बलात्कारपछि हत्या गर्नेले नै भनेको थियो, ‘प्रहरीलाई छिटो बोलाऊँ’

बलात्कारपछि हत्या गर्नेले नै भनेको थियो, ‘प्रहरीलाई छिटो बोलाऊँ’

पोखरा : कास्कीको मादी गाउँपालिका- १० मुखियाशेरको पातीघारीमा सडेगलेको लास भेटेपछि स्थानीय भेला भए। पातीघारी भएको जग्गा जसको थियो, उनै सुरेश गुरुङ गोरु चराउन जाँदा लास देखेका थिए। उनैले वडाध्यक्षसहितका जनप्रतिनिधि अनि स्थानीयलाई खबर गरे। 

लास भेटिएको भनेर हेर्न गएकाको भिडमा एकजना त्यस्ता व्यक्ति पनि थिए जो मकैखोला गाउँको जनकल्याण माविको भवन निर्माणमा खटिएका थिए। उनैले त्यो भेलामा कुर्लिंदै भने, ‘प्रहरीलाई छिटो बोलाऊँ।’ जनप्रतिनिधिले प्रहरीलाई खबर गरे। प्रहरी गएर मुचुल्का तयार गर्‍यो। पोहोर सालको असार २५ गते त्यसरी भेटिएको लास मकैखोला गाउँकी १७ वर्षीया कोपिला परियारको भएको ठहरसमेत भयो। कोपिला घोप्टो अवस्थामा मृत भेटिएकी थिइन्। शरीरबाट लुगा खोलिएको थियो। स्थानीय र प्रहरीको प्रारम्भिक अनुमान थियो, ‘बलात्कारपछि हत्या भएको हुनुपर्छ।’ 

प्रहरीले त्यतिबेलै ४ जनालाई पक्राउ गरी अनुसन्धान थाल्यो। त्यसमा पनि विद्यालय भवन निर्माणमा खटिएका एकजना मजदुर संदिग्ध ठहर्‍याउँदै प्रहरीले अनुसन्धान गर्‍यो। स्याङ्जाको हरिनास गाउँपालिका क्याक्मी घर भएका मोटे भनिने रामबहादुर थापालाई २० दिन हिरासतमा राखेर प्रहरीले छाड्यो। त्यसको १३ महिनापछि भने कास्की प्रहरीलाई उनैलाई कोपिलाको हत्याराका रुपमा पक्राउ गरेको छ। र प्रहरीले यो पनि पत्ता लगाएको छ कि रामबहादुर थापा भनिएका ४५ वर्षे उनको खास नाम खड्कबहादुर खवास हो। अझ रोचक त के भने पोहोरको असार २५ गते घटनास्थलमा भएको भेलामा प्रहरीलाई छिटो बोलाऊँ भन्ने पनि उनै खड्कबहादुर खवास नै थिए। 

हत्या आरोपमा पक्राउ परेका खड्कबहादुर खवास।

कसरी भेटिए त खवास ? २१ असारमा कास्की प्रहरी प्रमुख भएर आएका एसपी रमेश थापा कार्यालयमा पुराना फाइल पल्टाउँदै थिए। एकजना नाबालिकाको बलात्कारपछि हत्या भएर पनि हत्यारा पत्ता नलागेको घटनाले उनलाई तान्यो। कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने पत्ता नलागे झै कास्कीमा पनि त्यस्तै भएको देखेर एसपी कोपिलाका हत्यारा पत्ता लगाउन केन्द्रित भए। उनी आफैँ घटनास्थल पुगे। 

पोहोर १५ असारपछि कोपिला सम्पर्कविहीन थिइन्। त्यसदिन मौरीखोलामा साथीहरुसँग पौडी खेलेकी थिइन्। एसपी थापाका भनाइमा कोपिलासँग एकजोरभन्दा धेरै लुगा हुन्थेन। त्यसैले पौडी खेलिसकेर पनि साथीहरुलाई घर जाऊ भनेर उनी खोलामै बसेकी थिइन्। एसपी थापाले भने, ‘पौडी खेलेर तातो ढुंगामा एक सुत्ने अनि लुगा सुकेपछि घर फर्कने गरेको अनुसन्धानबाट खुलेको छ।’ अनुसन्धानबाट यो पनि पत्ता लाग्यो कि त्यस दिन खोलातिर तिनै खड्कबहादुर खवास पनि गएका थिए। उनलाई त्यसरी खोलातिर गएको देख्नेहरु पनि पत्तो लगाएपछि फेरि प्रहरीले उनैमाथि अनुसन्धान सुरु भयो। अनुसन्धानका क्रममा उनले उक्त दिनको सबै घटनाक्रम खुलाए। 

कोपिला अभिभावकविहीन भएको फाइदा खवासले उठाएर शारीरिक सम्बन्ध राखेको र त्यही सम्बन्ध बोझ हुने देखि हत्या गरेको एसपी थापाले जानकारी दिए। कोपिला सानै हुँदा उनकी आमा र बाबुले फरकफरक बाटो समातेका थिए। दुवैले अर्को अर्को बिहे गरेका थिए। एसपी थापा भन्छन्, ‘कोपिला ३ कक्षासम्म पोखराको गैरसरकारी संस्था कोपिला नेपालमा पढेर फेरि गाउँ फर्केकी थिइन्, कहिले घरका हजुरबुवा हजुरआमाकहाँ त कहिले मामाघरका हजुरबुवा हजुरआमाकहाँ बस्थिन्।’

मानिसक रुपमा पनि केही सुस्त कोपिलाको गाउँको स्कुल बनाउन आएका मजदुरहरुसँग पनि चिनाजानी भएको थापाले सुनाए। त्यसैक्रममा खवासले कोपिलाको कमजोरीको फाइदा उठाउँदै सम्बन्ध बढाए र शारीरिक सम्बन्ध राखे। उनको बलात्कार र हत्या गर्नुभन्दा ४ दिनअघि पनि कोपिलाकी दिदी लक्ष्मी परियारको घरमा खवास र उनको अस्वाभाविक सम्बन्ध भएको एसपी थापाले सुनाए। 
कास्की प्रहरीले हत्यारा समातेको सार्वजनिक गर्दा कोपिलाकी सानिमा मीना परियार, हजुरआमा पुतली परियार पनि आइपुगेका थिए। साथमा मादी गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङ र कार्यपालिका सदस्य विष्णु सुवेदी पनि थिए। प्रहरीले घटनाक्रममा सुनाउँदा उनीहरुका आँखा रसाए। सानिमा मीना र हजुरआमा पुतली घुँक्कघुँक्क गर्दै रोए। जनप्रतिनिधि विष्णु उनीहरुलाई नरुन फकाउँदै थिइन्। विष्णुले भनिन्, ‘अब छोरीको आत्माले शान्ति पाउँछ।’ पुतलीको रुवाइको डाँको झन् झन् ठूलो भयो। भन्दै थिइन्, ‘तर हामीलाई कहिल्यै शान्ति हुन्न।’ 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.