री राखिदिएको गुनासो गरिन् । बरनाथ आधारभूत बिद्यालयमा जान नसक्ने तीन/चार वर्ष उमेर समूहका १५ जना बालबालिकाहरुलाई दैनिक चार घण्टा पढाउने गरेको दमैले बताइन् ।  

एक्लेपिपलको आधारभूत विद्यालय जामुनाखर्क माविमा गाभिएपछि ४० भन्दा बढी घरधुरीको बसोबास रहेको नेपाने र गुफा टोलमा आवश्यकता महशुस गरेर योजनाको रुपमा बालकक्षा सञ्चालन भएको वडा अध्यक्षको दाबी छ । 

कार्यविधि र निर्देशिका नहुँदा नेपानेलगायत नगर क्षेत्रका बालकक्षाको नियमन गर्न समस्या भएको नगर शिक्षा अधिकृत अर्जुन पौडेलले बताए । ‘बालकक्षाहरुलाई नगरपालिकाले बजेट दिइरहेको अवस्था छ,’ उनले भने ‘आफ्नै कार्यविधि तथा निर्देशिका बनाएर नियमन,व्यवस्थापन, अनुगमन र मुल्याङकन् गर्छौं।’

बेनी नगरपालिकामा ५२ वटा बाल विकास केन्द्र छन् । नेपानेका साथै डम्मरा, थाकनपोखरी, डिम्म, बराह, चेतना, जनज्योती बालबिकास केन्द्रका लागि नगरपालिकाले यस आर्थिक वर्षमा समेत बजेट बिनियोजन गरेको छ । कार्यबिधी बनाउन ध्यान नदिदाँ बालविकास केन्द्रका लागि बिनियोजन भएको बजेट दुरुपयोगको जोखिम बढेको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.