विश्‍वभर आज: अमेरिकालाई तालिबानको चेतावनी, भारतमा वायु प्रदुषण घटाउने टावर

विश्‍वभर आज: अमेरिकालाई तालिबानको चेतावनी, भारतमा वायु प्रदुषण घटाउने टावर

अमेरिकालाई तालिबानको चेतावनी

काबुल: अफगानिस्तानमाथि कब्जा जमाएको तालिबानले अमेरिकालाई कडा चेतावनी दिएको छ । अगष्ट ३१ सम्म अमेरिकी सबै सैनिक फिर्ता नगरेमा अमेरिकाले गम्भीर परिणाम बेहोर्नुपर्ने भन्दै तालिबानले अमेरिकालाई कडा चेतावनी दिएको हो ।

सोमबार स्थानीय सञ्चारमाध्यमहरु समक्ष तालिबानका प्रवक्ता सोहेन साहिनले दिएको बयानअनुसार यदी अमेरिकाले अफगानिस्तानमा तैनाथ आफ्ना सैनिकहरु फिर्ता गर्न अझै ढिलाइ गरेमा गम्भीर परिणाम निम्तिने तालिबानले चेतावनी दिएको छ । ३१ अगष्टसम्म सेना फिर्ता गर्न दिइएको म्यादभन्दा एक दिन पनि ढिलाइ गरेमा अमेरिकाले नराम्रो परिणाम भोग्नुपर्ने बताइएको छ ।

समाचार एजेन्सी सिन्ह्वाका अनुसार आइतबार दिउँसो सञ्चारकर्मीहरुसमक्ष सूचना जारी गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तान मिसनमा खटिएका सैनिकबारे ताजा अपडेट गराएका थिए । गत जुलाइमा राष्ट्रपति बाइडेनले अमेरिकी सेनाले अगष्ट अन्तिमसम्म अफगानिस्तानमा जारी आफ्नो मिसन समाप्त गर्न आदेश दिएका थिए ।

अलजजिरामा प्रकाशित समाचार अनुसार सोमबार भर्चुअल बैठकमार्फत ब्रिटिस प्रधानमन्त्री बोरिस जोनसनले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग वार्ता गर्ने र ३१ अगष्टको मितिलाई सार्न सल्लाह दिनेछन् ।
०००

इन्डोनेसियाका पूर्वमन्त्रीलाई १२ वर्ष जेल सजाय

जकार्ताः इन्डोनेसियामा एक पूर्वमन्त्रीलाई १२ वर्षको जेल सजाय सुनाइएको छ । इन्डोनेसियाको एन्टी ग्राफ्ट कोर्टले पूर्व मन्त्री जुलियारी पिटर बातुबारालाई घुस लेनदेनको आरोपमा सोमबार यस्तो सजाय सुनाएको बताइएको छ ।

इन्डोनेसियाका पूर्व सामाजिक मामिलामन्त्री जुलियारी पिटर बातुबारामाथि कोभिड १९ को सामग्रीमा भ्रष्टाचार गरेको आरोप थियो । सो आरोपमा पूर्वमन्त्री जुलियारीलाई गत डिसेम्बरमा गिरफ्तार गरिएको थियो ।

पूर्वमन्त्री जुलियारीमाथि १.३ मिलियन अमेरिकी डलर रकम बराबरको कोभिड १९ सामग्रीमा भ्रष्टाचार गरेको आरोप लागेको थियो । लामो समयदेखि अनुसन्धान थालेको एन्टी ग्राफ्ट कोर्टले पूर्वमन्त्री जुलियारीले भ्रष्टाचार गरेको पुष्टि गर्दै सोमबार १२ वर्षको लागि जेल सजाय सुनाएको छ ।
०००

अमेरिकाको टेनेसीयामा बाढीका कारण २२ को मृत्यु

वासिंटन: अमेरिकी टेनेसीया प्रान्तमा आएको भीषण बाढीका कारण कम्तीमा २२ जनाको मृत्यु भएको छ । आइतबार राति मेघ गर्जनसहित परेको वर्षापछि आएको बाढीका कारण २२ को मृत्यु र ५० भन्दा बढी मानिस बेपत्ता भएको बताइएको छ ।

टेनेसीयामा एकै दिन १७ इन्चसम्म पानी परेको बताइएको छ । बाढीका कारण उद्धारमा कठिनाइ भएको र उद्धार कार्य सोमबारसम्म पनि जारी राखिएको बताइएको छ । बाढीका कारण ठूलो संख्यामा भवन  र घरहरु भत्केका छन् । 
अधिकारीहरुका अनुसार टेनेसीयाको मध्य क्षेत्रमा भएको भारी वर्षाका कारण ग्रामीण क्षेत्रसँगको विद्युत, सडक, टेलिफोन सम्पर्क टुटेको बताइएको छ ।
०००

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा पूर्वअधिकारीहरु निस्काशित

बेइजिङ: चीनको शत्तारुढ कम्प्युनिष्ट पार्टीले आफ्ना पूर्व अधिकारीलाई पार्टीबाट निकालेको छ । चीनको कम्युनिष्ट पार्टीका अनुसार पार्टीका पूर्व शीर्ष चिनियाँ इन्टरनेट सुपरभाइजर पेङ बोलाई पार्टीबाट निष्काशन गरेको बताएको छ ।

पार्टीले उनीमाथि इमान्दार र अनुशाशित नभएको आरोप लगाएको छ । द स्टार न्युजका अनुसार पूर्व इन्टरनेट सुपरभाइजर पेङले इन्टरनेट उद्योग निगरानीको क्रममा असफल रहेको र पार्टीको विश्वासघात गरेको आरोप चिनियाँ कम्युनिष्ट पार्टीले लगाएको छ । सोही आरोपमा उनलाई पार्टीबाट निष्काशन गरेको बताइएको छ ।
०००

तालिबानलाई मान्यता दिन जुटेका चीन र पाकिस्तानलाई विशेषज्ञको चेतावनी

बेइजिङ: तालिवान शासनलाई मान्यता दिलाउन जुटेका चीन र पाकिस्तानलाई विशेषज्ञहरुले चेतावनी दिएका छन् । तालिबानलाई मान्यता दिलाउन खोज्दा दुबै देशको रणनीतिमा दीर्घकालीन असर पुग्ने भन्दै विशेषज्ञहरुले चीन र पाकिस्तानलाई चेतावनी दिएका हुन् ।

अगष्ट १५ मा तालिबानले काबुलमाथि कब्जा जमाएपछि चीन र पाकिस्तानले तालिबानलाई मान्यता दिलाउन विभिन्न दुबै मुलुकले कसरत सुरु गरेको बताइन्छ ।

हङकङको साउथ चाइना मर्निङ पोष्टमा प्रकाशित एक लेखअनुसार पाकिस्तानी विश्लेषकहरुले तालिबानको उदयले अलकायदा र इस्लामिक स्टेट जस्ता आतंकवादी फेरि शक्तिमा आउने भन्दै चिन्ता व्यक्त गरेका छन् । चीन र  पाकिस्तानी सरकारले तालिबान फिर्ता भएकोमा सकारात्मक छन् र यसले दुबै देशको रणनैतिक विषयमा दीर्घकालीन असर पुग्नेमा विशेषज्ञहरु पक्का छन् । त्यसैले चीन र पाकिस्तानले सतर्क रहन विशेषज्ञहरुले चेतावनी दिएका छन् ।
०००

स्वीडेनमा तालिवान विरुद्ध प्रदर्शन

स्टकहोम: स्वीडेनको राजधानी स्टकहोममा सोमबार तालिबान विरुद्ध विरोध प्रदर्शन गरिएको छ । अफगानी नागरिक सहित सयौँ व्यक्तिले तालिबान विरुद्ध प्रदर्शन गरेको बताइएको छ ।

प्रदर्शनमा स्वीडेन र अफगानी मूलका नागरिक र केही स्थानीय नेताहरुले शनिबारदेखि प्रदर्शन गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । प्रदर्शनकारीहरुले लोकतन्त्र, मानवअधिकार, महिला अधिकार, धार्मीक अल्पसंख्यकहरुको समर्थनमा नाराबाजी गर्दै तालिबान विरुद्ध नारावाजी गरेका थिए।

मानव अधिकारकर्मी सलिम जावेदले सोमबार ट्विटमार्फत भनेका छन्, ‘अफगानिस्तानमा भएका व्यक्तिहरुले तालिबानविरद्ध आफ्नो आवाज उठाउन सक्दैनन् । तर जो अफगानिस्तानबाहिरको मुलुकमा छन् उनीहरुले तालिबान विरुद्ध आफ्नो आवाज उठाउनु पर्छ । र अन्तर्राष्ट्रिय मिडियाले तालिबानको भाषा बोलिरहन र तालिबानी नेताहरुको अन्तर्वार्ता प्रशारण र प्रकाशन गरिरहन जरुरी छैन ।’
०००
भारतमै पहिलो पटक ‘स्मोग टावर’ उद्घाटन

नयाँदिल्ली: भारतको नयाँ दिल्लीमा भारतकै पहिलो ‘स्मोग टावर’ उद्घाटन गरिएको छ । वायु प्रदुषण घटाउन सघाउने स्मोग टावर सोमबार उद्घाटन गरिएको हो ।

करिब २५ मिटर लामो उक्त स्मोग टावरमा ४० वटा विशाल पंखा जडान गरिएको छ । उक्त टावरले प्रति सेकेन्ड १ हजार क्युविक मिटरसम्मको प्रदुषित वायु शुद्धिकरण गर्न सक्ने इन्जिनियरहरुले बताएका छन् ।

स्मोग टावरको उद्घाटन गर्दै दिल्लिका मुख्यमन्त्री अरविन्द केजरिवालले वायु प्रदुषणसँग लड्न र शुद्ध हावा प्राप्तको लागि भारतले आज ठूलो कदम उठाएको बताएका छन् ।

उक्त टावरको लगानी २ मिलियन डलर रहेको बताइएको छ । हरेक वर्ष सुख्खा याममा भारतको दिल्लीमा वायु प्रदुषणले सीमा नाघ्ने गर्छ । स्मोग टावर सञ्चालनमा आएसँगै नयाँ दिल्लीको वायु प्रदुषण तुलनात्मक रुपमा घट्न सक्ने विश्वास गरिएको छ ।
०००

ग्रीसको डढेलो अझै नियन्त्रणमा आएन    

एथेन्स: ग्रीसको दोस्रो ठूलो इभिया टापुमा लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । ग्रीसको अग्नि नियन्त्रण विभाग र अग्नि नियन्त्रकहरुले डढेलो नियन्त्रणको प्रयास सोमबार पनि जारी राखेका छन् ।

इभिया टापुमा तीन हप्ता अघिदेखि डढेलो लागेको थियो । तिब्र हावाका कारण डढेलो नियन्त्रण बाहिर गएको बताइएको छ ।

हेलिकप्टर र अग्निनियन्त्रण यन्त्रमार्फत डढेलो नियन्त्रण प्रयास भइरहेको अग्नि नियन्त्रण विभाग ग्रीसले जनाएको छ । अगष्ट महिनाको सुरुवातदेखि नै ग्रीसको विभिन्न ठाउँमा आगलागीका घटना भइरहेको बताइएको छ ।

प्रस्तुती: अस्मिता खड्का


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.